रिपोर्टबिहिवार, आषाढ २२, २०७४

सुरक्षित छैन विद्युत

मस्त केसी

विद्युत्‌को वितरण प्रणाली सुरक्षित नहुँदा मानवीय क्षति हुनेगरिका घटना बढिरहेका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका रुप्सेटारमा रहेको ओम कृषि फार्ममा ३ असार बिहान ११ बजे विद्युत् सर्ट भएर शुरू भएको आगो दुई घण्टामा नियन्त्रणमा आउँदासम्म ६० वटा गाई जलेर खरानी भइसकेका थिए।  बाबुराम कार्कीले सञ्चालन गरेको फार्ममा आगलागीका कारण दुई करोड बराबरको क्षति भएको छ।

त्यही रात भक्तपुरको सल्लाघारीस्थित केडिया अर्गनाइजेशनको यती कार्पेट उद्योगमा आगलागी हुँदा करीब डेढ अर्बको क्षति भयो।

ट्रान्सफर्मर सर्ट भएर लागेको आगो नियन्त्रण गर्न ९ घण्टा लागेको थियो। जुद्ध वारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराई यसलाई नेपालमा विद्युत् सर्टबाट लागेको सबभन्दा ठूलो आगलागी भन्छन्।

गत २२ वैशाखमा काभ्रेको बेथानचोक–१ मा विद्युत् सर्ट भई करेन्ट लाग्दा घरमै बसिरहेकी लक्ष्मी अधिकारीको ज्यान गयो भने सोही गाउँका बिना गोले र टेकप्रसाद तिमल्सिना घाइते भए।

गत वर्ष पनि विद्युत् सर्ट भएर मृतक अधिकारीको पसलमा आगलागी भएको थियो। यसपटक हुरीले ढालेको रूखले ११ हजार भोल्टको तार चुँडाएर गाउँमा वितरण भएको २२० भोल्टको लाइन सर्ट हुँदा लक्ष्मीलाई करेन्ट लागेको थियो।

यी प्रतिनिधि घटनाले विद्युत् कति असुरक्षित छ भन्ने देखाएको छ। नेपालीका लागि आधारभूत आवश्यकताको रूपमा विस्तार हुँदै गइरहेको विद्युत्‌को अव्यवस्थित वितरण र प्रयोगले असुरक्षासमेत बढाउँदै लगेको छ।

आगलागीका अधिकांश घटना विद्युत् सर्टकै कारण हुने गरेका छन्। आगलागीको दोस्रो कारणमा ग्याँस लिक रहेको जुद्ध वारुण यन्त्रका प्रमुख भट्टराई बताउँछन्। उनका अनुसार, अहिलेको विद्युत् वितरण प्रणाली नै खतरापूर्ण छ, जहाँ एउटै पोलमा बिजुलीदेखि टेलिफोन र इन्टरनेटसम्मका तार गुजुल्टो पारिएको छ। त्यसमा आगलागी हुने सम्भावना बढी हुन्छ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ लोडसेडिङ हटेपछि विद्युतीय क्षेत्रबाट हुने दुर्घटना न्यूनीकरण आफूहरूको प्रमुख काम बनेको बताउँछन्।

क्षति न्यूनीकरण
सामान्यतः विद्युतीय उपकरण जडानदेखि प्रयोगसम्ममा सावधानी अपनाउनुपर्छ । प्रयोगपछि नबिर्सी बन्द गर्ने र नियमित रेखदेख, मर्मत गरे दुर्घटना हुँदैन।

कतिपय मानिस एक करोडको घर बनाउँदा वायरिङमा पैसा जोगाउनतिर लाग्छन्, जबकि बत्तीको स्वीच खुकुलो भए सर्ट हुने सम्भावना धेरै हुन्छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिसिङ कमसल तार प्रयोग गर्दा, अर्थिङ नगर्दा पनि विद्युत् सर्टको जोखिम बढ्ने बताउँछन्।

घिसिङका अनुसार, लोडसेडिङ वा अन्य कारणले गएको बिजुली आउँदा ओभर भोल्टेजमा आउँछ, जसलाई तार, स्वीचलगायतका उपकरणले थेग्नुपर्छ। नत्र, विद्युत् सर्ट भएर आगो लाग्छ।

