अन्तर्वार्ता/विचारआइतवार, श्रावण १, २०७४

‘छुटेका र नयाँ मतदातालाई मौका’

हिमालखबर

१–१५ साउनमा मतदाता नामावली संकलनको निर्णयबारे निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, “छुटेका र नयाँ मतदाताले मौका पाउन् भनेर यस्तो निर्णय गरिएको हो ।”

स्थानीय तहको निर्वाचन नसकिंदै मतदाता नामावली संकलन गर्न हतारो किन ?
आउँदो ७ माघभित्र प्रदेश र केन्द्र (प्रतिनिधिसभा र राष्ट्रियसभा) गरी दुई तहका निर्वाचन सम्पन्न गर्नुपर्नेछ । निर्वाचन मिति घोषणा भइहालेमा नामावली संकलन पनि प्रभावित हुन्छ । त्यसैले १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाउन छुटेकालाई लक्षित गरी नामावली संकलन गर्न लागिएको हो ।

अहिले मतदाता नामावलीमा समावेश भएकाहरुले कहिले मत हाल्न पाउँछन् ?
अहिलेको मतदाता नामावली संकलन प्रदेश सभा र प्रतिनिधिसभालाई लक्षित गरी सञ्चालन गर्न लागिएको हो । प्रदेश–२ मा हुने निर्वाचनका लागि गत ९ फागुनसम्म संकलित नामावली नै अन्तिम हो ।

नाम दर्ताका लागि जिल्ला सदरमुकाम नै पुग्नुपर्ने प्रावधान अव्यावहारिक भएन र ?
घर–घरै पुग्न सकिए त एकदमै राम्रो हुन्थ्यो । वडासम्मै पुगे पनि धेरै सहज हुन्थ्यो । तर, यसो गर्दा दुई–तीन महीना लाग्ने देखियो । जसबाट नयाँ मतदाता छुट्ने भए । नयाँलाई मौका नदिनुभन्दा सदरमुकाम पुगेर नाम दर्ता गराउने विकल्प अहिलेका लागि उत्तम ठानेका हौं ।

ठाउँसारी गर्न चाहने मतदाताले के गर्नुपर्छ ?
मानिसको ठेगाना दुई कारणबाट परिवर्तन हुन्छ । एउटा बसाइँसराइ, अर्को विवाह । त्यसका लागि सम्बन्धित व्यक्तिले आवश्यक प्रमाण लिएर १–१५ साउनसम्म जिल्ला निर्वाचन कार्यालयमा पुग्नुपर्छ ।

पहिले एक जिल्लाबाट अर्को जिल्लाका लागि सजिलै नाम दर्ता गर्न सकिने व्यवस्था थियो, यसपटक प्रमाण नै मागिनुको कारण के हो ?
पहिले छानबीन गर्ने समय थियो । त्यसैले फरक जिल्लाबाट पनि नाम दर्ता गर्न सक्ने सुविधा थियो । यसपटक समय कम भएकोले त्यस्तो व्यवस्था गर्न सकिएन ।

प्रतिकृया दिनुहोस