ब्लगशनिवार, आषाढ २४, २०७४

गोलमाल विश्वसम्पदा सूची

वसन्त महर्जन

युनेस्कोले 'काठमाडौं उपत्यका' भनेको यसभित्रका सातवटा सम्पदास्थल मात्र हो। त्यस वरपरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू युनेस्कोको चासोको विषय होइन ।

पशुपतिनाथ । तस्वीरहरुः बिक्रम राई

काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पक्षको बयान गर्दा प्रायः नछुटाइने वाक्य हो– यहाँभित्र विश्व सम्पदा सूचीमा परेका सातवटा सम्पदास्थल छन्। राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले भने सन् १९७९ देखि नै ती सात स्थललाई बेग्लाबेग्लै नभई एउटा सूचीमा समेटेर एउटै सम्पदाका रुपमा बुझ्ने–बुझाउने गरेको छ। झट्ट हेर्दा सामान्य लाग्ने यस विषयमा गम्भीर प्रश्न गर्ने ठाउँ छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुनु गौरवको कुरा हो। विश्व सम्पदाको दर्जा दिइनुले ठूलो अर्थ राख्छ। युनेस्कोले काठमाडौं उपत्यका र बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा मानेको छ र हाम्रा सम्पदाविज्ञहरुले बोल्ने–लेख्ने अवसर पाउनासाथ एउटै उपत्यकाभित्र सात–सातवटा सम्पदा सूचीकृत भएको आत्मगौरव प्रस्तुत गर्दै आएका छन्। यद्यपि, यसलाई जम्माजम्मी एउटा दर्ता नम्बरले दिएको सातवटा भ्रम भन्न सकिन्छ।

उपत्यकाका सात सम्पदास्थल– स्वयम्भू, पशुपतिनाथ, चाँगुनारायण, खास्ती (बौद्ध), हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई युनेस्कोले किन बेग्लाबेग्लै सम्पदा मानेन? भिन्नाभिन्नै ऐतिहासिक–सांस्कृतिक पृष्ठभूमि, अस्तित्व र महत्वका यी सम्पदाहरु कुन अर्थमा, कसरी एउटै भए? यी प्रश्नहरु युनेस्को र नेपालका सम्बन्धित व्यक्तित्वहरुलाई हो। विश्व सम्पदा सूचीमा सूचीकृत संसारभरका सम्पदाहरुको आ–आफ्नै इतिहास र सांस्कृतिक महत्व छ, जस्तो कि स्वयम्भू, पशुपतिनाथ, चाँगुनारायण, खास्ती (बौद्ध), हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको छ। संसारका सम्पदाहरुले फरक अस्तित्वको मान्यता पाउँछ भने नेपालमा मात्र त्यो किन लागू नहुने? नेपालको हकमा बेग्लै मापदण्ड रहेछ भने त्यो कुरा पनि आउनु पर्‍यो।

स्वयम्भू ।

सातवटा सम्पदास्थललाई बेग्लाबेग्लै नमानेर एउटैमा दर्ता गर्दाको भिन्नतामाथि घोत्लिंदा नेपालका सात सम्पदाको गरिमालाई कम आँकेको देखिन्छ। अहिले गोरखा दरबार, नुवाकोट दरबार र जानकी मन्दिरलाई पनि विश्व सम्पदाको सूचीमा राख्नुपर्छ भनेर पहल भइरहेको छ। त्यो पहल परिणाममुखी भयो भने तिनीहरुको हैसियत छुट्टाछुट्टै हुन्छन् तर तीमध्ये एउटाको समकक्षमा जान काठमाडौंका सात वटालाई मिलाएपछि मात्र सम्भव हुन्छ। सात वटा सम्पदालाई मिलाएर एउटा सूचीमा राख्न सकेका कारण गोरखा, नुवाकोट, जानकी मन्दिर आदिलाई बेग्लाबेग्लै सूचीमा समावेश गर्न सकिंदैन भनेर अर्घेलो लगाउन पनि सक्छ। तर, यस्तो मान्यता विश्वका अन्य देशका सन्दर्भमा लागू छैन। फरक सम्पदाको रुपमा दर्ता हुनुपर्ने काठमाडौंका सात सम्पदालाई एउटैमा खुम्च्याइँदा देखिएको दोस्रो समस्या हो– नखाएको विष लाग्नु वा नगरेको बिगारको दोषभागी बन्नु।

यी सम्पदाहरुको सम्बन्धमा बेलाबखत खतराको सूचीमा राख्ने, हटाइनेजस्ता धम्की वा चेतावनी सुनिन्छ। यस सन्दर्भमा विगतमा औपचारिक छलफल र प्राविधिक निरीक्षण समेत भएको छ। खतराको सूचीमा राख्नैपर्नेगरीको क्रियाकलाप पनि हुने गरेकै छ। तर, यस्तो अटेरी व्यवहार सातवटै सम्पदास्थलमा एकै पटक कहिल्यै पनि भएको छैन। बेग्लाबेग्लै अस्तित्व नभएका कारण एउटा सम्पदास्थलमा बिगार हुँदा सबैले दोषभागी बन्नुपर्ने हुन्छ।

युनेस्कोले विश्वसम्पदा सूचीमा 'काठमाडौं उपत्यका' भनेको यसभित्रका सातवटा ठाउँ मात्र हो। यी सातस्थल वरपरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु युनेस्कोको होइन, हाम्रो चासोको विषय हो। यी सबै स्थललाई समेटेर पूरै उपत्यकालाई सम्पदा क्षेत्र बनाउन बृहत् योजना चाहिन्छ, जुन सातवटालाई नै जोगाउन हम्मे परिरहेको बेला सोम शर्माको कल्पना मात्र हुन जान्छ।

 

 

प्रतिकृया दिनुहोस