शेयर कारोबार कार्तिकदेखि अनलाइनबाट
नेपाल स्टक एक्चेन्जले आगामी २१ कात्तिकदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीबाट गर्ने भएकाे छ । नेप्सेले २३ असारमा पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।
आफ्नो कार्यकाल सकेर बिदा हुन लागेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले शेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताए ।
नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो । प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिए । रासस