कला/साहित्यआइतवार, श्रावण १, २०७४

न्यूयोर्कमा ट्राभलिङ किम्फ

हिमालखबर

तस्वीरहरुः ङिमा पाख्रिन

मौलिक नेपाली वृत्तचित्र तथा लघुचलचित्र समावेश ‘काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)’ २८ असारमा न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा हरेक वर्ष हुने किम्फ तीन वर्षदेखि ‘ट्राभलिङ किम्फ’ का रुपमा देश बाहिर पनि आयोजना गरिंदै आएको छ ।

२०१५ मा हङकङबाट शुरु भएको ट्राभलिङ किम्फको यो तेस्रो संस्करण हो । हिमाल एसोसिएसन, नेपाल र न्यूयोर्कबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका एभरेष्ट टाइम्स को आयोजनामा न्यूयोर्कस्थित शेर्पा किदुङको हलमा किम्फ आयोजना गरिएको थियो ।

‘ईन सर्च अफ देवकी’, ‘वियोण्ड द वाइट केन’, ‘मेला’, ‘बाह्रखरी लौरो’ र ‘भुसको लोग्ने’ वृत्तचित्रसँगै केही लघुचलचित्र प्रदर्शन गरिएका थिए ।

न्यूयोर्कमा आयोजित किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु विद्यालयलाई प्रदान गरिने स्थानीय आयोजक आङछिरिङ शेर्पाले बताए । यसअघि पनि सोलुखुम्बुको चाँगेस्थान मावि, केरुङ र सेर्गा वागाम प्राविलाई सहयोग गरिएको थियो ।

दुर्गम क्षेत्रका विद्यालयका लागि सहयोग जुटाउनका साथै वृत्तचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ट्राभलिङ किम्फ आयोजना गरिंदै आएको जनाएको छ । न्यूयोर्कपछि हङकङ र मकाउमा ट्राभलिङ किम्फ आयोजना हुने ट्राभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले बताए ।
-ङिमा पाख्रिन, न्यूयोर्कमा

प्रतिकृया दिनुहोस