स्वयम्भू क्षेत्रलाई सफा राख: आनीहरु
काठमाडौंको स्वयम्भू क्षेत्रलाई अगामी ६ महीनाभित्र प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न आनीहरुले माग गरेका छन् ।
आज नागर्जुन नगरपालिका–८, रामकोट, डाँडागाउँमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा)का आनी (भिक्षुणी)हरुले आज स्वयम्भूनाथको सामूहिक सर-सफाई गरी उक्त माग गरेका हुन् ।
प्लास्टिकजन्य वस्तु र अन्य फोहोरले स्वयम्भूक्षेत्र फोहर र यहाँको पर्यावरणमा समेत नकारात्मक प्रभाव पारिरहेको भन्दै यस क्षेत्रलाई स्वच्छ र सफा राख्नका अभियान निरन्तर जारी रहने उनीहरुले बताएका छन् ।
अभियानकी संयोजक आनी तेन्जिङका अनुसार आनीको टोलीले हरेक महिनाको दोस्रो र अन्तिम शनिबार स्वयम्भू क्षेत्रको सरसफाई गर्ने, उक्त क्षेत्रमा आवश्यकता अनुसार डस्टबिन राख्ने, सन्देश मुलक सूचना पाटीहरु राख्ने काम गर्नेछ ।
क्षेत्रलाई प्लाष्टिकमुक्त घोषणा गर्ने अभियानलाई सफल बनाउन सरोकारवाला निकाय र सर्वसाधरणको पनि सहयोग आवश्यक रहने उनले बताइन्
आजको सफाई अभियानमा १५० आनीको सहभागिता थियो ।