रिपोर्टशनिवार, आषाढ ३१, २०७४

निवृत्त जीवनमा पनि उस्तै सक्रिय

सविता श्रेष्ठ

पेशाबाट निवृत्त भएकाहरू नियमित भेला हुने चौतारीले वृद्धहरूमा ऊर्जा संचार गरेको छ ।

पुरानो बानेश्वरको पञ्चकुमारी श्रद्धा प्रतिष्ठान हलमा ज्येष्ठ नागरिक । तस्वीरः बिक्रम राई

१९ असार, अपरान्ह ४ बजे, काठमाडौंको पञ्चकुमारी श्रद्धा प्रतिष्ठान हल, पुरानो वानेश्वर पुग्दा एक हुल जेष्ठ नागरिकको भेलामा छलफल चलिरहेको थियो । नेपालकै पहिलोचाटर्ड एकाउन्टेन्ट तथा राजनीतिज्ञ कुवेर शर्मा गफिंदै थिए भने बाकी सहभागी उनका कुरा ध्यानपूर्वक सुनिरहेका थिए ।

प्रतिष्ठानको हलमा हरेक अपराह्न ३ देखि ५ बजेसम्म पत्रपत्रिकाका समाचार र बजारमा आएका नयाँ किताबदेखि धार्मिक ग्रन्थ, देशका घटनाक्रम, चल्तीका अन्य विषयवस्तु र व्यक्तिगत समस्यासम्मका विषयमा छलफल चल्छ। छलफलमा सरकारी जागीर, उद्योग–व्यवसाय, राजनीतिलगायतका क्षेत्रमा लामो समय बिताएकाहरू सहभागी हुन्छन् ।

राजनीतिकर्मी कुवेर शर्मा (८०) 'नो अजेण्डा नो रिजोलुसन टाइप' को छलफलमा आफ्ना कुरा राख्ने, अरूका सुन्ने तर सहमत हुनैपर्छ भन्ने नभएको बताउँछन्। यस्तो छलफलको परिकल्पनाकार पनि उनै हुन् भन्दा फरक पर्दैन। शर्माको घरमा केही वर्ष अघिसम्म दैनिक ८/१० मानिस भेटघाटमा आइरहन्थे। उनीहरूसँगको गफगाफ निकै उपयोगी लाग्थ्यो, शर्मालाई। अनि दुई वर्षअघि जन्म्यो, शर्मा निवास नजिकै रहेको पञ्चकुमारी प्रतिष्ठानको पुस्तकालयमा– ज्येष्ठ नागरिक मिलन केन्द्र।

केन्द्रमा नियमित आउनेमध्येका एक हुन्, ७८ वर्षीय यदुनाथ शर्मा। १२ वर्षअघि सरकारी सेवाबाट सेवा निवृत्त हुँदा साथीहरूले 'घरमा बसेर चाँडै मर्छस्' भनेको सम्झन्छन्, उनी। अहिले धार्मिक पुस्तक पनि लेख्दै गरेका उनी आफ्नै उमेरका साथीभाइसँगको दैनिक भेटघाटले ऊर्जा मिलेको अनुभव सुनाउँछन्। भन्छन्, “यो भेटघाट र अनेक विषयको छलफल बुढ्यौलीको एक्लोपन भगाउने माध्यम त भएको छ नै सँगसँगै सिर्जनाको लागि ऊर्जा पाउने मेसो पनि बनेको छ।”

केन्द्रमा नियमित भेटघाट गर्ने वरिष्ठ नागरिकहरू ८ देखि १५ जनासम्म हुन्छन्। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा लामो समय क्रियाशील रहेका उनीहरूले अहिले त जमघटलाई 'पाकाहरूको चौतारी' नाम दिएका छन्। यो चौतारीमा साथीभाइ बसेर मनका कुरा आदानप्रदान गर्दा न्यास्रोको ठाउँ ऊर्जाले लिने शिवप्रसाद शर्मा (८३) बताउँछन्। लोक सेवा आयोगको पहिलो ब्याचमा प्रतिस्पर्धा गरेर सरकारी सेवामा प्रवेश गरेका उनी भन्छन्, “भेटघाट त घर र टोलमा पनि हुन्छ, तर त्यहाँ यो चौतारीसरहको कुराकानी हुँदैन।”

विचारदेखि वेदनासम्म

लामो जागीरे जीवन बिताएकाहरू अवकाशपछि मनमा कुरा खेलाउँदै, रोग पाल्दै निष्त्रि्कय बस्छन्, उनीहरूलाई समय बिताउन धौ–धौ हुन्छ भन्ने भनाइ छ, जसलाई यो चौतारीको नियमित भेटघाटले गलत बनाइदिएको छ। यी वरिष्ठहरूले चौतारीमा हँसिमजाकदेखि विचार मन्थनसम्म गरेर ऊर्जा लिइरहेका छन्। चौतारीको छलफलमा आफ्नो मनका कुरा राख्ने छूट सबैलाई छ।

समवयीहरूमाझ्ा आफ्नो विचार राख्नेदेखि वेदना पोख्नेसम्मको क्रियाकलापले टेन्सनमुक्त र रिल्याक्स बनाउने उनीहरू बताउँछन्। “गफ गर्छौ, अनुभव बाँड्छौं, जोक्स पनि सुन्छौं, सुनाउँछौं” पञ्चकुमारी प्रतिष्ठानका संस्थापक अध्यक्ष भोला कँडेल (७५) भन्छन्, “यहाँको बसाइले 'फ्रेस' बनाउँछ।”

