रिपोर्टमंगलवार, आषाढ २७, २०७४

विनाश पर्खंदै चुरे आसपासका क्षेत्र

सन्त गाहा मगर

चुरेको अनियन्त्रित दोहन, जलाधारको प्राकृतिक वहावमा बाधा तथा वर्षाको नियमित चक्रमा आएको परिवर्तनले निम्त्याएको बाढी–पहिरोबाट जनधनको क्षति बढिरहँदा पनि सम्बद्ध निकाय उदासीन नै देखिन्छ । 

२० असारको वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगपालिका–१३ स्थित झलारी गाउँ । तस्वीरः रासस

गएको वैशाखयता बाढी–पहिरोमा परेर ४० जनाको ज्यान गइसकेको छ, ९ जना बेपत्ता छन्। गत वर्ष बाढी–पहिरोले २५७ को ज्यान लिएको थियो। पछिल्लो पाँच वर्षमा बाढी–पहिरोमा परेर ज्यान गुमाउनेको संख्या एक हजारभन्दा बढी छ। (हे. टेबल) हरेक वर्ष २०० भन्दा बढीको अकाल मृत्युको कारण बनिरहेको बाढी–पहिरो नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालेको भने देखिंदैन । 

बाढी–पहिरोले हरेक वर्ष अंग्रेजी महीना अगस्टमा सबभन्दा बढी जनधनको क्षति पुर्‍याएको देखिन्छ। जुलाईसम्म परेको पानी सोस्ने जमीन त्यसपछि गल्ने हुनाले सामान्य वर्षाले पनि पहिरो जाने जानकारहरू बताउँछन् । यो वर्ष त प्रकोपको खास समय शुरू नहुँदै बाढी–पहिरोले ठूलो क्षति पुर्‍याइसकेको छ।

वैशाखमै बाढी

गत २८ वैशाखमा बैतडीको पुरौडा खोलामा अकस्मात् आएको बाढीले खोलामा नुहाइरहेका दशरथचन्द नगरपालिका–६, सुकुट्टीकी सुनिता महर (२४) र उनकी ६ वर्षीया छोरी करिश्मालाई बगायो। वैशाखको यस्तो बाढीलाई जानकारहरू 'अप्रत्यासित' भन्छन्। उनीहरूका अनुसार, मनसुन शुरू नहुँदै भारी वर्षा हुँदा यस्तो 'अप्रत्यासित' विपत्ति आउँछ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा पश्चिमी वायुको सक्रियताले गर्दा यो वर्ष प्रि–मनसुनमै धेरै पानी परेको बताउँछन्। उनका अनुसार विगत केही वर्षयता वर्षाको नियमित चक्र खलबलिएको छ। 'तीनदिने झ्री', 'सातदिने झ्री' आदिको अनुभूति हुनै छाडेको शर्माको अनुभव छ। उनी भन्छन्, “कि लामो समय पानी नपर्ने कि त एकैचोटि मुसलधारे वर्षा हुन थालेको छ ।”

सामान्यतः पूर्वी नेपालबाट १० जूनमा शुरू हुने मनसुन २३ सेप्टेम्बरमा सकिन्छ, तर यस वर्ष मनसुन केही दिन ढिलो शुरू भयो । त्योभन्दा नकारात्मक पक्ष के छ भने असार सकिन लाग्दा पनि सिमसिमे झ्री परेको छैन। जलाधारविद् मधुकर उपाध्याय असारमै गड्याङ–गुडुङ गर्नुलाई पनि वर्षात्को 'प्याटर्न' मा आएको अस्वाभाविक परिवर्तन मान्छन्। निरन्तरको धिमा झ्रीको ठाउँ गड्याङ–गुडुङ र छोटो मुसलधारे पानीले लिएको छ। यस्तो वर्षाले बाढी–पहिरोको जोखिम बढाउँछ भन्दै उपाध्या भन्छन्, “कतै खडेरीले सुकाउने र कतै बाढीले बगाउनु स्वाभाविक अवस्था होइन ।”

सिमसिमे झ्री घटेको र खडेरी बढेको विभिन्न अध्ययनको निष्कर्ष छ। तथ्यांक विभागको 'राष्ट्रिय जलवायु प्रभाव सर्वेक्षण, २०७३' ले साढे दुई दशकयता खडेरी बढेको देखाएको छ। जलवायु विश्लेषक ङमिन्द्र दाहाल विगतमा एक शताब्दीमा एकपटक आउने प्राकृतिक विपत् जलवायु परिवर्तनका कारण छिटो–छिटो आउन थालेको बताउँछन्। केही दशकपछि यो अवस्था झ्नै डरलाग्दो हुने उनको विश्लेषण छ।

कमजोर कान्छो पहाड

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाको २१ असारको बुलेटिनले 'मुख्य नदीहरूमा बाढीको जोखिम न्यून तर मध्य तथा पश्चिम चुरेबाट बहने नदीमा मध्यम जोखिम हुने' बताउँदै चुरे आसपासका क्षेत्रमा सतर्क रहन भनेको छ। पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १६४ वटा खोलाको मुहान हो। अन्य नदीको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुन्छन्।

चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। हिमालय उत्पत्तिको क्रममा करीब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। “चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरू त्यत्ति नै चञ्चल” जलाधारविद् उपाध्या भन्छन्, “त्यसमाथि, निरन्तर भइरहेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन गर्दा बाढी–पहिरोको जोखिम झ्न् बढाएको छ।”

असार तेस्रो सातादेखि सप्तरीको तिलाठी आसपासमा बबण्डर मच्चाएको खाँडो खोलाको मुहान पनि चुरे क्षेत्रमै पर्छ। सप्तरीमा २३ हजार ६०४ हेक्टर चुरे क्षेत्र छ। यो जिल्लामा बढी कटान गर्ने सुन्दरी र बलान खोला चुरेबाटै निस्कन्छन्। वर्षेनि बाढी, डुबान र कटानको चपेटामा पर्दै आएका सप्तरीवासीका लागि बाढी आउनु होइन, नआउनु चाहिं अनौठो विषय बन्ने गरेको छ। सप्तरीलगायतका क्षेत्र वर्षेनि बाढी–पहिरोको प्रकोपमा पर्नुको मुख्य कारण वन विनाश, अव्यवस्थित बसोबास, भूस्खलन, डढेलो आदिलाई मानिएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादव वन विनाश मात्र रोक्न सक्दा पनि बाढी–पहिरो कम हुने बताउँछन्। त्यसबाट चुरे, भावर क्षेत्रका एक करोड ४५ लाख मानिसलाई राहत पुग्ने उनी बताउँछन्। उनका अनुसार, तराई–मधेशका अधिकांश क्षेत्र सामान्य झ्रीमा पनि डुबानमा पर्छन्। यसले भीषण वर्षा मात्रै समस्या होइन भन्ने देखाउँछ। पानीको मात्रा भन्दा बहने गतिले बाढी–पहिरो ल्याउने समितिका अध्यक्ष यादव बताउँछन्। “डाँडै नांगो हुने गरी वन मासिएपछि स्वाभाविक रूपमा बाढीको गति तीव्र हुन्छ” उनी भन्छन्, “पहिला पहाडको पानी दशगजा पुग्न दुई–तीन दिन लाग्थ्यो, अहिले तीन घण्टामै पुग्छ।”

मानवीय प्रकोप

नेपालको वार्षिक जलप्रवाह दुई अर्ब २५ करोड घनमिटर छ। त्यसमध्ये ८० प्रतिशत पानी असार–असोजको बीचमा बग्छ। चुरे पहाडबाट बगेर आउने भललाई दुईदशक अगाडिसम्म तराईमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन बालुवा र गेग्रान बोक्छ, जसले तराई–मधेशमा सह होइन, बबण्डर पुर्‍याइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रा.डा. नरेन्द्रराज खनाल अहिले भावर क्षेत्र, भित्री मधेश र पहाडलाई पहिरो तथा तराई–मधेशलाई बाढीले सताएको बताउँछन्। उनका अनुसार, ठूलो वर्षाका कारण तत्कालै आउने 'फ्लस फ्लड' र नदीमा पानी बढ्दै गएपछि आउने 'रिभर फ्लड' दुवै बढिरहेको छ। “दुवैखाले बाढीलाई आमन्त्रण गर्ने विनाशकारी मानवीय गतिविधि नै हो” प्रा.डा. खनाल भन्छन्, “डोजरले चिरा पारेको पहाड, बम ब्लास्ट गरेर बनाइने सडक, अन्धाधुन्द निर्माण गरिएका बहुतले भवन, तटबन्ध वा बाँध, अवैज्ञानिक खेतीप्रणाली सबै बाढी–पहिरोका कारक हुन् ।”

पानीको प्राकृतिक वहावमा हुने अवरोधलाई बाढी–पहिरोको अर्को ठूलो कारण मानिन्छ। सप्तरीको तिलाठीमा आएको बाढीदेखि कास्की अर्मलाको जमीनमा परेको भ्वाङ यसका उदाहरण हुन्। जलाधारविद् उपाध्या हाम्रो अधिकांश सडक पानीको वहाव छेक्ने गरी बनेका बताउँछन्। हिउँदमा 'विकास' गर्दा बर्खामा मनसुन चल्छ भन्ने कुरा बिर्सने र नदी किनार वा पहिले पानी जमेको ठाउँमै बस्ती बस्नुलाई उनी जानाजान विपत्तिलाई निम्तो दिएको ठान्छन्। आफैंलाई हानि हुने गरिको वातावरण विरोधी गतिविधिमा लगाम लगाउनै पर्ने उनको सुझाव छ ।

बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना, पूर्वसूचना, राहत, उद्धार जस्ता तात्कालिक उपाय पर्याप्त नहुने जानकारहरूको निष्कर्ष छ। प्रा.डा. खनाल बाढीको जोखिम घटाउन वन र जलाधार संरक्षणसँगै खोला किनारमा तटबन्ध निर्माणका लागि लगानी बढाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “अब पनि बाढी–पहिरोले जनधनमा पुगेको क्षतिको समीक्षा गरेर व्यवस्थापनको उपाय नखोज्नु भनेको अझ् ठूलो विनाश पर्खनु हो ।”

प्रतिकृया दिनुहोस