टिप्पणीशनिवार, आषाढ २४, २०७४

सर्पदंशः गरीबका निम्ति विपत्ति

हिमालखबर

कमल मादेन
सरकारले पोलिभलेन्ट मात्र निःशुल्क गरेर गरीब नागरिकप्रतिको दायित्व पूरा भएको देखिएन ।


प्रसिद्ध सरीसृपविज्ञ हर्मन स्लाइसलाई आफूले मोरङको वेतनमा समातेको गोमन देखाउँदै प्रेम बिष्ट । तस्वीरः कुलप्रसाद लिम्बू

सर्पदंशलाई गर्मी क्षेत्रमा हरेक साल आइपर्ने एउटा महामारी मानिन्छ। हुन पनि, विश्वमा प्रतिवर्ष २५ लाख मानिस सर्पदंशबाट प्रताडित हुने गरेको तथ्यांक छ। नेपालमा हरेक वर्ष १५ हजार जति मानिसलाई सर्पले डस्ने गरेको अनुमान छ। ३२ सरकारी, १२ गैर–सरकारी र ३८ वटा सामुदायिक सर्पदंश उपचार केन्द्र रहेको नेपालमा वर्षेनि दुई–तीन सय व्यक्तिको ज्यान सर्पदंशबाटै जान्छ । 

सामुदायिक सर्पदंश उपचार केन्द्रहरू कतै गाउँले मिलेर, कतै नेपाली सेनाले गाविस वा स्थानीय जनतासँग मिलेर खोलेका छन्। झापाको दमकमा रेडक्रस सोसाइटीले सर्पदंश उपचार केन्द्र चलाएको छ। सरकारी, गैर–सरकारी, सामुदायिक सबै सर्पदंश उपचार केन्द्रहरूलाई स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निःशुल्क पोलिभलेन्ट (स्नेक एन्टिभेनम्) उपलब्ध गराउँछ, तर कहिलेकाहीं आवश्यकभन्दा कम। कतिपय उपचार केन्द्रले भारतबाट पोलिभलेन्ट ल्याउने गरेका छन् ।

स्नातकोत्तर क्याम्पस विराटनगरका सर्प अनुसन्धानकर्ता कुलप्रसाद लिम्बूले झ्ापा, सुनसरी, सिरहा र सिन्धुलीका एक/एक सर्पदंश उपचार केन्द्रमा अध्ययन (अप्रिल २०१५–अप्रिल २०१६) गर्दा गोमन, हरेउ (भाइपर) र करेत सर्पबाट प्रताडित हुनेहरू क्रमशः ४७.७, ३४.३ र १७.९ प्रतिशत पाएका थिए। लिम्बूले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा बुझाएको प्रतिवेदनअनुसार, इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा सबभन्दा बढी गोमन र हरेउले डसेका र सिरहाको चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्रमा बढी करेत पीडितहरू पुगेका थिए ।

सर्पदंशका कुल पीडितमध्ये ५७.९ प्रतिशत ११ देखि ४० वर्षका रहेका र ६६.६ प्रतिशत घटना मनसुन अवधिमा भएको लिम्बूको प्रतिवदेनमा उल्लेख छ। कूल पीडितमध्ये ६५.१ प्रतिशतलाई दिनको उज्यालोमा र आधाभन्दा बढीको खुट्टामा सर्पले डसेको पाइएको थियो। तीमध्ये २७.६ प्रतिशत पीडित एकघन्टाभित्रै उपचार केन्द्रमा आइपुगेका थिए। गोमनले डसेकाको उपचारमा करेतले डसेको भन्दा २५ प्रतिशत जति कम पोलिभलेन्ट प्रयोग भएको देखिन्छ। करेतले डसेकालाई ४ देखि ५३ भाइल पोलिभलेन्ट दिइएको प्रतिवेदनमा उल्लेख छ। उपचार केन्द्रहरूले उपचार क्रममा मृत्यु भएकाहरूको अभिलेख उपलब्ध नगराउने भएकाले प्रतिवेदनमा मृत्युको तथ्यांक परेको छैन ।

