लाचार धनसरा
१८ वर्षदेखि पाठेघर खस्दाको पीडा भोगिरहेकी धनसराको पाँच वर्षअघि आँखाको ज्योति गुमेपछि थप पीडा थोपरियो
लक्ष्मी भण्डारी, सुर्खेत
धनसरा बुढाको आङ (पाठेघर) खसेको १८ वर्ष भयो, त्यसमाथि पाँच वर्षअघि उनको आँखाको ज्योति गुम्यो । सुर्खेतको चौकुने गाउँपालिका–७, गुटुकी ४७ वर्षीया धनसराकोे दिनचर्या अचेल कच्चीघरको पिढीमा झोक्राएर बित्ने गर्छ ।
उनले पहिल्यै पाठेघरको अप्रेसन गर्न खोजेकी थिइन् । तर, सुख–दुःखका साथी श्रीमान्ले नै अप्रेसन गर्न दिएनन् ।
“श्रीमान्ले अप्रेसन गर्न जान दिनुहुन्न, अहिले दोहोरो दुःख सहेर बाँचिरहेकी छु,” उनले पीडा पोख्दै भनिन्, “रोग पालेर, भाग्य सराप्दै बसेकी छु ।”
सम्पतीका नाममा एउटा कच्ची घर र अलिकति पाखो बारी छ । न त आँखा देख्न सक्छिन्, न त राम्रोसँग उठबस गरेर काम गर्न नै ।
कमजोर आर्थिक अवस्थाकै कारण छोरीको १५ वर्षको उमेरमै विवाह भयो । छोरा कामको लागि भारत गएका छन् । घरमा ९४ वर्षीया सासु र धनसरामात्र बस्दै आएका छन्, मदिरामै मस्त हुने श्रीमान् घर आउँदैनन् । ।
धनसरालाई अचेल छर–छिमेकले दिए खान पाउँछिन् नभए भोकै बस्नु पर्छ ।
कहिलेकाहीँ छामछुम गरेर घाँस काट्न जाने गरेको उनले बताइन् । आँसु पुछ्दै उनले भनिन्, “एक दिन त घाँस बोकेर आउने बेला पोखरीमा खसेछु , गाउँलेले देखेका रहेछन् र बचाए ।”
सुत्केरी भएदेखि पाठेघर खस्ने समस्या देखिएको उनले बताइन् । “सुत्केरी हुँदा पनि भरपेट खान पाइएन,” उनले भनिन्, ‘त्यसमाथि घरको काम उस्तै गर्नुपर्ने ।”
कसैले सहयोग गरेमा पाठेघरको अप्रेसन गर्ने चाहना रहेको उनले बताइन् । स्थानीय गणेश देउवाले धनसराको नाजुक अवस्था देखेर खान दिने गरेको बताए । उनले भने, “पाठेघरको अप्रेसनका लागि वीरेन्द्रनगर लैजान्छौ भन्दा श्रीमानले नदिएका कारण समस्या भएको छ ।”