रिपोर्टसोमवार, श्रावण २, २०७४

किन मर्छन् मलेशियामा नेपाली ?

रामु सापकोटा

मृत्यु प्रमाणपत्रमा ‘एक्कासी मुटुको चाल बन्द भएको’ लेखिए पनि यसको कारण पत्ताा लगाउन पोस्टमर्टम रिपोर्ट अध्ययन गरिनैपर्ने निष्कर्ष निकालिएको छ ।

मलेशियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कामदारहरु । । तस्वीरः ओमआस्था राई

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार, पछिल्लो पाँच वर्षमा रोजगारीका लागि मलेशिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, बहराइन र दक्षिण कोरिया पुगेका २ हजार ६९६ नेपालीले ज्यान गुमाइसकेका छन् । तीमध्ये झण्डै ७० प्रतिशत अर्थात् १ हजार ८३० जनाको मृत्यु मलेशियामै भएको छ । (हे.इन्फो)

त्यसो त वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी नेपालीको संख्या पनि मलेशियामै छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार, हाल ९ लाख ५० हजार नेपाली मलेशियामा कार्यरत छन् ।

दूतावासको तथ्यांक अनुसार, सन् २०१७ को जूनसम्म मात्र ज्यान गुमाउने नेपाली संख्या १९६ पुगिसकेको छ । मृत्यु हुनेमा सबैजसो नेपाली कामदार उत्पादनशील अर्थात् २२ देखि ४० वर्ष उमेर समूहका छन् । सक्दो धेरै युवा विदेशिन प्रोत्साहित गर्ने र विप्रेषण भित्र्याउने लालची सरकार मलेशियामा सुतिरहेकै बेला मृत्यु हुने कामदारहरूप्रति खासै संवेदनशील देखिंदैन ।

कारण खोतल्ने प्रयास
ढिलोगरी पछिल्लो पटक जेठ २०७४ स्वास्थ्य मन्त्रालयले मलेशियामा मृत्यु हुने नेपालीको मृत्युको कारण र उपचार पहिल्याउन ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य विभागका प्रा.डा. केदार बरालको संयोजकत्वमा चार सदस्यसहितको अध्ययन टोली गठन ग¥यो । टोलीका सदस्यहरूमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सह–सचिव सनत केसी, उप–सचिव राजीव पोखरेल र श्रम तथा रोजगार मन्त्रालयका उप–सचिव अर्जुनप्रसाद खनाल थिए ।

अध्ययन टोलीले १८ देखि २४ असारसम्म क्वालालम्पुर र केलाङ पुगेर नेपाली कामदार बस्ने र काम गर्ने स्थान, रोजगारदाता कम्पनीका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी, श्रम सहचारीलगायतसँग कुराकानी गरेको थियो । “प्रारम्भिक चरणको अध्ययनमा असन्तुलित भोजन, कार्यस्थलको असुरक्षा, अव्यवस्थित र अपर्याप्त आराम, न्यून तलब, स्वास्थ्यमा लापरवाही र पारिवारिक दबाब प्रमुख कारण रहेको पाइयो”, टोलीमा संलग्न डा. रामेश कोइराला भन्छन् ।

टोलीका सदस्यहरूले एउटै कोठामा ८० जना नेपाली कोचिएर सुत्ने गरेको पनि भेटे । जहाँ पर्याप्त अक्सिजन समेत थिएन । करीब ४० डिग्री सेल्सियससम्म तापक्रम भएका उद्योगहरूमा विना आराम कामदारहरू दैनिक १६ घण्टासम्म काम गरिरहेका थिए ।

काम अनुसारको तलब नपाउने, भनेका बेला विदा नपाउने, चाडवाडमा घर आउन नपाउनेलगायतका कारणले बढेको मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढेको छ । टोलीका सदस्य राजीव पोखरेल कामदारले निद्रा लागोस् भनेर भियतनाम, इन्डोनेशिया र मलेशियामै बनेका गुणस्तरहीन रक्सी सेवन गरेको पाइएको बताउँछन् ।

हरिया सागपात महँगो भएकाले दैनिक कुखुराको मासुसँग भात खाने गरेको देखियो । अतिरिक्त समय काम गर्दासमेत अधिकांश नेपालीको तलब औसतमा रु.२४ हजार जति हुने गरेको छ । “लामो समयसम्म काम गरेर फर्केपछि सुतिहाल्ने र भोलिपल्ट उठ्ने बित्तिकै काममा खटिंदा आराम नपुग्ने भएकाले स्वास्थ्यमा प्रतिकूल असर त पर्ने नै भयो”, उनी भन्छन् ।

सुतेको सुत्यै
मलेशियामा मृत्यु हुने अधिकांश नेपाली कामदारले सुतेकै बेला प्राण त्याग्ने गरेको तथ्य नयाँ होइन । (हे.इन्फो) तर, यसको कारण भने लामो समयदेखि पत्ता लागेको छैन ।

त्यसो त पछिल्लो अध्ययन टोलीले पनि सुतेको सुत्यै हुने मृत्युको कारण पत्ता लगाउन सकिरहेको छैन । टोलीका संयोजक डा. केदार बराल टोलीले प्रारम्भिक सूचना मात्र संकलन गरेका कारण अहिले नै यसै भन्न नसकिने बताउँछन् । बरालका अनुसार, यसको कारण पत्ता लगाउन पोस्टमर्टम रिपोर्ट अध्ययन गर्नुपर्नेछ । तर, मृतक अधिकांशको पोस्टमर्टम रिपोर्ट न कामदारका परिवारसँग छ न दूतावाससँग ।

