कला/साहित्यबुधवार, आषाढ २८, २०७४

आत्मकथाको साथमा आउँदै मदनकृष्ण श्रेष्ठ

हिमालखबर

कलाकार मदनकृष्ण श्रेष्ठ आत्मकथा 'महको म' लिएर आउने भएका छन् ।

प्रकाशक संस्था फाइन प्रिन्टले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा २० भदौमा श्रेष्ठको आत्मकथा 'महको म' विमोचन हुने जनाएको हो ।

कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले आफूले जीवनमा भोगेका विभिन्न आरोह–अवरोह समेटेर पुस्तक तयार पारेको जानकारी दिए । झण्डै ६ वर्षको लेखनपछि आत्मकथा प्रकाशनको चरणमा पुगेको उनले बताए । २० भदौ आफूले विवाह गरेको दिन भएकोले सोही अवसर पारेर आत्मकथा विमोचन गर्न लागेको उनको भनाइ छ ।

त्यस्तै कलाकार हरिवंश आचार्यले महको यात्राबारे आफ्नो आत्मकथा 'चिना हराएको मान्छे' मा छुटेका कतिपय सन्दर्भहरु 'महको म' मा समेटिएको जानकारी गराए । उनले भने “महको म'ले जीवनमा संघर्ष गर्न र साथीसँगको सम्बन्ध तथा एकतामा हुने शक्तिलाई बुझ्न सहयोग पुर्‍याउने छ ।”

कार्यक्रममा प्रकाशक संस्था फाइनप्रिन्टका तर्फबाट नीरज भारी र लेखक मदनकृष्ण श्रेष्ठबीच सम्झौता समेत भयो । भारीले मदनकृष्ण श्रेष्ठ र उनकी श्रीमती यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गर्न लागेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस