व्यक्तित्वसोमवार, आषाढ २६, २०७४

कान्छी उपमेयरको प्राथमिकता

हिमालखबर

उमेरमा सबैभन्दा कान्छी नगर उपप्रमुख शिवकुमारी चौधरी (२३) सबै समुदायको सेवा गर्न चाहन्छिन् ।

२० असार बिहान कपिलवस्तुको शिवराज नगरपालिकाको अन्तिम मतपरिणाम आएसँगै शिवराज–१, शिवपुरकी एमाले उम्मेदवार शिवकुमारी चौधरी ५ हजार ९६२ मत पाएर उपप्रमुखमा निर्वाचित भएको घोषणा भयो । निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी सुमनदेवी यादवलाई उनले २ हजार ९३३ मतले पछि पारिन् ।

जितसँगै शिवकुमारी २३ वर्षकै उमेरमा नगर उपप्रमुख बन्ने ‘कान्छी उपप्रमुख’ बनिन् । तर, जनप्रतिनिधिको रूपमा शिवकुमारीको उदयको अर्थ कान्छी हुनुमा मात्र सीमित छैन ।

किशोरावस्था टेकेपछि बल्लतल्ल नेपाली बोल्न÷लेख्न सक्ने भएकी शिवकुमारीले २० वर्षकै उमेरदेखि निम्नमाध्यमिक तहमा नेपाली विषय पढाउन थालेकी थिइन् । प्रायः छोरीले उच्च शिक्षा नपाउने ठाउँमा जन्मे–हुर्केकी उनीसँग जान्ने–बुझ्ने भएदेखि नै शिक्षक बनेर ‘ज्योति छर्ने’ सपना थियो । त्यसैअनुरूप मुख्य विषय नेपाली लिएर बीएड पहिलो वर्षमा भर्ना हुनेबित्तिकै उनले गाउँकै विद्यालयमा पढाउन थालिन् । र, गाउँका छोरी, आमालाई पढ्न–पढाउन हौस्याउन थालिन् । तर, अब भने उनमा नगरको समग्र विकासको दायित्व आएको छ ।

“अब मलाई छोरीलाई पनि उच्च शिक्षा दिनू भनेर मात्रै नपुग्ने भयो”, २० असारमा दिनभर विजय जुलूसमा हिंडेर साँझ घर फर्किएकी शिवकुमारीले हिमाल सँग भनिन्, “बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित हुनु छ, उपमेयरको जिम्मेवारी न्याय दिनु पनि त हो नि !”

महिलाका यस्ता साझा समस्यामध्ये उनको पहिलो प्राथमिकतामा भने नागरिकता छ । गाउँमा उमेर पुगेपछि नागरिकता नबनाइदिने चलन भएकै कारण थुप्रै महिला अन्यायमा परेको उनले देखेकी छिन् । “सबै महिलाले नागरिकता पाउने सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हो”, उनी भन्छिन् ।

नगरपालिकामा निर्वाचित टीम ‘परिवार जस्तै’ भएकाले पनि काम गर्न सजिलो हुने उनको विश्वास छ । चौधरी निर्वाचित भएको पार्टी नेकपा (एमाले) बाटै नेत्रराज अधिकारी मेयरमा चुनिएका छन् । उनी चौधरी अध्ययनरत नेपाल आदर्श बहुमुखी क्याम्पस, शिवपुरका सञ्चालक समितिका अध्यक्ष हुन् । घर जोडिएका जगतबहादुर जिसी एमालेबाटै वडा नम्बर १ को अध्यक्ष निर्वाचित भएका छन् । उनी चौधरीले अध्यापन गराउँदै आएको सरस्वती निमाविका व्यवस्थापन समिति अध्यक्ष हुन् ।

