सडकका खाल्डा तत्काल पुर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आज खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायतका सरोकारवाला निकायका मन्त्री, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
३० असारमा राजधानीको नेपालटारमा स्कुले बालिका विनिता फुँयालको ढलले बगाएर निधन भएको र सामखुशीमा अर्की बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिंदै भने, ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुलका विद्यार्थीहरु हिड्दा हिड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नुहोस्, त्यसको लागि थप बजेट चाहिए म उपलव्ध गराउँछु ।’
प्रधानमन्त्रीले अगाडि भने “अबको १५ दिनभित्र काठमाडौंमा खाल्डाखुल्डी देख्न नपरोस् ।’