विजयोत्सव मनाउन ओली दमकमा, नमूना शहर बनाउने दाबी
एमाले अध्यक्ष केपी ओलीले आफ्नो दलका उम्मेदवार निर्वाचित भएका स्थानीय तहमा विकास भइछाड्ने दाबी गरेका छन् ।
२४ असार दिँउसो झापाको दमकमा निर्वाचित एमाले उम्मेदवारहरुलाई बधाई दिन आयोजित सभामा बोल्दै ओलीले भने, “हाम्रा जनप्रतिनिधिसँग विकासका योजना छन्, ती कार्यान्वयन गरिन्छ, अब विकास हुन्छ ।”
ओलीले विकास र रोजगारीको ढोका खुल्ने दाबी गर्दै रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य हुने दाबी गरे ।
मत माग्ने क्रममा आफ्ना पार्टीका उम्मेदवारले गरेका प्रतिवद्धता पूरा गर्ने जिम्मा आफूले लिएको बताउँदै उनले अगाडि भने, “अरु पार्टीलाई भोट हालेको भए झमेला हुन्थ्यो, एमालेलाई नै भोट हाल्नुभयो, अव विकासको मुल फुट्छ, दमक देशकै नमूना शहर बन्छ ।”
सभालाई एमाले नेता प्रदीप ज्ञावाली, काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित लगायतले पनि सम्बोधन गरेका थिए ।
गोपाल गडतौला, झापा