शिवपुरबाट प्रथम श्रेणीमा एसएलसी पास हुने पहिलो थारू–जनजाति महिला हुन्, चौधरी । एसएलसीलगत्तै १७ वर्षकै उमेरमा एकै वडाका युवासँग वैवाहिक सम्बन्धमा जोडिनु परे पनि पढाइ रोक्नु परेन । श्रीमान् वैदेशिक रोजगारीमा गए पनि घर धान्दै उनले पढाइलाई बढाइन् । हाल बीएड तेस्रो वर्षमा अध्ययनरत उनको एमएड उत्तीर्ण गर्ने योजना छ ।

२०६८ मा गैरसरकारी संस्था सहज नेपाल को सामुदायिक परिचालक भएर वीरपुर गाविस डुलेर चौधरीले महिला समूह गठन गरी प्रजनन स्वास्थ्य सल्लाह, बचत संकलन जस्ता विषयमा चेतना फैलाइन् । तत्कालीन वीरपुर अहिले शिवराज नगरपालिका ५ र ६ मा बाँडिएको छ । त्यसमध्ये उनले हरेक घर–घर डुलेर काम गरेको वडा नम्बर ५ बाट उनलाई सबैभन्दा बढी मत आयो ।

करीब ३२ हजार मतदाता रहेको शिवराज नगरपालिकामा पहाडी, मधेशी र थारू समुदायको बसोबास छ । त्यसमध्ये ८ हजार जति मतदाता त थारू नै छन् । यो समुदायको मत तानेर चुनाव जितिने रणनीति प्रायः सबै दलको थियो । केही वर्ष स्थानीय एफएममा थारू भाषाको कार्यक्रम सञ्चालन गरेकी शिवकुमारी सामाजिक कार्यकर्ता र शिक्षिका समेत बनेपछि सबैमाझ चिनिएकी थिइन् । नगरमा उपप्रमुखको उम्मेदवारमा उनी जत्तिकी टाठी थारू महिला फेला पार्नु सम्भव थिएन । उपप्रमुखका लागि उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र थरूहट पार्टीको पनि प्रस्ताव नआएको होइन । तर घरमा सबैजना एमाले थिए । माइतीमा हुँदा राजनीतिमा नलागेकी शिवकुमारी बिहेपछि भने घरको माहोलका कारण राजनीतिप्रति आकर्षित भएकी थिइन् ।

शिवकुमारी एमालेको उम्मेदवार बनेपछि राप्रपाले उनकै मिल्ने साथी सविता चौधरी (पाएको मत २०२३) लाई उम्मेदवार बनायो । शुरूमा आफ्नै साथीसँग प्रतिस्पर्धा गर्नुपर्दा केही अप्ठ्यारो मानेकी उनी प्रचार–प्रसारमा जाँदा मतदाताको ‘माया’ ले भने हौसिइन् ।

शिवकुमारी आफ्नो नगरको जनसांख्यिक अवस्थिति र त्यसलाई उपयोग गर्न खोज्ने रणनीतिबारे बेखबर छैनन् । “यहाँ हिन्दू–मुस्लिम, पहाडी–मधेशी–थारू भन्ने जस्तो भावना छ, पहिले दंगा भड्किएको पनि थियो” उनी भन्छिन्, “यस्तो विभाजित भावना घटाउन म लागिपर्नेछु ।”

शिवकुमारीकी सासू मन्नी थारू (४०) आफूले स्कूलको ‘मुख पनि नदेखेको’ ले उपप्रमुखमा निर्वाचित बुहारीलाई गाउँका सबै छोरीलाई पढ्ने व्यवस्था मिलाउन भनिसकेको बताउँछिन् । तीनवर्षे छोरीको स्याहार गरिदिएर आफूलाई राजनीतिमा पठाउने सासू–ससुराको प्रेरणाकै कारण जित सम्भव भएको बताउने शिवकुमारी जितको श्रेय परिवारलाई नै दिन चाहन्छिन् ।

तुफान न्यौपाने, शिवपुर (कपिलवस्तु)

प्रतिकृया दिनुहोस