रिपोर्टआइतवार, आषाढ २५, २०७४

ओलीको गृहजिल्लामा एमालेलाई धक्का

हिमालखबर

गोपाल गडतौला, झापा

पुराना नतिजा र एमाले अध्यक्षको गृहजिल्ला समेत रहेको झापामा एमालेको अपेक्षा पूरा भएन ।

गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ । तस्वीरहरुः गोपाल गडतौला

स्थानीय तह निर्वाचनको घोषणा भइरहेको नतिजाले नेकपा (एमाले) को देशव्यापी लहरलाई झपामा भने चुनौती दिएको छ । एमालेका झपा अध्यक्ष चिन्तन पाठक आफ्नै घर रहेको पूर्वी झपाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेलसँग पराजित भए ।

बुद्धशान्ति मात्र होइन, पश्चिम झपाको एमालेको ‘गढ’ गौरादह नगरपालिकामा पनि एमालेले मेयर पद गुमायो । जिल्ला राजनीतिमा खासै चर्चा नपाएका तर स्थानीयमाझ् घुलमिल भएका कांग्रेसका रोहित शाहले एमालेका मदन अधिकारीलाई सजिलै पराजित गरे ।

एमालेले ‘ढुक्कले जित्ने’ ठानेका दुई स्थानीय तहमा नचिताएको पराजयले पार्टी पंक्तिमा एकैसाथ निराशा र आशंका उत्पन्न गराइदिएको छ । पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला र एमालेको जग बसाल्ने २०२८ सालको झपा विद्रोहको थलो भएकोले पनि यो जिल्लाको नतिजालाई सधैं नै विशेष महŒवका साथ हेर्ने गरिन्छ । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन (२०६४) को नतिजालाई अलग गर्ने हो भने २०४६ पछिका हरेक संसदीय र स्थानीय निर्वाचनमा झपामा एमाले नै अग्रपंक्तिमा देखिन्छ । त्यसो त अहिले पनि कुल १५ स्थानीय तह (आठ नगरपालिका र सात गाउँपालिका) मध्ये ६० प्रतिशतमा जितेको एमाले नै जिल्लाको पहिलो पार्टी बनेको छ । “तर, झपामा एमालेको हैसियत यति मात्र थिएन”, एमाले प्रदेश–१ का सदस्य सोम पोर्तेल भन्छन् ।

गुटबन्दी र बेवास्ताको परिणाम
सोम पोर्तेल कामका आधारमा कार्यकर्तालाई पुरस्कृत वा कारबाही गर्ने चलन हट्दै गएका कारण गौरादहजस्तै कतिपय स्थानीय तह गुमाउनु परेको स्वीकार्छन् । २०४३ सालको गाउँपञ्चायत निर्वाचनमा जनपक्षीय उम्मेदवारका रूपमा गौरादहबाट उपप्रधानपञ्च निर्वाचित एमालेका दीपक कार्की २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा पनि गाविस अध्यक्ष बनेका थिए । उनी अन्यत्र एमालेले ठूलो हार बेहोर्दा समेत पहिलो संविधानसभामा गौरादहसमेत समेटिएको झपा–६ बाट भारी मतान्तरले सभासद् विजयी भएका थिए । २०७० सालमा पनि त्यहींबाट सभासद् चुनिए ।

पहिलो चरणमा निर्वाचन भएका तीन प्रदेशमा एउटा मात्र स्थानीय तह जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणमा झपामा भने नसोचेको नतिजा निकाल्यो । राप्रपाले झपा जिल्ला सदस्य बाबुराजा श्रेष्ठलाई गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उठाएको थियो । कांग्रेसको राम्रो प्रभाव भएको गौरीगञ्ज राजवंशीबहुल क्षेत्र हो । तर, श्रेष्ठले सोही समुदायकी कांग्रेसकी उम्मेदवार फूलवती राजवंशीलाई पराजित गरे ।

हिन्दूवादी पार्टी राप्रपाबाट केचनाकवल गाउँपालिकामा अञ्जार आलम अध्यक्षमा निर्वाचित भए । संविधानसभा चुनावमा कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला विजयी झपा–३ अन्तर्गतको गाउँपालिकामा आलमले कांग्रेसकै कालेन्द्रप्रसाद राजवंशीलाई दुई हजारको मतान्तरले हराए । तर, आलमले कांग्रेसकै राष्ट्रिय राजनीतिमा स्थान बनाए पनि बितेका वर्षहरूमा स्थानीय विकासमा सिटौलाको भूमिका कमजोर देखिएका कारण मतदाताले राप्रपा रोजेको स्थानीय कांग्रेस कार्यकर्ताको गुनासो छ । तीन गाउँपालिकामा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेर राप्रपा जिल्लामा तेस्रो बनेको छ ।

प्रदेशकी एक्ली प्रमुख

मेनका काफ्ले, कमल गाउँपालिका अध्यक्ष ।

जिल्लाको कमल गाउँपालिकाका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राईसँग बराबरी (८,२७५ मत) गरेकी एमालेकी मेनका काफ्ले गोलाप्रथामा ‘भाग्यमानी’ ठहरिइन् । यसले उनलाई प्रदेश–१ मा निर्वाचित एक मात्र महिला स्थानीय सरकार प्रमुखसमेत बनायो ।

पहिलो संविधानसभा निर्वाचनमा झपा–२ बाट पराजित काफ्ले एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव हुन् । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा परे पनि उनलाई सभासद् बनाइएन ।

जिल्लामा एमालेले दुईवटा गाउँपालिका र कांग्रेसले एउटामा अध्यक्ष पदमा महिला उठाएको थियो । तर, विजयी हुनेमा काफ्ले मात्र परिन् ।

प्रतिकृया दिनुहोस