सुतेकै अवस्थामा हुने नेपाली कामदारको मृत्यु प्रमाणपत्रमा भने अस्पतालले ‘सडन कार्डियाक अरेष्ट (एक्कासी मुटुको चाल बन्द हुने) र हृदयघात’ कारण उल्लेख गर्दै आएको छ । यस्तो समस्या म्यानमार, बंगलादेश, फिलिपिन्स, इन्डोनेशियालगायतका देशहरूका कामदारमा पनि देखिएको छ । तर, अधिकांश कामदारमा किन यस्तो समस्या देखिन्छ त ? यसको उत्तर आइसकेको छैन । “सुतेको सुत्यै मर्नुमा ‘सडन कार्डियाक अरेस्ट’ नै प्रमुख कारण हुन सक्छ, तर मुटुको चाल एक्कासी किन बिग्रियो भन्नेमा अनुसन्धान हुन बाँकी छ”, अध्ययन टोलीका अर्का सदस्य डा. कोइराला भन्छन् ।

रोजगारदाता कम्पनीले सामान्य बिरामी हुँदा विदा नदिने र अलि साह्रो भए कडा खालका एन्टिबायोटिक औषधि दिने गरेको पनि टोलीले फेला पार्‍यो । कडा एन्टिबायोटिकको प्रयोगले रोग प्रतिरोधक क्षमतालाई कम गर्नुका साथै शरीरका अन्य अंगहरूमा पनि आक्रमण गर्छ । ‘नो वर्क नो पे’ प्रणाली लागू भएका कारण कतिपय कामदार सहन सकुञ्जेलसम्म काम गर्ने गरेका छन् ।

उपचारमा महँगो शुल्क लाग्ने भएकाले पनि कामदारले आवश्यक उपचार पाउन नसकेको पाइएको छ । स्थानीय भाषाको राम्रो ज्ञान नहुँदा कामदारहरूले आफ्नो समस्या राम्रोसँग बताउन नसकेका कारण पनि थप स्वास्थ्य समस्या बेहोर्नु परेको टोलीको निष्कर्ष छ ।

सरकारको खेलाँची
२४ असारमा अध्ययनबाट फर्केको टोलीले अचानक हुने मृत्युको कारण पत्ता लगाउन मलेशियास्थित नेपाली दूतावासमार्फत पछिल्लो दुई वर्षमा मृत्यु भएका कामदारका पोस्टमर्टम रिपोर्ट मगाएर थप अनुसन्धान गर्ने भएको छ । टोलीले यसका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्वालालम्पुरस्थित मलाया विश्वविद्यालयसँग संयुक्त अनुसन्धानको प्रस्ताव पनि राखेको छ ।

मृत्युको कारण पत्ता लगाउनुभन्दा पनि यस्तो अवस्था नै आउन नदिनु महत्वपूर्ण हुन्छ । तर, सरकारले कामदारहरूको स्वास्थ्य सचेतनाबारे ध्यान दिएको पाइँदैन । सरकारले प्रत्येक कामदारलाई मलेशियाको वातावरण, रोजगारदाता कम्पनीको अवस्थाका साथै त्यहाँको स्वास्थ्य सेवाबारे पनि जानकारी दिनुपर्ने टोलीको सुझव छ । “कामदार विदेश जानुअघि दुई दिनसम्मको स्वास्थ्य सम्बन्धी कक्षा संचालन गर्नैपर्ने देखिन्छ”, डा. कोइराला भन्छन् ।

मलेशियामा काम गर्ने कामदारको सरकारले हरेक वर्ष नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन नेपाली चिकित्सक खटाउनुपर्ने र नेपालका स्वास्थ्य संस्थाबाट तयार पारिने स्वास्थ्य परीक्षण रिपोर्ट मलेशियासँग मिल्दो हुनुपर्ने कोइरालाको भनाइ छ । उनी भाषिक समस्याका कारण पनि मलेशियामा कार्यरत नेपालीको उपचारमा नेपाली चिकित्सक नै खटाउन सके उत्तम हुने बताउँछन् ।

टोलीले सरकारले कामदारको सुरक्षार्थ न्यूनतम पहल पनि नगर्ने कम्पनीमा कामदार पठाउन रोक्नुपर्ने र जोखिमयुक्त ठाउँको पहिचान गरेर सुरक्षित ठाउँमा मात्र कामदार पठाउने पहल थाल्न ढिला गर्न नहुने सुझव पनि दिएका छन् ।
त्यसो त ६ चैत २०७१ मा संसदीय समितिका सभापति प्रभु साहको संयोजकत्वमा गठित अध्ययन समितिले पनि कामदारका लागि मलेशिया असुरक्षित भएको निष्कर्ष निकालेको थियो । समितिले कार्यस्थल, सडक दुर्घटना मात्र होइन, मलेशियाका प्रहरी र लुटेराबाट समेत नेपालीलाई जोखिम रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, प्रतिवेदनमा व्यक्त सुझव कार्यान्वयनमा सरकार गम्भीर देखिएन ।

प्रतिकृया दिनुहोस