ब्लगमंगलवार, आषाढ २०, २०७४

राष्ट्रगानको प्रस्तुतिमा बहुलता

कनक दीक्षित

राष्ट्रगानलाई किन एउटै रिकर्डिङमा सीमित राख्ने र किन विभिन्न राष्ट्रिय भाषामा उल्था गरेर नगाउने?

'सयौं थुँगा फूलका हामी...' राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो नेपालको नागरिक हुनुको विशेष सहुलियत हो। व्याकुल माइलाको शब्द र अम्बर गुरुङको संगीतले यसलाई जनताको धुन बनाइदिएको छ, जसमा भरपूर आफ्नोपन र आत्मीयता छ।

जब 'जय जय नेपाल' को 'क्रेसेन्डो' मा गान एक्कासि रोकिन्छ, गाउनेहरु स्वस्फूर्त ताली पिट्दछन्।

ब्याकुल माइला र अम्बर गुरुङ

यो तालीको परिपाटी नेपालको लागि नयाँ कुरा हो। राजाको स्तुतिगानको रुपमा रहेको 'श्रीमान् गम्भीर...' ले स्वस्फूर्त उत्साहलाई नियन्त्रण गर्थ्यो। रियो ओलम्पिक्स्को बेला बीबीसीको एउटा रिपोर्ट निकै चर्चित भएको थियो, जसमा विशेषज्ञहरुले 'सयौं थुँगा फूलका हामी' लाई संसारकै सुन्नलायक दुई–चार राष्ट्रगानमध्येमा राखेको थियो।

हो, संविधानप्रति केही असन्तुष्टि कायमै रहेका कारण राष्ट्रगानको स्वागत जताततै उत्तिकै नहोला, तर छिट्टै हुन्छ भन्ने लाग्छ। तर, अधिकांश थलोमा पाइने राष्ट्रगानप्रतिको उत्साहले नेपाली नागरिक हुनुको विशेषता पनि झल्काउँछ।

हाम्रो मुलुक र अर्थतन्त्र ठूलो छ, तर त्यति ठूलो पनि होइन कि कुनै नागरिकले लागिपर्दा केही गर्न नसकोस्। यहाँको नागरिकमा लागेको कुरा गर्न सक्ने 'एजेन्सी' भन्ने विश्वास छ, तुलनात्मक रुपमा जो छिमेक मुलुकहरुमा त्यतिकै दरमा पाइँदैन।

त्यसैले हो, २०४६ सालको लोकतान्त्रिक उठानपछि हण्डरमाथि हण्डर खाँदा र खप्दा पनि नेपालमा नागरिकको भविष्यप्रतिको आशा र माटोमाथिको आस्था जहाँको त्यहीं छन्।

मुलुकप्रतिको जनभावना राष्ट्रगानमा प्रस्तुत हुँदा, गाइँदा प्रष्ट प्रकट हुने गर्दछ। गायनमा धेरै नागरिक कण्ठ खोलेर सहभागी हुने गर्छन्, कसैकसैले मुटुमाथि हत्केला राख्छन्, सबैको मनोभावना दुई मिनेटको लागि आफ्नो वतनको वास्तविकता र चुनौतीहरुमा केन्द्रित हुन्छ अनि अन्त्यमा 'क्रेसेन्डो' सहित करतलध्वनि गुन्जन्छ। 

फिलिपिन्समा कानून नै छ, राष्ट्रगान गाउँदा कसैले पर्याप्त उत्साह देखाएन भने जेल चलान गर्ने। भारतमा सिनेमा हलमा राष्ट्रगान बजाउनुपर्ने निर्णय त्यहाँको सर्वोच्च अदालतले गरेको छ। सबैले उठ्नैपर्ने वा नपर्नेमा विवाद जारी छ।

