टिप्पणीबुधवार, भाद्र २२, २०७३

गगनलाई शुभकामना!

शेखर खरेल

   
असन्तुष्टिको राजनीति गरिरहेका गगन थापालाई सत्तारोहणसँगै देशकै नेता बन्ने अभूतपूर्व अवसर प्राप्त भएको छ। 
 
नेहरू–गान्धी परिवारका राजनीतिक 'वारिस' राहुल गान्धीलाई सत्तारोहणका लागि हजुरआमा इन्दिरा गान्धी जस्तै अरूकै मन्त्रिपरिषद्मा मन्त्री हुँदै सत्ता राजनीति आरम्भ गर्ने अवसर थियो।

सन् २००९ मा कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए) ले बहुमत ल्याएपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मनमोहन सिंहले गान्धीलाई मन्त्रालय रोजेर वरिष्ठ मन्त्री बन्न आग्रह गरेका थिए।

तर गान्धी मन्त्री बन्न चाहेनन्। त्यो बेला गान्धीले सत्तारोहणको दोस्रो बाटो अर्थात् पिता राजीव गान्धी जस्तै एकैपल्ट प्रधानमन्त्री चाहेको अनुमान पनि गरियो/गरिंदैछ। भविष्यमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो भने गान्धी प्रधानमन्त्री बन्ने सम्भावना बाँकी नै छ। 

यता नेपाली राजनीतिको चर्चाको शिखरमा रहँदै आएका युवा नेता गगन थापाले पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्रीको हैसियतमा सत्तारोहण गरेका छन्।

बेथिति र अकर्मण्यताले ग्रस्त राजनीतिमा आशा र दिशाको संवाहक बन्ने अपेक्षा गरिएका थापा पनि राहुल गान्धी जस्तै नेपाली कांग्रेस नेतृत्वको वा बहुमतको बलियो सरकारबाट सत्ता प्रवेश गर्ने अपेक्षा धेरैको थियो। यसपटक थापाले हतारो गरे वा साँच्चिकै कुनै चमत्कार देखाउन सत्तारोहण गरे? हेर्ने समय आइपुगेको छ।

पुष्पकमल दाहालको म्यादी सरकारबाट युगान्तकारी परिवर्तनको अपेक्षा राख्नु आत्मरति मात्र हो। तर अपार जनअपेक्षा शिरमा बोकी हिंडेका गगन थापाको हकमा चाहिं, सरकार यात्रा आजसम्मकै सबैभन्दा ठूलो चुनौती हो।

थापाको अवस्था भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरसँग पनि तुलना गर्न सकिन्छ। जुन बेला सचिन भारतीय राष्ट्रिय टीमबाट खेल्दथे, उनको पारीले टोलीको जीत र हारको निर्णय गर्दथ्यो। भनिन्थ्यो पनि, जतिबेला सचिन ब्याट समातिरहेका हुन्थे, एक अर्ब भारतीय पनि सँगै समाएका हुन्थे।

आज नेपालको राजनीतिक मैदानमा थापाले जनआशाको त्यस्तो 'ब्याट' समाउन पुगेका छन्, जसको जस, अपजस कप्तान पुष्पकमल दाहालले होइन, उनी आफैंले लिनुपर्नेछ।

दाहालको 'डक आउट' मा मानिसका लागि उत्ति चासो छैन, जति थापाको ब्याट। थापाका समर्थकहरू उनीबाट छक्का, चौकासहित कम्तीमा शतक चाहिरहेका छन्, जसबाट उनी सक्षम नेताका रूपमा प्रमाणित हुनेछन्।

तर, कदाचित उनी असफल भए, क्रिक्रेटमा जस्तो दोस्रो इनिङ उपलब्ध हुने छैन। त्यसले उनको राजनीतिक जीवन मात्र सखाप पार्ने छैन, उनलाई 'आशाको त्यान्द्रो' मान्ने शुभचिन्तक राजनीतिदेखि नै निराश हुनेछन्। यो नेपाली राजनीतिकै ठूलो क्षति हुनेछ।

निर्मम परीक्षा
हुनत विरोध, असहमति र जुझारुपनले नै राजनीतिज्ञलाई सत्ताको ढोकासम्म पुर्‍याउने हो। तर, जब कुनै आलोचक नेता स्वयं शासकको कुर्सीमा आसीन हुन्छ, उसले स्वाभाविक रूपमा विरोधको सहुलियत गुमाउँछ। उसको मूल्यांकन विरोध नभएर रचनात्मक कार्यबाट निर्धारित हुन्छ। विरोधजति सजिलो काम अरू हुन्न।

सत्ताले नेताको निर्मम परीक्षण गर्छ। आशा गरिएका धेरै नेताहरू सत्तासँगै निराशाको गर्तमा भासिएका छन्। सत्तामा पुगेर पनि नडगमगाएका अपवादका केही नेताहरू षडयन्त्रको शिकार बनेका छन्। बीपी कोइराला राजा महेन्द्रको र कृष्णप्रसाद भट्टराई सहयात्री गिरिजाप्रसाद कोइरालाको सत्तालिप्साको षडयन्त्रमा परेको तीतो इतिहास छ।

पहिलो वामप्रधानमन्त्री मनमोहन अधिकारीको झिनो आशा जगाउने छोटो कार्यकालबाहेक नेपालका अन्य नेताहरूको शासनकाल सम्झिनलायकसम्म छैन। मदन भण्डारी अर्का अपवाद थिए, जो सत्ताको परीक्षण पूर्व नै अस्ताए। सशस्त्र विद्रोहको नेतृत्व गर्ने पुष्पकमल दाहाल (पहिलो कार्यकाल) र बाबुराम भट्टराईको प्रधानमन्त्रीको कार्यकाल दुःस्वप्नकै निरन्तरता बन्यो।

जुझारुपनले नै गगन थापालाई सत्ताको कुर्सीमा पुर्‍याइदिएको हो। थापाको विगत विरोध र असहमति हो। उनी आफ्नै दलभित्रका शीर्ष नेता र बेथितिले ग्रस्त राजनीतिसँग असहमत रहे र विरोधको आगो ओकलिरहे। हिजो उनले जसको शासकीयतामाथि औंला उठाएका थिए, आज आफैंले गरेर देखाउने बेला आएको छ।

ढिलोचाँडो थापालाई सत्तारोहण त गर्नु नै थियो। किनकि, आजको राजनीति महात्मा गान्धी, जयप्रकाशनारायण, राममनोहर लोहिया आदिको जस्तो सत्ता बेगरको भूमिकाबाट मात्र सम्भव छैन। त्यसैले पनि थापालाई सत्तामा जान आवश्यक थियो। तर, थापालाई थाहा हुनुपर्छ, उनको सफलतामा देश उज्यालिएको देख्ने करोडौं आँखा सिंहदरबार नियालिरहेका छन्।

प्रतिकृया दिनुहोस