ब्लगआइतवार, श्रावण १, २०७४

गर्भावस्थामा मुटु रोग

डा. सुमनराज ताम्राकार

गर्भावस्थामा मुटुको बायाँ भेन्ट्रिकलबाट शरीरमा फ्याँक्नुपर्ने रगतको भार वहन गर्न नसक्दा मुटु फेल हुन पनि सक्छ।

गर्भावस्थालाई जटिल बनाउने विभिन्न स्वास्थ्य समस्यामध्ये मुटु रोग पनि एक हो। अस्पतालमा सुत्केरी हुने महिलामध्ये एक प्रतिशतभन्दा कममा मुटु रोगको समस्या पाइएको छ। घरमै सुत्केरी हुनेमध्ये कतिमा मुटु रोग छ र यही कारण कतिले ज्यान गुमाएका छन् भनेर देखाउने तथ्यांक छैन।

नेपालमा जन्मजात रूपमा मुटुमा खराबी भएकाभन्दा बाल्यावस्थामा बाथज्वरो बिग्रिएर मुटुको भल्भमा असर पुगेका गर्भवती महिला बढी देखिएका छन्।

बाथज्वरोका कारक कीटाणु विरुद्ध गुणस्तरीय प्रतिजैविक (एन्टिबायोटिक) औषधिको व्यापक प्रयोगले यी दुई कारण मुटु रोगीहरूको संख्यामा भने कमी आएको छ।

न्यूयोर्क हेल्थ एसोसिएसनले सामान्य काम गर्दा कुनै स्वास्थ्य समस्या नदेखिने देखि आराम गरिरहँदा पनि सास बढ्ने, अप्ठ्यारो महसूस हुने, थकाइलाग्ने आदि लक्षणका आधारमा गर्भवती महिलाका मुटुको समस्यालाई चार वर्गमा राखेको छ।

जसअनुसार, पहिलो प्रकारको मुटुको समस्या भएका गर्भवतीलाई ३६ हप्तामा, दोस्रो प्रकारको समस्या भएकालाई २८ हप्तामा र तेस्रो तथा चौथो अर्थात् गम्भीर प्रकारको मुटुको समस्या भएकालाई पहिलो पटक जँचाउन आएदेखि नै अस्पतालमा भर्ना गर्नुपर्छ।

गर्भावस्थामा रक्तसंचार प्रणाली धेरै परिवर्तन हुन्छ। मुटुको बायाँ भेन्ट्रिकलबाट शरीरमा फ्याँक्नुपर्ने रगतको मात्रा बढ्छ। यस्तो बढ्ता भार वहन गर्ने क्षमता सामान्य वा स्वस्थ मुटुसँग मात्र हुन्छ। यस्तो बेला मुटु रोगी छ भने 'हार्ट फेल' हुने सम्भावना हुन्छ।

गर्भवती महिला मुटुरोगी छिन् र उनमा रक्तअल्पता, उच्च रक्तचाप, मोटोपन पनि भयो भने उनको मुटुले काम नगर्न सक्छ। श्वासप्रश्वास, मूत्र प्रणाली लगायतमा कुनै संक्रमण भयो भने पनि मुटुले फेल खान सक्छ।

अलिकति हिंड्ने बित्तिकै सास बढ्ने, चाँडै थकाइ लाग्ने जस्ता लक्षण भएका (न्यूयोर्क हेल्थ एसोसिएसनको वर्गीकरण अनुसार तेस्रो प्रकारको मुटुको समस्या भएका) र मुटुका विभिन्न भल्भमा असर पुगिसकेका गर्भवतीहरूलाई पहिलो पटक जँचाउन आएदेखि सुत्केरी हुँदासम्म अस्पतालमै आराम गराउनुपर्छ।

यसमा प्रसूति रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ तथा परिचारिकाहरूबीच राम्रो सामञ्जस्य आवश्यक पर्छ। यस्तो बेला बिरामी महिलाको रेखदेखमा पनि उच्च सतर्कता अपनाउनुपर्छ।

अस्पतालमा रक्तचाप, नाडीको चाल, श्वासप्रश्वास दर, शारीरिक तौल, पिसाबको मात्रा तथा शारीरिक तापक्रमको अवस्थाबारे छिनछिनमा अनुगमन र परीक्षण गरिन्छ।

पटक–पटकको पिसाब र रगत जाँचले मूत्र प्रणाली तथा अन्य कुनै संक्रमण पत्ता लगाएर समयमै उपचार गर्न सजिलो बनाउँछ। घरमै रहेका वा सुत्केरी भएका महिलाको ईसीजी, इको आदिका साथै र अवस्था/आवश्यकता अनुसार गर्भे वा नवजात शिशुको स्वास्थ्यस्थिति पत्ता लगाउन अल्ट्रासाउण्डबाट असम्भव हुन्छ।

मुटुरोगी गर्भवतीमा माथि उल्लिखितका साथै अन्य विभिन्न संक्रमण र जोखिम तत्वहरूका कारण महीना नपुगी बेथा शुरू हुन सक्छ। त्यस्ता गर्भवतीलाई अस्पतालमा राखेर बेथा लाग्न थालेको छनक मिल्नासाथ महीना नपुगुन्जेल बेथा रोक्ने उपाय अपनाउनुपर्छ।

प्रतिकृया दिनुहोस