समाचारशुक्रवार, आषाढ ३०, २०७४

मार्वल पसलमा आगलागी

हिमालखबर

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा २९ असार राती १२ः३० बजेपछि भएको आगलागीमा करिब रु. ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको पसलमा रहेका सबै सामग्री जलेका छन् र पसलसहित सबै सामग्री जल्दा रु. ६ करोडको नोक्सानी भएको अनुमान गरिएको छ ।

कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु.६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले बताए ।

आगलागी हुनासाथ तत्काल स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय नोक्सानी भने नभएको बताइएको छ ।

इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा ३० असार बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीमा भएको नोक्सानीका विषयमा प्रहरीले प्रारम्भिक नोक्सानीको आँकडा लिने कार्य गरिरहेकाले आगलागीको वास्तविक नोक्सानीको विवरण आउन समय लाग्ने बताइएको छ । पेट्रोल पम्पसँगैको घरमा लागेको आगोलाई सावधानीपूर्वक नियन्त्रणमा लिन सफल भएकाले ठूलो दुर्घटनाबाट जोगिन पुगेको प्रहरीको भनाइ रहेको छ । रासस

प्रतिकृया दिनुहोस