विश्व, देश र समाजमा दिनहुँ नयाँनयाँ विषय आइरहन्छन्। कतिपय विषयका जानकारी आफूलाई भए पनि त्यसमा अपडेट हुने र नयाँ विषयको जानकारी लिने थलो बनेको छ चौतारी। हरेक विषयमा आफूले काम गरेको समयमा भन्दा अहिले फरक आएको र त्यस्ता विषयमा छलफल गर्दा जानकारीसँगै आनन्द मिल्ने कँडेल बताउँछन्। डेढ वर्षयता चौतारीमा नियमित रहेका जगदीशचन्द्र बराल (६२) परिवारका सदस्यले आफूमा परिवर्तन आएको देखेको पनि त्यति नै भएको बताउँछन्। “पाँचवर्ष अघि जागीरबाट अवकाश भएपछि घरमा आफ्नै कोठामा चूपचाप बस्थें, बगैंचामा निस्कन पनि मन लाग्दैनथ्यो” उनले भने, “चौतारीमा जोडिएपछि चाहिं भेटघाट गर्ने, हालखबर सोध्ने, पत्रपत्रिका–किताब पढ्ने, एकअर्काको अनुभव सुन्ने पहिलाको 'रुटिन' मा फर्किएको छु।”

चौतारीमा छलफलका लागि निश्चित विषयवस्तु तोकिंदैन। चल्तीका कुनै विषयवस्तुबाट कुरा शुरू भएर छलफल अगाडि बढ्छ। कुनै विषयबारे विस्तृत जानकारी आवश्यक पर्दा विशेषज्ञ वा जानकार व्यक्तिलाई बोलाएर छलफल गर्ने अभ्यासको थालनी पनि भएको छ। चीनको 'वान बेल्ट, वान रोड' परियोजनाबारे जानकारी गराउन गत ५ जेठमा योजनाविद् डा. पीताम्बर शर्मा चौतारीमा आमन्त्रित थिए।

त्यस्तै, एनसेल को कर छली प्रकरण राष्ट्रिय चर्चामा रहँदा कर प्रणाली बुझ्न पूर्व मुख्यसचिव लीलामणि पौडेललाई आमन्त्रण गरेको ७४ वर्षीय शिवराज मैनालीले बताए। “गाउँगाउँमा सूचनाप्रविधि र आविष्कारको विषय चर्चामा आएपछि महावीर पुनलाई बोलाएर कुरा सुन्यौं” १३ वर्षअघि सेवाबाट अवकाश भएका मैनाली भन्छन्, “घरमा हाई काढ्दै एकोहोरिएर बस्नु र चौतारीमा आउनुमा आकाश जमीनको फरक छ।”

ज्ञान, खुशी र ऊर्जा

वृद्धवृद्धापन बढ्दै जाँदा निद्रा कम लाग्छ। पूजाआजा, योग, व्यायाम र सानातिना घरायसी कामहरूमा व्यस्त हुन खोजे पनि समय उब्रिन्छ। समय यति हुन्छ कि चौतारीमा तीनबजे भेटघाट शुरू हुने भए पनि देवीदास कोइराला (६२) प्रायः एकघण्टा अगाडि नै आइपुग्छन्। अगाडि आएर सबै पत्रपत्रिका सरसर्ती हेर्ने, अझ समय रहे कुनै किताब निकालेर पढ्ने गरेको कोइराला बताउँछन्। “यो पाराले समय बितेको पत्तै हुँदैन” उनी भन्छन्, “साथै ज्ञान आर्जन पनि हुन्छ।”

वृद्ध हुँदै जाँदा साथीभाइ पनि कम हुन्छन्। बढ्दो शारीरिक कमजोरीले 'आँगन पनि परदेश' महसूस गराउन थाल्छ। शरीरलाई सक्रिय पारेर 'आँगनलाई परदेश' हुन नदिन भरसक गाडी नचढ्ने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (९०) चौतारी र आफ्नो घरबीचको हिंड्न मिल्ने दूरीले पनि गज्जब गुन गरेको बताउँछन्। नेपालमा वकालत गर्ने 'पहिलो लाइसेन्स होल्डर' उनी पेशामा पनि क्रियाशील छन्। “यहाँ जति साथीभाइ एकैपटक अन्यत्र भेटिन्न” चौतारीका नियमित सहभागी उनी भन्छन्, “यहाँको रमाइलो र शिक्षाप्रद कुरा पनि अरू ठाउँमा पाइन्न ।”

२३ वर्षअघि नेपाली सेनाबाट सेवा निवृत्त भएका दलबहादुर थापा (६३) योग सिकाउँछन्। हरेक बिहान योग र अपराह्न चौतारीमा बिताउँछन्। चौतारीमा फरक पेशा तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरूले रमाइलोका लागि गरेका गफै पनि ज्ञानवर्द्धक हुने उनको अनुभव छ। ६२ वर्षीय विश्वनाथ उप्रेतीले पनि चौतारीलाई ज्ञान मन्थनको थलोको रूपमा लिएका छन्। उनी चौतारीमा ढिलासम्म बस्छन्। “रमाइलो कुराकानी भइरहन्छ” उप्रेती भन्छन्, “गम्भीर विषयदेखि हाँस्ने हँसाउनेसम्मका कुरा हुँदा बसाइ लम्बिन्छ ।”

वृद्धावस्थामा धार्मिक क्रियाकलापमा व्यस्त हुने चलन भए पनि आफूलाई त्योभन्दा फरक तौरतरिका भएको चौतारी मन परेको उनले बताए। चौतारीको भेटघाटले आजका लागि खुशी, ऊर्जा र भोलिका लागि पनि चिन्तनका विषयहरू दिएको उप्रेतीको अनुभव छ ।

प्रतिकृया दिनुहोस