तराई–मधेश र भित्री मधेशवासीका निम्ति सर्पदंश एक विपत्ति नै हो। बर्खामास लागेपछि उनीहरूलाई सर्पले डस्ला कि भन्ने पीरले रातदिन सताउन थाल्छ। गोमन, करेतजस्ता विषालु सर्पले डसे ज्यान जोगाउन मुश्किल त छँदैछ, प्राथमिक सर्पदंश उपचार केन्द्रमा सिकिस्त बिरामीको उपचार हुन सक्दैन। गोमन र करेतको विषले श्वासप्रश्वास प्रक्रियालाई अवरुद्ध वा पक्षघात गर्ने हुनाले त्यसलाई सुचारु पार्न बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ, तर उपचार केन्द्र र जिल्ला अस्पतालहरूमा त्यो सुविधा हुँदैन। भेन्टिलेटर भएका अस्पताल वा नर्सिङ होममा पुर्‍याएपछि पोलिभलेन्टबाहेक न्यूनतम रु.४०–५० हजार खर्च चाहिन्छ। भाइपर रसेल्सको डसाइ हो भने एक लाखले पनि पुग्दैन। तत्काल यो खर्च जुटाउन नसक्ने गरीब–गुरुवाले त्यत्तिकै मर्नुपर्छ ।

तीन घटना

कुडिया–४ नवलपरासीकी विष्णु भण्डारीलाई २८ चैत २०७१ मा सर्पले डस्यो। उनले राति मुसा खाइरहेको ५२ सेन्टिमिटर लामो रसेल्स भाइपरलाई कुल्चेकी थिइन्, जसलाई मारियो। रसेल्स भाइपर विषालु सर्पमध्ये बढी खतरनाक मानिन्छ। यसको विषले आन्तरिक रक्तस्राव गराएर मानव शरीरको मांसपेशी नष्ट गर्छ। यसको विषले आँखा, कान र गिजाबाट पनि रक्तस्राव गराउँछ। रसेल्स भाइपर नेपालको नवलपरासी र आसपासका केही ठाउँमा मात्र पाइने जानकारी छ । 

सिन्धुलीको कमलाखोंचमा गोमन सर्पले डसेको २५ मिनेटपछि प्रेम बिष्टको आँखामा देखिएको असर (पक्षघात) ।

विष्णु भण्डारीलाई १२ मिनेटभित्रै त्रिवेणीस्थित नेपाली सेनाको बज्रदल गणमा संचालित प्राथमिक सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयो। रसेल्स भाइपरको दाँत ठूलो हुने भएकाले टोकेको प्रष्टै देखियो। असह्य पीडा भइरहेको पीडितले त्यो रात ७/८ पटक रगत पनि मिसिएको कालो दिसा गरिन्। दुईपटक गरेर ६ भाइल पोलिभलेन्ट दिंदा दुखाइ त कम भयो तर, पेट बटारिने र वान्ता रोकिएन। त्यसपछि चितवन ल्याएर भरतपुर जिल्ला अस्पतालमा पाँच दिन आईसीयू र तीनदिन क्याविनमा राखेर उपचार गराउँदा रु.१ लाख खर्च भयो। एकलाख ऋण बोकेर श्रीमती बचाएका नारायण भण्डारी सबै सर्प मार्न पाए, मानिसले पीडा भोग्नुनपर्ने बताउँछन्। तर, कानूनमा लेखिएको छ– सर्प मार्नुहुँदैन; मारे अन्य जंगली जनावर मारेसरह सजाय भोग्नुपर्छ ।

त्यस्तै, विराटनगरका सर्प अध्येता कुलप्रसाद लिम्बू र सर्पप्रेमी प्रेम बिष्ट २०७१ साउनमा अनुसन्धानका लागि सिन्धुलीको कमलाखोंच पुगेका थिए, जहाँ बिष्टलाई गोमन सर्पले डस्यो। उनको उपचार उदयपुरको बेलसोत सैनिक ब्यारेकमा संचालित सर्पदंश उपचार केन्द्रमा गरियो। गोमनले डसेपछि बिष्टमा कस्तो लक्षण देखियो भन्ने विवरण लिम्बू, बस्नेत र स्वयं बिष्टले इटहरीस्थित नेपाली सेनाको ब्यारेकमा भएको कार्यशालामा प्रस्तुत गरेका थिए। जसअनुसार, गोमनले डसेको २० मिनेटमा बिष्टले केही धमिलो र एउटै वस्तुलाई दुईवटा देखेका थिए भने २५ मिनेटमा आँखाको ढक्कन लत्रिएको थियो ।

डसेको ४० मिनेटमा उनलाई उदयपुरस्थित बेलसोत ब्यारेकमा पोलिभलेन्ट दिइयो। ५५ मिनेटमा उनले कान बजिरहेको अनुभव गरेका थिए। त्यसको एकघन्टामा पोलिभलेन्ट थपियो। अर्को एक घन्टामा उनलाई छाती पोल्यो र थुक निल्न असजिलो भयो। उनको स्वर पनि नाके भयो, थुक बढी निस्किन शुरू भयो र पिसाब पनि लाग्यो। गोमनले डसेको दुईदेखि तीन घन्टा बीचमा उनले दुईपटक वान्ता गरे। १४ भाइल पोलिभलेन्ट लगाउँदा केही सुधार त भयो तर जोखिम कम गराउन बिष्टलाई धरान लगियो। बाटामा ४ भाइल पोलिभलेन्ट थपियो ।

