बेनीको योजनाः प्रत्येक वडामा पक्की सडक
म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि विनियोजित बजेट ३१ असारमा सार्वजनिक गरेको छ ।
बेनी नगरपालिकामा रु ३७ करोड ७८ लाख ८६ हजार बजेट विनियोजन गरिएको छ । चालुतर्फ रु २२ करोड ३० लाख ८६ हजार र पूँजीगततर्फ रु १५ करोड ४८ लाख विनियोजन भएको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले बेनीदेखि दशवटै वडासम्म पक्की सडक, आधारभूत खानेपानी सुविधा, फोहर विस्थापनस्थल निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, व्यापार प्रवद्र्धन, कला, संस्कृति र ऐतिहासिकस्थलको संरक्षणमा जोड दिइएको बताए ।
एकीकृत सम्पत्ति कर लागू गर्ने नीतिगत निर्णय गरेको नगरपालिकाले व्यवसाय, घरभाडा र सवारी करका लागि लगत संकलन गर्ने भएको छ । ‘एक वडा एक उत्पादन’, रावण उद्यान निर्माण र ‘एक घर एक बिरुवा’ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । रासस