टिप्पणीमंगलवार, आषाढ २०, २०७४

मुख्यसचिव सुवेदीलाई प्रतिष्ठाभन्दा पैसाको मोह

शेखर खरेल

जाँदाजाँदै पैसा र पदकप्रति देखाएको मोहले मुख्यसचिव सोमलाल सुवेदीलाई कर्मचारीतन्त्रको 'रोलमोडल' बन्नबाट रोकेको छ ।

आउँदो आर्थिक वर्षसँगै नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी एशियाली विकास ब्यांक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक बन्दैछन्। 'ह्याण्डसम' तलब र प्रशस्त सुविधा हुने यस्तो 'प्लम पोस्ट' का लागि सुवेदीले आफ्नो कार्यकाल राजीखुशीमा छोट्याउने निर्णय गरे। निरपेक्ष रूपमा हेरिंदा वैकल्पिक कार्यकारी निर्देशक पद उनका निम्ति एउटा अवसर थियो, जुन उनलाई उचित लाग्यो। तर, सापेक्षतामा हेर्ने हो भने सुवेदीको निर्णय निजी वा एकल मान्न सकिंदैन। यो निर्णय उनको मात्र नभएर उनको तालुकवाला संस्था अर्थात् सरकारको पनि हो । 

मुख्यसचिव निजामती सेवाको सर्वोच्च पद हो। सरकारले लिनसक्ने, कतिपय अर्थमा लिनुपर्ने संभावित निर्णय मन्त्रिपरिषद्मा लैजाने र त्यसलाई सम्बन्धित निकायबाट कार्यान्वयन गराउनमा मुख्यसचिवको महत्वपूर्ण भूमिका हुन्छ। सरकारका कतिपय प्रस्तावहरू मुख्यसचिवकै निर्भीक र तार्किक अडानका कारण तुहिएका दृष्टान्तहरू एक होइन, अनेक छन्। त्यसमाथि पनि राजनीतिक संक्रमण र 'हङ्ग पार्लियामेन्ट' का कारण सरकारहरू अस्थिर भइरहने हाम्रो जस्तो मुलुकका लागि स्थायी सरकार मानिने कर्मचारीतन्त्रको सर्वोच्च पद मुख्यसचिव यथार्थमा एउटा स्थिर र 'छायाँ' सरकारको प्रतीक पनि हो। त्यसैले पनि मुख्यसचिवको स्वेच्छिक बहिर्गमनलाई व्यक्तिको वृत्तिविकासको साँघुरो लेन्सबाट मात्र हेरिनुहुँदैन ।

सुवेदीको एडीबी प्रकरणले सतहमा ल्याएको सबैभन्दा गम्भीर तथ्य चाहिं राष्ट्रको प्रतिष्ठा हो। त्यसो त यसअघि पनि पूर्व मुख्यसचिव कर्णध्वज अधिकारी, पूर्वसचिवहरू भुवनेश्वर खत्री र रामविनोद भट्टराईलाई पनि यस्तो अवसर जुरेको थियो। तर, उनीहरूले अवकाशपछि मात्र एडीबीको नियुक्ति लिएका थिए। तर, २०७२ को साउनमा मुख्यसचिवमा नियुक्ति पाएका सुवेदीको कार्यकाल २०७५ साउनसम्म बाँकी रहने हुँदासमेत उनले एक वर्षअघि नै अवकाश लिएका छन् ।

यदि सरकार र कर्मचारीतन्त्रको सम्बन्धलाई एउटा जहाजको विम्बमा राखेर हेरिने हो भने अस्थायी सरकारका प्रमुख अर्थात् प्रधानमन्त्री पाइलट हुन् भने स्थायी सरकार अर्थात् कर्मचारीतन्त्रका प्रमुख मुख्यसचिव को–पाइलट। जहाजको मुख्य जिम्मेवारी पाइलटको भए तापनि विमानको सुरक्षित उडान र अवतरणमा को–पाइलटको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। मुख्यसचिवका रूपमा पाएको यस्तो अभूतपूर्व अवसरलाई सुवेदीले शेष जीवनको सुगमताका लगि तिलाञ्जली दिएका छन् । उता, सरकारले पनि एक वर्ष भन्दा पदावधि बाँकी रहेका राष्ट्रसेवकको राजीनामा स्वीकृत गरेर उदारताभन्दा पनि दरिद्र मानसिकता प्रदर्शन गरेको छ ।

