९० दिन पुग्ने पेट्रोलियम भण्डारणस्थल बन्दै
सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७४ अन्तर्गत उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पेट्रोलियम पदार्थ भण्डारणको प्रक्रिया अगाडि बढाइएको बताएका हुन् ।
सरकारले यसअघि नै मुलुकका विभिन्न सात स्थानमा पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माण गर्ने गरी काम शुरु गरिसकेको बताउँदै उनले भारतमा रोकिएका नेपाली ग्यास बुलेटलाई मुलुकमा भित्र्याउन कुटनीतिक प्रयास थालिएको जानकारी दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल खाद्य संस्थानमार्फत कर्णाली अञ्चलमा उत्पादन भएका सिमी, बोडीजस्ता खाद्यान्नको काठमाडौंलगायतका विभिन्न शहरमा विक्री वितरणको प्रक्रिया अगाडि बढाइएको जानकारीसमेत गराए ।
त्यस्तै श्रेष्ठले मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजसम्म सम्पन्न गराउने गरी कार्य शुरु भएको उल्लेख गर्दै लार्के र याङ्ग्रीकोसमेत पानी थप गर्ने कार्ययोजना बनाइएको उल्लेख गरे । रासस