नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा
नारायणगढ–मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
स्तरोन्नति भइरहेको सडक खण्डमा ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि जोखिममा परेका घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ शिवराज सेढाईंका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभारखोला, कालीखोला, टोपे खोलालगायत क्षेत्रमा रहेका घर जोखिममा रहेका छन् ।
पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढाईंले बताए । थप १५ दिनमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिइने बताउँदै उनले तत्काल जीउधनको क्षति न्यूनीकरणका लागि ती घर स्थानान्तरण गर्नुपर्ने बताए । रासस