भरतपुर प्रकरणः छिटो समाधान दिन आग्रह
चितवनको भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।
दोस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्यौलमा छ ।
भरतपुर महानगरको मतगणनाका क्रममा १४ जेठ राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछिको विवाद सर्वाेच्च अदालतमा विचाराधिन छ । उक्त मुद्दाका कारण भरतपुरमा निर्वाचित जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।
नेकपा एमालेबाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आउनुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवार बनेकी रेणु दाहालले चाँडै निर्णय आए मतदातालाईसमेत सहज हुने बताइन् ।
निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेशविरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मतगणना रोकिँदासम्म ज्ञवालीले ४१ हजार ६४१ र दाहालले ४० हजार ९०८ मत ल्याएका छन । उनीहरुको मतान्तर ७३३ छ । रासस