कला/साहित्यशनिवार, आषाढ २४, २०७४

काठमाडौंले टाढा जानै दिंदैन

हिमालखबर

अमेरिकामा 'सिर्जनशील लेखन' पढाइरहेका साहित्यकार सम्राट उपाध्यायको नयाँ कथासंग्रह म्याड कन्ट्री यसै महीना प्रकाशित भएको छ। सन् २००१ मा कथासंग्रह अरेष्टिङ गड इन काठमाडौं बाट पश्चिमी साहित्यमा नेपाली स्वाद पस्कन थालेका लेखक उपाध्यायसँग गरिएको कुराकानीको सक्षेपः

तपाईंको कथासंग्रह म्याड कन्ट्री बारे केही बताइदिनुस् न ? 

म्याड कन्ट्री यथार्थताको साक्षीकिनारा हो। यसको यथार्थसँग निकै गहिरो सम्बन्ध छ। यो मेरो सोच र दृष्टिभ्रमसँग पनि सम्बन्धित छ। मैले लेखेका विगतका कृतिभन्दा यो भिन्न छ। मेरो प्रत्येक नयाँ लेखनमा नयाँ खाले स्वाद तपाईंले पाउनुहुनेछ। जस्तो कि, सन् २००६ मा लेखेको द रोयल घोष्ट अहिले सान्दर्भिक देखिएको छ। म्याड कन्ट्री मा अचम्मखाले दुर्व्यवहारको धार समेटिएको छ।

पुस्तकको नाम किन म्याड कन्ट्री राख्नुभयो ?

यो पनि सोचाइकै उपज हो। यो एक सामान्य सफल महिला उद्यमीको कथा हो। जो फरक विचारका कारण पक्राउ पर्छिन् र राजनीतिक बन्दी बनाइन्छिन्। त्यहींबाट उनको पागलपनको शुरुआत हुन्छ। अस्तित्वका लागि उनले पूरै जीवन परिवर्तन गर्छिन्। कथाका अधिकांश पात्रहरू पागलपनका विभिन्न चरणबाट संक्रमित भएका छन्। मैले नेपालको अस्थिर र अशान्त राजनीतिक वातावरणबारे सोचें। 'पागलपन' ले ग्रसित राजनीतिज्ञहरू पनि मस्तिष्कमा आए। कथामा पनि सोही अनुसार काम गरें।

तपाईं किताबमार्फत किन घरी–घरी काठमाडौं फर्किरहनुहुन्छ ?

काठमाडौं जहिल्यै मेरो मस्तिष्कमा छ। काठमाडौंबारे पहिलो पुस्तक अरेष्टिङ गड इन काठमाडौं मा जे लेखें, अवस्था अहिले निकै पर पुगिसक्यो। तर, त्यसमा भएका पात्र र प्रसंगहरू अहिले पनि मेरो दिमागमा ताजै छन्। म यो शहरभन्दा टाढा जानै सक्दिनँ। भन्नैपर्दा काठमाडौंले मलाई टाढा जानै दिंदैन। तपाईं मलाई 'काठमाडौंमा कहिल्यै नबस्ने तर काठमाडौंकेन्द्रित लेखक' भन्न सक्नुहुन्छ। तर, म्याड कन्ट्री मा भने काठमाडौं कम छ।

आफ्ना कुन पुस्तक पढ्न सिफारिश गर्नुहुन्छ ?

भनिन्छ नि, लेखकलाई कुनै एक उत्कृष्ट किताब रोज भन्नु र अभिभावकलाई कुनै एक सन्तान रोज्न लगाउनु उस्तै हो। तर, पहिलो सिर्जना जहिल्यै प्यारो लाग्छ। त्यसैले म अरेष्टिङ गड इन काठमाडौं सिफारिश गर्छु।

अरेष्टिङ गड इन काठमाडौं देखि लेखकका रुपमा उदाउनुभयो, लेखन यात्रा सम्झँदा कस्तो लाग्छ ?

अति सुन्दर। यो मेरो छैटौं पुस्तक हो। कहिलेकाहीं सोच्छु, म भर्खर शुरुआत गर्दैछु। कलाको सिर्जना गर्नु भनेको उँचाइ चुम्नु होइन। तर, कलाले तपाईंलाई उच्च र सम्मानित ठाउँमा सधैं राख्नेछ।

प्रत्येक किताब फरक हुन्छन्, प्रत्येक सोच फरक हुन्छ, त्यसैले प्रत्येक किताब शिशु हुन् जसले हुर्कन सिकाउँछ। कलाको बाटो कठिन हुन्छ तर यसले स्वतन्त्र महसूस गराउँछ। जब म नयाँ सिर्जनामा हुन्छु, म आफैंप्रति आभारी हुन्नँ। नयाँ किताब मेरो लागि नयाँ शिक्षक हो, जसले मैले कहिल्यै अनुभव नगरेको संसारको ढोका खोलिदिन्छ।

वर्षौंदेखि तपाईंले प्रस्तुत गरिरहनुभएको परम्पराविरोधी पात्रलाई पाठकले कसरी लिइरहेको पाउनुभएको छ ?

मलाई मेरा पात्र र त्यसको धरातल परम्पराविरोधी छन् भन्ने लाग्दैन। पाठकले कस्तो देख्छन् त्यो बेग्लै कुरा हो । साहित्य लेखनको इतिहास नै परम्पराविरोधी छ। परम्परालाई तिनले केही हदसम्म मानेका छन् जसले त्यसबाट केही न केही फाइदा उठाउन सक्छन् ।

साहित्य कलाको अनुपम रुप हो। जसले वास्तविक रुपमा सुन्दर र सत्यताको भाव देखाउँछ। म आफ्ना पुस्तकबाट त्यस्ता कुनै ठूला परिवर्तन भएको देख्दिनँ। पाठकमा सामान्य प्रकारको प्रतिक्रिया मात्रै देख्छु, जुन निकै सामान्य हो। त्यसरी हेर्दा त म परम्परावादी लेखक नै हुँ।

अंग्रेजी भाषामा लेखिरहेका नेपाली साहित्यकारहरू किन अपेक्षाकृत प्रगति गर्न नसकिरहेका होलान् ? के कमी देख्नुहुन्छ ?

केही प्रगति भइरहेका छन्। नयाँ लेखकहरू रोचक पुस्तकसहित आएका पनि छन्। तर, साँच्चै मन, वचन र कर्मले अंग्रेजी साहित्यिक क्षेत्रमा आउने लेखक निकै कम छन्। लेखक हुनको लागि तपाईं किताबी संसारमा हराउन र घण्टौं लेखेर बिताउन सक्नुपर्छ। तर केही युवा लेखक वाक्य कसरी लेख्नुपर्छ भन्ने हेक्का नहुँदै चाँडे सफल हुन चाहन्छन्। यो राम्रो होइन।

पछिल्लो दशक दक्षिणएशियाको प्रकाशन उद्योग गृहमा व्यापक विस्तार भएको छ। यसले नयाँ–नयाँ लेखकका लागि अवसर नै अवसर सिर्जना गरेको छ। अहिले नयाँ लेखकले प्रकाशन गृह खोज्दै हिंड्नुपर्ने अवस्था छैन। तर, केही महीनाअघि मात्र भारतका एकजना चलेका लिटेररी एजेन्टसँग कुरा भएको थियो। उनले आफूले नेपालबाट सारै कम पाण्डुलिपि मात्र पाएको बताए। नेपाली लेखकहरू जाग्नुपर्छ।

स्मृति बस्नेत

प्रतिकृया दिनुहोस