कला/साहित्यआइतवार, आषाढ २५, २०७४

प्रश्नको उल्झनमा नेपाली चलचित्र

हिमालखबर

मनोज पण्डित 

चलचित्र क्षेत्रमा पनि थुप्रै ‘शेरबहादुर देउवा’ छन्, जो आफ्ना चलचित्रमाथि प्रश्न होइन, प्रशंसा मात्र खोज्छन् ।

तपाईं बढी बोल्दै हुनुहुन्छ ! प्रधानमन्त्री शेरबहादुर देउवाले एक टेलिभिजन अन्तर्वार्तामा प्रश्नकर्तालाई उल्टै थर्काउँदै भनेको यो भनाइ अहिले चर्चामा छ । लोकतन्त्रको आधारभूत तत्व भनेकै जनताको अभिव्यक्ति स्वतन्त्रता हो । यो स्वतन्त्रताकै कारण शासनलाई जनताप्रति जवाफदेही हुन बाध्य पार्छ । तर, प्रधानमन्त्रीले जनताको प्रश्न गर्ने अधिकारमाथि नै प्रश्न गरेको पाइयो ।

प्रधानमन्त्रीको यस्तो जवाफले मलाई एकाएक हाम्रा कतिपय चलचित्रकर्मीको व्यवहार सम्झायो । “यति राम्रो चलचित्रमा त्रुटि देखाउने ? मेरो चलचित्र बुझ्न त चलचित्र पढेको हुनुप¥यो नि”, स्वयं चलचित्रकर्मी नै दर्शकलाई यसखाले जवाफ दिइरहेका हुन्छन् । दर्शकप्रतिको हेपाइका अनेक उदाहरण छन् ।

राजनीतिका लागि जनता जस्तै हुन्, चलचित्रका लागि दर्शक । जनता पछि नलागे जित हासिल हुँदैन, दर्शक हलसम्म नगए चलचित्र चल्दैन । तर, यो वास्तविकतालाई बिर्सेर पटकपटक नेता र चलचित्रकर्मी जनता र दर्शकको मानमर्दन गर्न अघि सर्छन् ।

प्रश्नसँगको भय
प्रसिद्ध चिनियाँ लेखक तथा युद्ध रणनीतिकार लु सुनले द आर्ट अफ वार पुस्तकमा लेखेका छन्, “यदि तिमी युद्ध जित्न चाहन्छौ भने सर्वप्रथम आफ्नो दुश्मनलाई चिन, सम्मान गर ।” तर, हामी त दुश्मनलाई घृणा र बहिष्कार गर्छाैं ।

हामी प्रश्न रुचाउँदैनौं, डराउँछौं । प्रश्न नभइदिए, नआइदिए, नसोधिदिए हुन्थ्यो भन्ने चाहन्छौं । कारण, प्रश्नले हाम्रो अभिमान, स्वार्थ, अकर्मण्यता, गैरजिम्मेवारी र अज्ञानतालाई चुनौती दिन्छ । त्यसकारण पनि हामी प्रश्नबाट परै बस्न चाहन्छौं । तर, प्रश्नसँग वैमनस्य हुनुको अन्तर्य के हो त ? कतै यो हाम्रै धर्मसंस्कृति सिर्जित मनोविज्ञान त होइन ? हामीले मानिआएको धर्मले आस्था र भक्तिमा लीन हुन भन्यो, प्रश्न गर भनेन । ईश्वरका कथा र किम्बदन्तीहरूमाथि प्रश्न गरिएन । हुँदाहुँदा कर्मकाण्डी पण्डितहरूले तय गरेका कतिपय सामाजिक नियम र सिद्धान्त पनि बहसभन्दा पर्तिर लाग्दै गयो ।

