बेनी–जोमसोम सडक अवरुद्ध
बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध बनेको छ ।
वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो ।
नदीले करिब २० मिटर सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु् समस्यामा परेका छन् ।
सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ ।
सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौंबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । रासस