३३३ स्थानको मतपरिणाम सार्वजनिक
१४ असारमा सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत अहिलेसम्म ३३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार नेकपा एमाले १५० स्थानीय तहमा निर्वाचित हुँदै पहिलो दल बनेको छ । मतगणना जारी रहेको धरान उपमहानगरपालिकामा पनि नेकपा एमालेको अग्रता रहेको छ । पहिलो चरणको निर्वाचनमा नेकपा एमाले १२५ स्थानीय तहमा निर्वाचित भएको थियो । विवादका कारण मत गणना रोकिएको चितवनको भरतपुर महानगरपालिकामा पनि नेकपा एमालेको अग्रता छ । दुबै चरणको निर्वाचनको परिणामअनुसार नेकपा एमाले २७५ स्थानीय तहमा निर्वाचित भएको छ ।
नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनमा १२२ स्थानीय तहमा निर्वाचित भएको छ भने पहिलो चरणको निर्वाचनमा १०४ स्थानीय तहमा निर्वाचित भएको थियो । दुबै चरणको परिणामअनुसार कांग्रेस २२६ स्थानीय तहमा निर्वाचित भएको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ३८ स्थानीय तहमा निर्वाचित भएको छ । माओवादीले पहिलो चरणमा ४६ स्थानमा जित हात पारेको थियो । दुबै चरण गरेर माओवादी केन्द्र ८४ स्थानीय तहमा निर्वाचित भएको छ ।
त्यस्तै अघिल्लो चरणमा एक स्थान जितेको राप्रपा दोस्रो चरणमा चार स्थानीय तहमा निर्वाचित भएको छ । त्यसैगरी संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राष्ट्रिय जनमोर्चा दुई र तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
दुबै चरणको निर्वाचन गरेर हालसम्म ६१७ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ भने २ असोजमा प्रदेश नं २ का १२७ स्थानीय तहमा निर्वाचन हुँदैछ ।