फोटोपत्रकारका आफ्नै समस्याको प्रदर्शनी
फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा पत्रकार र सुरक्षा विषयक फोटो प्रदर्शनी काठमाडौंमा शुरु भएको छ ।
बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको फोटोप्रदर्शनीमा फोटो खिच्दाका क्रममा फोटो पत्रकारहरुले व्यहोर्नु परेका दुखका कथा छन् ।
फोटो खिचेरै प्रदर्शनीको उद्घाटन गरेकी सभामुख ओनसरी घर्तीले फोटोपत्रकारका समस्या बारे सदन सकारात्मक बन्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले फोटोपत्रकारले मिडियामा रोजगारीका लागि आफै क्यामेरा किन्नु पर्ने वाध्यता रहेको थाहा पाउँदा अचम्म लागेको बताउँदै क्यामेरा किन्न ग्लोबल आइएमइ बैंककले लोनको ब्यबस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।
फोटोपत्रकार गोपाल चित्रकारले सूचना विभाग लगायतका सरकारी संस्थाहरुले पत्रकारलाई पुरस्कार र सम्मान वितरण गरे पनि अहिलेसम्म एकजना पनि फोटोपत्रकारलाई सम्मान, पुरस्कार नदिएको गुनासो गरे ।
क्लबका संस्थापक अध्यक्ष चन्द्र शेखर कार्कीले सबै मिडिया हाउसमा फोटोपत्रकारलाई दोस्रो दर्जाको पत्रकारको रुपमा हेरिने गरेको बताएका थिए ।
प्रदर्शनी ३१ असारसम्म चल्ने छ ।
-विक्रम राई