पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध
चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक गएराति देखि अवरुद्ध भएको छ । राति करिब साढे १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ ।
पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौँ र पोखरा जाने–आउने सयौं सवारी बीच बाटोमै अलपत्र परेका छन् ।
उक्त ठाउँमा यही भदौ दोस्रो साता पनि पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
चितवनको मुग्लिन–नारायणगढ सडकको कालीखोलामा वर्षाका बेला प्रायः पहिरो जाँदै आएको छ । पहिरोका कारण सो क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको छ । सडक विस्तारको काम चलिरहेकाले सुख्खा समयमा समेत पहिरो खस्ने गर्दछ । रासस