कर्णाली विकास योजनाको प्राथमिकतामा सडक
पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउन बनेको दशवर्षे ‘कर्णाली विकास योजना’को मस्यौदामा सडकलाई प्राथमिकता दिइएको छ । ।
कर्णालीका पाँचै जिल्लाको भूगोललगायतको क्षेत्रगत स्थिति विश्लेषण गरी निर्माण गरिएको विकास योजनाको मस्यौदामा पहिलोः सडक, दोस्रोः जलविद्युत् आयोजना र तेस्रोः प्राकृतिक स्रोत साधनलाई प्राथमिकीकरण गरिएको छ ।
विकासको पहिलो पूर्वाधार सडक र यसको सञ्जाल नजोडिएसम्म अन्य क्षेत्रको विकास गर्न गाह्रो हुने भएकोले सडकलाई प्राथमिकता दिइएको कर्णाली विकास आयोगकी निमित्त कार्यकारी निर्देशक पार्वती अर्यालले जानकारी दिइन् ।
विकास योजनाको मस्यौदामा विकासका नौवटा पक्षलाई नीतिगत रुपमा लिपिबद्ध गरिएको छ । मस्यौदामा पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको व्यवस्थापन, कृषि विकास, पर्यटन, व्यापार तथा आपूर्ति शृङ्खला विकास, सामाजिक क्षेत्र विकास, समाज कल्याण तथा जनसंख्या व्यवस्थापन, जीविकोपार्जन विकास, संस्थागत संयन्त्र र शासन व्यवस्थापन तथा अनुसन्धान र विकास समेटिएको छ ।
कर्णाली विकास योजना कार्यान्वयनका लागि रु एक खर्ब ७० अर्बको बजेट प्रक्षेपण गरिएको छ । रासस