भनिरहनु नपर्ला, प्रेसिडेन्ट, डाइरेक्टर र अल्टरनेट डाइरेक्टरहरू हुने एडीबीको संचालक मण्डलमा सुवेदीको भूमिका राष्ट्र संचालन बराबरको एक छेउ पनि हुने छैन। किनकि एशियाकै सदस्य राष्ट्रहरूलाई क्रमानुसार मिल्ने यस्तो पदमा सुवेदीले आफू बराबरकै सहकर्मी शायदै भेट्नेछन्। अवश्य पनि, त्यहाँको नियुक्तिबाट उनले मनग्गे पारिश्रमिक र सुविधा हात पार्नेछन्।

अवकाशपछिको चिन्ता

सार्वजनिक सेवामा रहनेहरू, कर्मचारी हुन् वा सुरक्षा निकाय; अवकाशपछिको जीवनलाई लिएर चिन्तित देखिन्छन्। यस्तो चिन्ता उच्च ओहोदामा अत्यधिक देखिन्छ। जागिरका क्रममा प्राप्त शक्ति र प्रतिष्ठा अवकाशपछि गुम्ने भयका कारण पनि त्यस्तो भएको हुनुपर्छ ।

वृत्तिविकासको प्रचूर अवसर हुँदाहुँदै, सेवा र उमेर हदका कारण पचास वर्ष काट्दै गर्दा सेवानिवृत्त हुनेहरू पनि छन्। यस्तो बेला प्राप्त ज्ञान र अनुभवको उपयोग गर्दै आफूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्ने विकल्पको खोजी गर्नु मनासिव पनि हो । कर्मचारी र करिअर कूटनीतिज्ञले संवैधानिक अङ्ग, राज्यको सल्लाहकार निकाय, राजनीतिलगायतमा आफ्नो दोस्रो इनिङ सफलतापूर्वक निर्वाह गरेका उदाहरण हामीसामु पनि थुप्रै छन्। कतिपयले थिङ्क ट्याङ्क र अध्यापनको बाटो रोजेको पनि पाइन्छ । तर, अवकाशपछि पनि 'सक्रिय' राख्ने नाममा निजामती वा सुरक्षा अङ्गका उपल्लो पदमा रहेकाहरू कुनै निजी कम्पनी, व्यापारिक घराना, अस्पताल आदिका कारिन्दा वा सुरक्षाकर्मी बन्न खोज्नु कति शोभनीय होला ? यस्ता खाले जागिरको उद्देश्य प्रतिष्ठा हुनै सक्दैन। आर्थिक अभावका कारण पनि उनीहरू यस्तो पद सम्हाल्न पुगेको मान्न सकिंदैन। किनकि, राज्यले उनीहरूको सम्यक् जीवनयापनका लागि आजीवन निवृत्तिभरणको भार त उठाइदिएकै हुन्छ। 'गोल्ड' (सम्पत्ति) का लागि 'ग्लोरी' (प्रतिष्ठा) लत्याएका मुख्यसचिव सोमलाल सुवेदीको कदमले कर्मचारीतन्त्र मात्र नभएर मुलुककै साख खस्किएको छ ।

सोमलाल सुवेदीले आफ्नो उर्वर समय निजामती सेवामार्फत राष्ट्रलाई दिएका छन् । दीर्घ सेवावधिमा पनि उनी आर्थिक मुलाहिजामा मुछिएको सुनिएको छैन। तर, कर्मचारीतन्त्र र निजामती सेवा प्रवेश गर्ने भविष्यका आकांक्षीहरूका निम्ति उनी 'रोलमोडल' बन्नबाट भने चुकेका छन्। जब कुनै व्यक्ति प्रतिष्ठाभन्दा पैसाको बाटो रोज्छ, ऊ राष्ट्र र समाजबाट परिवार वा व्यक्तिमा खुम्चिसकेको हुन्छ ।

प्रतिकृया दिनुहोस