विपद् नीति तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन
व्यवस्थापिका—संसद् अन्र्तगतको विकास समितिले विपद् उत्थानशील विकास नीति तयार गरी कार्यान्वयनमा ल्याउन सरकारलाई पुनःनिर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले गृह, अर्थ र सिंचाई मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई पुनःनिर्देशन दिएको हो ।
बैठकले सप्तरीको तिलाठीलगायत मुलुकका विभिन्न ठाउँमा देखिएको बाढी, डुबान र पहिरोपीडितको लगत सङ्कलन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीपहिरो र डुबानबाट प्रभावित बस्तीलाई समयमै स्थानान्तरण गर्न, समस्या न्यूनीकरण गर्न र तटबन्ध निर्माणलगायत कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ ।
भारतले नेपालतर्फको आफ्नो सिमानामा निर्माण गरेका भौतिक संरचनाका कारण तराईका अधिकांश बस्ती डुबानमा परेकाले कुटनीतिक पहल गरी समाधान खोज्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई पनि निर्देश गरेको छ । रासस