मध्यतराईमा प्रहरी संगठन शुद्धिकरण अभियान
प्रहरीले मध्यतराईका बारा, पर्सा, रौतहट जिल्लामा प्रहरी संगठन शुद्धिकरण अभियान शुरु गरेको छ ।
अभियान अन्तर्गत गलत क्रियाकलापमा संलग्न रहेको आशंकामा संगठनका जिम्मेवार अधिकारीहरु समेत छनविनमा परेका छन् ।
कानुनले अवैध ठहर्याएका गतिविधिमा संलग्न रहेको उजुरी बारम्बार परेपछि गत एकसाता अघि सरुवा भएका पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साह काठमाडौं हेडक्वाटरमै छन् । उनी विरुद्ध तस्करीमा सघाएको र शान्तिसुरक्षामा ध्यान नदिएको उजुरी परेको छ ।
नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा छन् ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले उनलाई बाराबाट क्षेत्रमा तानेर अनुसन्धान गरिरहेको छ ।
सीमामा तस्करीमा संलग्न केही व्यक्तिलाई सहयोग गरेको खुलेपछि उनलाई क्षेत्रीय कार्यालय तानेर अनुसन्धान शुरु गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुई साताअघि क्षेत्रले जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत प्रहरी उपरीक्षक उमाशंकर यादवलाई पनि कारबाही गरेको थियो ।
उनलाई कारबाही गरेर मकवानपुरको ईलाका प्रहरी कार्यालय फापरबारीमा सरुवा गरिएको अञ्चल प्रहरी कार्यालय नारायणीले जनाएको छ ।
त्यस्तै, प्रहरी सहायक निरीक्षक रामबालक यादवलगायत अन्य चारजना प्रहरीलाई पनि गुल्ममा सरुवा गरी छानबिन भइरहेको छ ।
एक साताभित्रै पर्सामा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म ८ जनालाई आन्तरिक कारबाही अन्तर्गत जिम्मेवारी हेरफेर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै रौतहटमा पनि एक जना प्रहरी सहायक निरीक्षक अनियमिततामा संलग्न रहेको खुलेपछि कारबाही हुन लागेको प्रहरी स्रोतले जनाएको छ । उनलाई निलम्बन गर्ने लगभग टुंगो नै लागिसकेको छ ।
कानूनी राज्यको अवधारणाबाट निष्ठाबान रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध रहने कसम खाए पनि ती अधिकारीहरुले त्यसको विपरितका काममा संलग्न रहेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालिएको हो ।
प्रहरी उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, सहायक प्रहरी निरीक्षक र जवानहरुलाई पनि अञ्चल, क्षेत्र र हेडक्वाटरमा तानेर अनुसन्धान गर्ने काम भईरहेको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सूर्य उपाध्यायले बताए ।
“कतिपयलाई हाम्रै सिफरिसमा कारबाही प्रक्रिया अगाडि बढेको छ, कतिपयलाई क्षेत्रीय कार्यालयले तानेर अनुसन्धान शुरु गरेको छ,” उनले भने “जिम्मेवार अधिकारीहरु पनि अनुसन्धानको घेरामा छन् ।”
तराईका जिल्लामा आन्तरिक शुद्धीकरण अभियान चलिरहेको एसएसपी उपाध्यायले बताए ।
गम्भीर उजुरीका आधारमा उनीहरु विरुद्ध अनुसन्धान थालिएको भन्दै उपाध्यायले संगठनको मर्यादा बाहिर गएर काम गर्नेहरुलाई पहिलेदेखि नै कारबाही हुँदै आएको भए पनि अहिले सीमा क्षेत्रमा तस्करी रोक्न केन्द्रबाट नै कडा निर्देशन आएकोले विशेष अभियान चालिएको बताए ।
सुरेश बिडारी, वीरगञ्ज