लाइन गएको समयमा एसी, फ्रिज, टिभी, आइरन, राइसकुकर, कुलरलगायतका सामग्री अनिवार्य रूपमा बन्द गर्नुपर्छ। त्यसो गरे विद्युत् सर्टको समस्या टर्ने घिसिङ बताउँछन्।

नियन्त्रणमा चुनौती
साँघुरा गल्ली भएका काठमाडौं उपत्यकाका थुप्रै टोलमा चारपांग्रे गाडी जान सक्तैनन्। त्यसमाथि ट्राफिक समस्या थपिएको छ, जसले गर्दा कतै आगलागी भए उद्धार गर्न कठिन हुन्छ।

४ असारमा विद्युत् सर्ट भएर सावित्री भुषालको घरमा आगलागी हुँदा जुद्ध वारुणको टोली बागबजार त पुग्यो, तर घरसम्म दमकल पुर्‍याउन सकेन। जुद्ध वारुणका प्रमुख भट्टराई साँघुरो गल्लीमा दमकल नछिरेपछि धेरैबेर लगाएर मानिसले नै आगो नियन्त्रण गरेको बताउँछन्।

काठमाडौंमा १२/१३ तलाका अपार्टमेन्ट छन्। काठमाडौं महानगरपालिकाले नै पुरानो बसपार्कमा २६ तले व्यापारिक भवन बनाउन लागेको छ। अग्ला भवनमा आगलागी भए त्यसलाई नियन्त्रण गर्ने उपकरण राजधानीको एकमात्र जुद्ध वारुण यन्त्रसँग छैन।

प्रमुख भट्टराईका अनुसार, जुद्ध वारुणसँग ३० मिटर क्षमताको जम्मा एउटा टावर ल्याडर छ, जसले बढीमा १० तला माथिसम्म पानी फ्याँक्न सक्छ। त्यो पनि बिग्रेको बेला पर्‍यो भने अरू विकल्प छैन।

भट्टराईका अनुसार, नेपालमा बनेका र बन्ने क्रममा रहेका बहुतले भवनमा नियमानुसारको अग्नि नियन्त्रण तथा उद्धारका औैजार–उपकरण सन्तोषजनक छैन। कतिपयमा त त्यस्ता औजार–उपकरण राख्दै नराखेको र राखेकाहरूले पनि झारा टार्ने काम मात्र गरेको भट्टराई बताउँछन्।

सरकारले ७७ वर्षमा एउटा दमकल पनि किनेको छैन। काठमाडौं, ललितपुर र भक्तपुरमा अहिले अनुदानमा पाएका जम्मा सातवटा दमकल चालू अवस्थामा छन्।

दक्ष, अदक्ष गरी जम्मा ५० जना अग्निनियन्त्रकले उपत्यकाको ४० लाख जनसंख्यालाई सेवा दिइरहेको भट्टराई बताउँछन्। उनका अनुसार, जुद्ध वारुणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोग लिने गरेको छ, जो अग्नि नियन्त्रणका लागि दक्ष जनशक्ति होइन।

उपत्यकामा भौतिक संरचना र जनसख्या दिनहुँ बढे पनि सम्भावित आगलागी नियन्त्रणको तयारी भने जुद्धशमशेरकै पालामा सीमित भएको भट्टराई बताउँछन्।

बेलायत सरकारको सहयोगमा १९९४ सालमा जुद्ध वारुण यन्त्र स्थापना हुँदा काठमाडौंका विभिन्न स्थानमा हाइड्राण्डहरू राखिएका थिए, ती ठाउँमा आगलागी भए दमकलले भूमिगत पानी तानेर निभाउन।

हाइड्राण्डबाट जुनसुकै बेला पानी तान्न सकिन्छ, पानी भर्न दमकल अन्यत्र जानु पर्दैन। तर, शहरको नयाँ रूपरेखा कोर्नेहरूले आगलागी हुँदा तत्कालै त्यही ठाउँको पानीले निभाउने अवधारणा बुझेनन्। राणा सरकारले राखेको हाइड्राण्डहरू पनि अहिले त सडक विस्तारको क्रममा हराइसकेका छन्।

 

प्रतिकृया दिनुहोस