नारायणघाट–मुग्लिन खण्डमा रोकिए १४ सय गाडी
नारायणघाट–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द भएको पहिलो रातमै १ हजार ४०० सवारी साधन रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणघाटतर्फ ७०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएको हो ।
२५ असार बेलुका नारायणघाटतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो ।
त्यसैगरी नारायणघाटतर्फ जाने सवारीलाई मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो भने बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो ।
काठमाडौंबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताए ।
यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले ११ असारमा उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै २५ असारबाट रातको समयमा सवारी आवागमन रोकेको हो । रासस