पश्चिमाहरूले भने पटकपटक आफ्ना स्थापित मूल्य मान्यता माथि प्रश्न गरे, यसो गर्दा धेरैले सूली चढ्नु, विष पनि पिउनुप¥यो । तर त्यही प्रयत्नले त्यो समाजलाई समृद्ध तुल्यायो । प्रश्न गर्ने संस्कृतिको विकास गर्दै पश्चिमाहरूले मानवीय मस्तिष्कको आधारभूत चरित्रलाई सृजनात्मक बनाए । किनकि मस्तिष्कको आधारभूत चरित्र नै प्रश्न गर्नु हो । त्यहाँ चेतनाले प्रश्नको रुप लियो ।

तर, अक्सर शासक र शक्तिवानहरू विना प्रश्न आफूले निर्माण गरेका सत्यलाई सबैले स्वीकारुन् भन्दै आतंक उत्पन्न गराउँछन् । दुर्भाग्य त तब देखिन्छ जब प्रश्न गरेरै यहाँसम्म आइपुगेका नेताहरू आफूलाई चाहिं प्रश्नभन्दा माथि ठान्छन् । इतिहासमा लडिएका जति पनि क्रान्ति छन् ती सबैको जन्म प्रश्न नै हो । प्रश्नले नै हो, जसले नायक जन्माउँछ, खलनायक बनाउँछ, इतिहास लेख्छ, कथा जन्माउँछ । त्यही कथाले चलचित्रको सृजना हुन्छ ।

चलचित्रः एउटा युद्ध
चलचित्र पनि एउटा सिर्जनात्मक ‘युद्ध’ हो, स्रष्टा–दर्शकबीचको । युद्धमा स्रष्टाले जिते दर्शक आनन्दित हुन्छन् तर जब स्रष्टा हार्छन्, दर्शक निराशा बोकेर फर्कन्छन् । कला र साहित्यको संवेदनाले भरिएको यो यस्तो अचम्मको युद्ध हो जहाँ दर्शक समय र पैसा खर्चेर हार्न तयार हुन्छ । तर, दर्शकलाई हराउन कहाँ सजिलो छ र ? यसका लागि चलचित्रकर्मीले दर्शकको मस्तिष्कमा उठ्ने हरेक प्रश्नहरूलाई परास्त गर्न सक्नुपर्छ । यदि चेतनशील दर्शकलाई चलचित्र देखाउने हो भने त्यस्ता प्रश्नहरूलाई सधैं स्वीकार गर्नुको विकल्प छैन । नेपाली चलचित्रको सफलता÷असफलता, विकास÷विनाश यही प्रश्न र उत्तरमै अल्झिएको छ ।

भनिन्छ, ‘चलचित्र खिच्ने क्यामेराले मस्तिष्क खिच्छ ।’ नहोस् पनि कसरी; दृश्य, पात्र, घटना सबै मस्तिष्ककै उपज हुन् । जब यो विचारको स्वीकारोक्ति हुँदै गयो त्यसपछि अत्यन्त शक्तिशाली चलचित्रहरू निर्माण भए । नेपाली चलचित्रकर्मीले पनि यो सत्यसँग अनुभूत गर्ने हो भने कालजयी चलचित्र बनाउन सकिन्छ । त्यसको पहिलो पाइला भनेको मस्तिष्कमा उठ्ने प्रश्नहरूको खोजी नै हो ।

तर, यसो भनिरहँदा मुलुकमा प्रश्न गर्ने वातावरणबारे पनि घोल्लिनुपर्ने विडम्बनापूर्ण अवस्था आइलागेको छ । अवस्था कस्तो आइपरेको छ भने, स्वयं प्रधानमन्त्री नै प्रश्नप्रति घृणा गर्छन् । यस्तो बेला के एउटा स्रष्टाले सत्ता र शक्तिसँग विना भय प्रश्न गर्न सक्छ ? के हाम्रा चलचित्रले विकृत राजनीति, अराजकता, भ्रष्टाचार, असङ्गतिमाथि प्रश्न गर्न सक्छन् ? प्रधानमन्त्रीको उत्तर के होला ?

प्रतिकृया दिनुहोस