गोमनले डसेको ५ घन्टा ५५ मिनेटमा उनी बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए। ६ घन्टामा हल्का टाउको दुख्न र त्यसको आधा घन्टापछि निद्रा लाग्न थाल्योे। अर्को १ घन्टामा हात सुन्नियो। त्यसबीचमा पोलिभलेन्ट थप्दै लगियो। त्यसरी जम्मा ५६ भाइल पोलिभलेन्ट लिएका बिष्ट अस्पताल भर्ना भएको तीन दिनमा डिस्चार्ज भए। डसेको ठाउँमा पीप जमेपछि उनी दशौं दिनमा पुनः सोही अस्पताल भर्ना भए। बिष्टले पोलिभलेन्टको मूल्य भन्दा बढी रकम अन्य शीर्षकमा अस्पताललाई बुझाउनु पर्‍यो ।

सिन्धुलीको लदाभीर–४ का चन्द्रबहादुर तामाङ भने सर्पदंशबाट पैसा नभएकै कारण बाँच्न सकेनन्। ४० वर्षीय उनलाई २८ असार २०७१ को राति सुतिरहेको बेला सर्पले डसेको थियो। आफन्तहरूले राति नै दुधौलीस्थित सर्पदंश उपचार केन्द्र त पुर्‍याए, तर उनको आँखाको ढक्कन लत्रिसकेको थियो। पोलिभलेन्ट दिएपछि पनि सुधार भएन। गोमन, करेतजस्ता सर्पले डस्दा पीडितको आँखा, कान, नाक, मुख र घाँटीमा क्रमशः असर देखिन्छ। अर्थात्, लक्षण टाउकोबाट तलतिर विस्तारै फैलँदै जान्छ र अन्त्यमा श्वासप्रश्वास प्रक्रिया अवरुद्ध भएर ज्यान जान्छ। विषले स्नायु प्रणालीलाई पक्षघात गराइदिन्छ ।

गोमनले डसेको ठाउँमा दाँतको निशान स्पष्ट देखिन्छ र विषको असर पनि १५–२० मिनेटमै देखापर्छ। करेतको भने दाँत साना हुन्छन्, विषको असर पनि ढिलो देखिन्छ। करेतको डसाइ केही चिजले च्वास्स घोचेजस्तो मात्र हुन्छ र दाँतको दाग नदेखिन पनि सक्छ। खुट्टामा दुईवटा मसिना दाग देखिएका चन्द्रबहादुर तामाङले शरीर भतभती पोलेको बताएका थिए। उनले लरबराउँदै 'घाँटी समायो...' भनेका थिए। दुधौलीका उपचारकर्मी रेवतबहादुर बस्नेतले १४ भाइल पोलिभलेन्ट दिइसकेपछि चन्द्रबहादुरलाई धरान लैजान भनेका थिए। तर, एम्बुलेन्स र उपचारमा लाग्ने रकम जुटाउन नसक्दा त्यो सम्भव भएन ।

कालो करेतले डसेको अनुमान गरिएका उनलाई त्यसपछि त्यहीं थप पोलिभलेन्ट (जम्मा ३२ भाइल) दिइयो। कालो करेतले डसेकाको उपचारमा पोलिभलेन्ट मात्रबाट उपचार हुन नसक्ने विभिन्न अनुसन्धानात्मक लेखमा उल्लेख छ। धरान लैजान भनेको पाँच घन्टापछि चन्द्रबहादुरको मृत्यु भएको थियो। पैसा भएको भए उनी बाँच्न सक्थे ।

खर्च रु.२–३ हजार मात्र लाग्ने भए पनि सर्पदंशको प्राथमिक उपचार केन्द्रमा सबै उपचार संभव हुँदैन। गरीब परिवारका सर्पपीडितहरू पैसा नहुनुकै कारण सुविधासम्पन्न अस्पताल पुग्न सक्दैनन्। तसर्थ, सरकारले अस्पतालहरूमा पनि सर्पदंशको निःशुल्क उपचारको व्यवस्था गर्न अत्यावश्यक छ। साथै, लोककल्याणकारी राज्यले सर्पले टोकेर भएको मृत्युलाई पनि वन्यजन्तुबाट भएको क्षतिकै रूपमा लिएर राहत सहयोग निर्देशिका २०६९ को दोस्रो संशोधन २०७४ अनुसार आश्रित परिवार/हकवालालाई रु.१० लाख उपलब्ध गराउनुपर्छ ।

प्रतिकृया दिनुहोस