मोरङ र सुनसरीमा जनता आवास निर्माण, ७५७ घर बने
जनता आवास कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीमा ७५७ वटा घर निर्माण सम्पन्न भएका छन् ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले मोरङ र सुनसरीमा १ हजार ४९० घर निर्माण गरिरहेको छ । त्यसमध्येबाट ७५७ घर निर्माणको काम सकिएको हो ।
बाँकी ७३३ आवास निर्माणको काम ९२ प्रतिशत सम्पन्न भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले बताए ।
उनका अनुसार मोरङको डाइनिया, रंगेली नगरपालिकाको आँपगाछी, मोरङको कदमाहा, सौराभाग, हात्तीमुडा डंग्राहा, सुनसरीको दुहबी भलुवा नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गतका केही आवास निर्माण सम्पन्न भएका छन् भने केही आवास निर्माण भइरहेका छन् ।
कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । आँपगाछीका बलितलाल बाँतर पनि सरकारले नयाँ घर बनाइदिएपछि खुशी भएका छन् । उनले भने – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौं, राम्रो भयो” ।
डंग्राहाकी मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिइन् । उनले भनिन्, – “सरकारलाई धन्यवाद छ हामीलाई घर बनाउन पैसा दियो ।”
जनता आवास कार्यक्रमका लागि सांसद् अमृत अर्यालको संयोजकत्वमा १३ सदस्यीय जनता आवास जिल्ला समन्वय समिति बनेको छ।
जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याइएको छ ।
रासस