नेपालमा आजैबाट सतर्क बन्नुपर्छ कि राष्ट्रगानलाई जनताले सजिलै र आफूखुशी अपनाउन्, न कि कानूनी आदेश र निगरानीको आधारमा। राष्ट्रगान सिनेमा हलमा बजाउनै/देखाउनैपर्ने आदि/इत्यादि नियम यहाँ नलगाइयोस्।

उभिनैपर्ने नियम पनि नहोस्, यो स्वस्फूर्त हुने अवस्था सिर्जना गरौं। राष्ट्रगानको अपनत्व स्वस्फूर्त होस् र हिमाल, पहाड, तराईका जनताको मुलुकप्रतिको भावना गायनमा सहभागिताको बेला प्रतिबिम्बित होस्।

त्यस्तो सहभागिता बढाउन तीन सुझाव छन्–

एक, गायनको जुन उपलब्ध रेकर्डिङ छ, त्यसमा सीमित नहुने। मूलतः लयमा वफादार रही विभिन्न तरीकाले 'सयौं थुंगा फूलका हामी' प्रस्तुत हुन सक्छ। विभिन्न स्वरमा राष्ट्रगानको रिकर्डिङ उपलब्ध हुने हो भने यो शब्द र संगीत झनै चम्कने छ, गुञ्जने छ।

त्यस्तै विभिन्न वाद्यवादनद्वारा पनि राष्ट्रगानको व्याख्या हुन सक्दछ, मिलिटरी ब्याण्डको प्रस्तुतिदेखि बाँसुरी, सितार र तबलासहितको शास्त्रीय प्रस्तुति। केही वर्षअघि जर्मनीको स्टुट्गार्ट सिम्फोनी अर्केष्ट्राले पनि नेपालको राष्ट्रगान प्रस्तुत गरेको थियो, जुन गर्न पाइन्छ, सकिन्छ।

दुई, नेपालको राष्ट्रगान नेपाली भाषामा मात्र हुनुपर्छ भन्ने छैन। संविधानतः नेपाली भाषाको 'भर्जन' सिफारिश होला, तर सकेसम्म धेरै राष्ट्रिय भाषाहरुमा यसको उल्था र गायन हुनुपर्दछ– मैथिली, भोजपुरी, अवधी, नेपाल भाषा, गुरुङ, मगर आदिमा।

तेस्रो, जहिले सम्भव हुन्छ, संविधान संशोधन गरेर राष्ट्रगानबाट 'रगत' शब्द हटाउने। किनकि हालसालै रगतको खोलो बगेको यस मुलुकमा हिंसा, लडाइँ र काटमारको सम्झना दिलाउनु छैन। फेरि 'वीरहरुको' प्रयोगले पुरुषप्रधान मुलुकको झल्को दिन्छ, जबकि नेपाल बनेको साहस र रगत मात्र होइन, परिश्रम र पसिनाले पनि हो; महिला शक्तिले पनि हो अनि सहअनुभूति, सहकार्य, सहभागिता, सहिष्णुता आदिबाट पनि हो। अनि चनाखो रणनीतिबाट पनि।

मुलुक बन्नलाई यस्ता भावना–मान्यता, क्षमता चलायमान हुँदा पनि वर्तमान राज्यले यी सबलाई समेटेको छ भन्ने होइन। दक्षिणएशियाको सबभन्दा पुरानो र निरन्तर अडेको 'राष्ट्र–राज्य' (नेशन–स्टेट) हो नेपाल, तर राष्ट्रिय भावनाको निर्माण (नेशन–बिल्डिङ) शुरु मात्र भएको छ।

'बहुजन हिताय' छाप लागेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हिसाबले सहिष्णु, उदार राष्ट्रियता निर्माण गर्न यो नयाँ राष्ट्रगानले योगदान दिन्छ नै। सकेसम्म अपनत्व बढाउन गायन र भाषाको बहुलता थपौं यसमा। राष्ट्रगान स्वयंमा बहुल राष्ट्रको बयान छ भने यसको गायन र प्रस्तुतिमा पनि किन त्यस्तो नगर्ने?

प्रतिकृया दिनुहोस