भरिया जिन्दगी (फोटो फिचर)
शब्द/तस्वीरः आरके अदीप्त गिरी
सगरमाथा आरोहण आफैंमा जोखिम हो। त्यसमाथि पसिना पुछ्दै र सुस्केरा हाल्दै आफूभन्दा दोब्बर ठूला भारी बोकेर उकालो चढिरहेका देखिन्छन्, भरियाहरू।
कम ज्याला, महँगो ठाउँ, होटलमा बास पनि नपाएर चिसो बरण्डा वा भर्याङमुनि रात काट्नुपर्ने विवशता। भरियाको जीवन साँच्चै नै कष्टपूर्ण छ।
भरियाविनाको सगरमाथा आरोहण असम्भवप्रायः छ। तर, भरिया ट्रेकिङ कम्पनीहरूले तोकेको न्यूनतम शुल्कभन्दा पनि कममा भारी बोक्न बाध्य छन्। एकपटकको ज्यालास्वरुप रु.८०० देखि रु.१२०० पाउँछन्।
“कमाइले छाक टार्नै मुश्किल हुन्छ”, लामो समयदेखि भारी बोक्दै आएका पावै, सोलुखुम्बुका नन्दराज खालिङ भन्छन् “कसैले 'टिप्स' दिइहाले मात्र बच्ने हो।” सोलुखुम्बुको तल्लो भेग बुङ, छेस्काङ, गदिङ, सोताङ, पासादेखि उदयपुर, ओखलढुंगा र खोटाङसम्मका बासिन्दाहरू खुम्बु क्षेत्रमा भारी बोकेर जीवन निर्वाह गर्छन्।
त्यसो त भारी बोक्न पनि सधैं कहाँ पाइन्छ र? वर्षमा जम्मा दुई सिजन हुन्छ; पर्यटकका लागि, चैत–जेठ र भदौ–कात्तिक। बाँकी समय कामका लागि अन्य विकल्प खोज्नुपर्छ।
यसपाली भने भरियाहरु अलि उत्साहित भए। ज्याला बढेर होइन, काम पाइएर। अघिल्ला दुई वर्ष भूकम्प र नाकाबन्दीका कारण खुम्बु क्षेत्रमा शून्यता छाएको थियो। यस वर्ष खुल्ला गरिएको आरोहणसँगै बढेको पर्यटकको चापले भरियालाई भ्याईनभ्याई भयो ।
आरोही, घुमन्ते पर्यटक, तिनका गाइड र भरियाले नै खुम्बु क्षेत्र व्यस्त देखियो । भरियाबाहेक चौंरी, घोडा, खच्चड तथा हेलिकप्टर ढुवानीका अन्य माध्यम हुन्।
सगरमाथा रुटका होटल तथा लजहरूले भरियाहरूलाई बेवास्ता गर्ने कारण भने बुझिनसक्नु छ। त्यसो त पैसाको पछि मात्र लाग्ने कतिपय होटल व्यवसायीले नेपाली पर्यटकलाई विभेद गरेको बारम्बार सुनिएकै हो। 'पैसा तिरेर बस्छु भन्दा पनि कोठा दिन मान्दैनन्' भरिया दोर्जे शेर्पाको गुनासो छ, 'सिंढी, बरन्डा, मझेरी र किचनको कुनामै रात काट्नुपर्छ।' शेर्पा सेफर्ड ट्राभल कम्पनीका निर्देशक दिनेश तामाङ भरियालाई ठग्ने सिलसिला ट्राभल कम्पनीबाटै शुरु हुने बताउँछन्।
धेरै भरियाको सपना 'गाइड' बन्ने हुन्छ। सोलुखुम्बुका राजन राईलाई गाइड बन्न सके मनग्गे कमाइ हुन्थ्यो भन्ने लाग्छ। तर, कतिपयको जीवन भारी बोक्दाबोक्दै बाटोमै सकिन्छ। भरियाका कामको सम्मान, आर्थिक र प्राविधिक पक्ष व्यवस्थापन नगर्दासम्म 'दिगो पर्यटन' केवल नारामै सीमित हुने देखिन्छ।