गौरीगन्जमा राप्रपा विजयी
स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
राप्रपाका उम्मेदवार बाबुराज श्रेष्ठ ३,७४० मत ल्याएर गौरिगञ्ज गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फूलवती राजवंशीले ३,४४३ मत प्राप्त गरिन् ।
यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसका दीपेन्द्र थापा निर्वाचित भएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको वडामा कांग्रेसले चार र नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक/एक वडामा जित हासिल गरेको छ ।
कांग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो । रासस