कला/साहित्यशुक्रवार, आषाढ ३०, २०७४

सभ्यता मन्थन

रविन गिरी

२०२८ सालदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ समूहमा आबद्ध लोककृष्ण भट्टराई मुलुकको वामपन्थी आन्दोलनमा अद्यापि सुनिने नाम हो। पञ्चायतविरोधी आन्दोलनमा पटकपटक जेल परेका, २०४६ सालको केन्द्रीय आन्दोलन परिचालन समितिको सदस्यसमेत रहेका उनले २०४८ सालको आमनिर्वाचनमा ओखलढुंगा–२ मा एमालेबाट उम्मेदवारीसमेत दिएका थिए। त्यसयता भने उनी पत्रकारिता, पुष्पलाल अध्ययन समाज, शैक्षिक तथा सामाजिक सुधारका अभियानमा सक्रिय देखिन्छन्। उनै भट्टराईको कृति हो, नेपाली सभ्यताः विगत र वर्तमान (लोकतान्त्रिक आन्दोलन र विकास मोडल)।

राजनीतिक दलमा आबद्ध नेता/कार्यकर्ताको चिन्तन स्वभावैले आफ्ना दलको आस्थाप्रेरित हुने गर्छ। विचारको परिधि पनि त्यही दर्शन–सिद्धान्तको घेरामा रहन्छ। भलै, व्यवहारमा भने फरकपना देखिएको छ। तर, भट्टराईले आफ्नो अध्ययनलाई फराकिलो बनाएका छन्। मूल विचारबाट विचलित नभइकन उनी एउटा संकथनतर्फ मोडिएका छन्, जसको केन्द्रमा नेपाली सभ्यता रहेको छ।

पुस्तक नेपाली सभ्यताः

विगत र वर्तमान (लोकतान्त्रिक आन्दोलन र विकास मोडल) 

लेखक: लोककृष्ण भट्टराई

प्रकाशक: विद्यार्थी पुस्तक भण्डार

पृष्ठ: ४९०+५८,

मूल्य: रु.६००
 

आठ अध्यायमा बाँडिएको झण्डै ५०० पृष्ठको पुस्तक नेपाली सभ्यता र राष्ट्रियताबाट शुरु हुन्छ। त्यसपछिका अध्यायहरु पौराणिक समाज र आधुनिक समाज, नेपाली सभ्यता र राष्ट्रियताको जगेर्ना गर्न योगदान गर्नेहरुको परिचय, नेपाली सभ्यता र समाजमा लोकतान्त्रिक अभ्यास, नेपाल एकीकरणपछिको अवस्था, शिव–बुद्ध र मार्क्सवादको सम्बन्ध, नेपाली सभ्यताः विश्व सभ्यताको अभिन्न अंग र नेपालको विकास मोडलमा केन्द्रित छन्।

भट्टराई नेपाललाई विश्वको प्रथम मानव सभ्यता शुरु भएको प्राचीनतम राष्ट्रमध्ये एक ठान्छन् र यसैको सेरोफेरोमा रही तर्क, तथ्य भेला पार्ने जमर्को गर्छन्। भारतमा १६ जनपदका राज्यहरु हुँदा नेपालमा मानव सभ्यताको उच्चतम रुप मूर्तिकला, वास्तुकला, काष्ठकलामा उत्कृष्ट रहेको दाबी गर्दै लेखक भट्टराई आचार्य विष्णुगुप्त चाणक्यले समेत उबेलाको नेपाली कलाको तारिफ गरेको तर्क गर्छन्। मगध राज्यले समेत लिच्छवि गणप्रमुख अंशुवर्मालाई कर तिरेको, समुद्र गुप्तलाई 'काउन्टर' दिन तिब्बतका राजा स्रङचोङ गोम्पोलाई छोरी भृकुटी दिएको जस्ता घटनाले नेपाली सभ्यता कूटनीतिको हिसाबले पनि अब्बल रहेको दाबी गरिएको छ।

शिव संस्कृति ब्रह्माण्डकै पुरानो संस्कृति भएको विश्लेषण गर्दै लेखक यसैका आधारमा नेपाललाई प्राचीन सभ्यता भएको भूमि मान्नुपर्नेमा अडिग छन्। “शिव किराती मूलका नेपाली थिए, किरात गणप्रमुख यलम्बरले नै विश्वको सबैभन्दा पुरानो मन्दिर पशुपतिनाथको स्थापना गरे”, लेखक दाबी गर्छन्। शिवकै नैतिक मूल्यमान्यतामा टेकेर बुद्धले नयाँ दर्शन प्रतिपादन गरेको र आज विश्वको आधा जनसंख्या नेपाली भूमिमा जन्मिएको दुई व्यक्तित्वको सिद्धान्तमा निर्देशित भएको पुस्तकको तर्क छ।

साना साना राज्यबाट आधुनिक नेपालको निर्माण, राजतन्त्रबाट गणतन्त्र र संघीयतामा प्रवेश गरेको मुलुकका लागि राष्ट्रियताको बहसले लामो यात्रा तय गर्ने देखिन्छ। सभ्यता र राष्ट्रियता आपसमा जेलिएका विषय भएकाले पनि पुस्तक सान्दर्भिक ठहर्छ। पुस्तकमा लेखकले गरेको मिहिनेत प्रशंसनीय छ। तर, शिव सभ्यतालाई विश्वकै पुरानो भनी नेपाली सभ्यतालाई पुरानो र ऊँचो बनाउन खोजे पनि लेखकले लेखेकै आधारमा चित्त बुझाउन भने सकिन्न। जस्तो कि शिव सभ्यता स्थापित गर्न उनी बुद्ध र मार्क्सका दर्शनलाई जबर्जस्ती तान्छन्।

राष्ट्रियताको जागरण र राष्ट्र सृजना गर्ने सन्दर्भमा लेखकले यलम्बरदेखि मोहन वैद्यसम्मका १२० जनाको नामावली प्रस्तुत गरेका छन्। जसलाई मिहीन ढंगले केलाउने हो भने छनोटको आधार प्रष्ट देखिंदैन। सभ्यता र राष्ट्रियताजस्तो विषयमा गुदी खोतल्ने प्रयास गर्नुको साटो लेखक पछिल्लो राजनीतिक घटनाक्रमसम्म आइपुग्छन्, अझ बढेर आर्थिक आधुनिकताको विकासको चर्चा गर्दै आफ्नै नेतृत्वको अष्ट 'ज' अभियानको व्याख्या गर्न पुग्छन्। यसले पुस्तकको पृष्ठ मात्र बढाएको छ।

त्यसो त मिथकका देव शिवलाई सभ्यताकै आदि पुरुषका रुपमा स्थापित गराउन खोज्नु एउटा मार्क्सवादीका लागि कति सुहाउँदो कुरा हो, बहसको अर्को पाटो यो पनि हुन सक्छ।

प्रतिकृया दिनुहोस