नवलपुरलाई छुट्टै जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न नवलपुर क्षेत्रका सांसद र जिल्ला नेताको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न पहल गर्ने आश्वासन दिएको नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले जानकारी दिए ।
नवलपुर क्षेत्र भूगोलमा पनि ठूलो र जनसङख्या पनि धेरै रहेको लगायतका विषय राखेपछि प्रधानमन्त्रीले छुट्टै जिल्ला बनाउन पहल गर्ने आश्वासन दिएको सांसद श्रेष्ठले बताए ।
टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला, एमाले केन्द्रीय सदस्य तिलक महत, कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक घनलाल सापकोटा रहेका थिए ।
संविधानले नवलपरासी जिल्लालाई बर्दघाट पूर्व र बर्दघाट पश्चिम गरी दुई प्रदेशमा विभाजन गरेको छ । रासस