दाङको दङ्गीशरणमा भागिराम
करिब एक हजार वर्ष अगाडि दाङमा थारु समुदायका राजाले राज्य गर्थे । राजा दङ्गीशरणको नामबाट नै त्यसक्षेत्रको नाम दाङ रहन गएको मान्यता स्थापित छ ।
उनै थारु राजाको सम्मानमा दाङको एक गाउँपालिकाको नाम दङ्गीशरण राखिएको छ । तर राजाको दरबार रहेको स्थान सुकौरा गाउँ भने तुलसीपुर उपमहानगरपालिकामा पर्छ, दंगीशरण दरबार रहेको ठाउँसँग सीमाना जोडिएको पश्चिम र दक्षिणको क्षेत्र मात्रै दंगीशरण गाउँपालिका भएकोे छ ।
साविक हेकुली, श्रीगाउँ र गोलटाकुरी गाविसलाई मिलाएर बनाइएको हो, दंगिशरण गाउँपालिका । दंगीशरणको दरबार रहेको भनिएको ठाउँ र भग्नावशेष अझै पनि सुकौरामा यथावत नै छ ।
करिब ७० प्रतिशत थारु समुदायको वसोबास रहेको दंगीशरणमा अहिले थारु समुदायकै प्रतिनिधि भागिराम चौधरी एमालेबाट गाविस अध्यक्ष बनेका छन् । दाङका सात गाउँपालिकामध्ये थारु समुदायका अध्यक्ष रहेको गाउँपालिका पनि यही मात्रै हो ।
साविकको हेकुली गाविसमा २०५४ सालको निर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित भए पनि बाँकी दुई गाविसमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको, संविधानसभा निर्वाचनमा पनि नेपाली कांग्रेसकै उम्मेदवार निर्वाचित भएको र पहिलेदेखि नै कांग्रेसको प्रभाव क्षेत्र भएकोले यहाँ कांग्रेसका उम्मेदवार निर्वाचित हुने अनुमान गरिएको भए पनि अध्यक्षमा एमालेले बाजी मार्यो ।
यद्यपि अध्यक्ष र एक नम्बर वडाको अध्यक्ष बाहेक अन्य प्रमुख पदम एमाले उम्मेदवार निर्वाचित हुन सकेनन् ।
यसअघि गैर सरकारी संस्थामा कार्यरत चौधरीले कानूनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । गैर सरकारी संस्थामा संलग्न भई सामाजिक क्षेत्रमा गरेको कामले पनि उनलाई निर्वाचित हुन सजिलो भयो ।
गाउँपालिका क्षेत्रमा राम्रैसँग परिचित र समाजसेवी युवाको छाप बनाएकाले उनलाई जित्न सजिलो भएको स्थानीयहरु बताउँछन् ।
सन्तोष दहित,दाङ