दशरथचन्द नगरपालिकाका मेयरलाई काम नगर्न अदालतको आदेश
उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले बैतडीको दशरथचन्द नगरपालिकाका नवनिर्वाचित मेयर नरेन्द्रसिंह थापालाई तत्कालका लागि कुनै कामकाज नगर्न अन्तरकालीन आदेश दिएको छ ।
२१ असारमा महेन्द्रनगर इजलासका मूख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि कामकारवाही नगर्न अन्तरकालीन आदेश दिएको हो ।
दशरथचन्द नगरपालिकाको मत गणनामा धाँधली भएको उल्लेख गर्दै राप्रपबाट मेयर पदका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले २० असारमा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
लख्खाभाइले ‘मत गणना परिणाम बदर गरी पुनः मतगणना गराई पाउँ’ भन्दै रिट निवेदन दिएका थिए ।
रिटमा बैतडीका मूख्य निर्वाचन अधिकृत, मूख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय र नवनिर्वाचित मेयर थापालाई विपक्षी बनाइएको छ ।
नेपाली काँग्रेसबाट उम्मेदवार थापाले ३,७६२ र राप्रपाका लख्खाभाइले ३,७०० मत पाएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो ।