समाचारसोमवार, श्रावण २, २०७४

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

हिमालखबर

प्रधानन्यायाधीश गोपाल पराजुली आफ्नो कार्यकक्षमा ।                               तस्वीरहरुः बिक्रम राई

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा २ साउनमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण गरेपछि सर्वोच्च अदालत पुगेका प्रधानन्यायाधीश पराजुलीले आजै कार्यभार सम्हालेका छन् ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १ साउनमा प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

गत २४ जेठदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनले १५ वैशाख, २०७५ सम्म कार्यभार सम्हाल्ने छन् ।

१६ वैशाख, २०१० मा तनहुँको काहुँ शिवपुरमा जन्मेका पराजुली लामो समयसम्म कानुन व्यवसायमा संलग्न रहेका थिए । २०४७ मंसिरमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा अदालतमा उनको प्रवेश भएको हो । रासस

प्रतिकृया दिनुहोस