टिप्पणीसोमवार, आषाढ १९, २०७४

तराई–मधेशः राष्ट्रियता कि देशभावना !

चन्द्रकिशोर

राज्यसँगको सम्बन्ध निर्धारणको सवालमा मधेशलाई फरक ‘राष्ट्रियता’ का रुपमा परिभाषित गर्नु गलत छ । 

मधेशी अधिकारकर्मी वा राजनीतिकर्मीहरूबाट अहिले मधेशलाई छुट्टै ‘राष्ट्रियता’ को रूपमा चिनारी दिलाउने र त्यसलाई स्थापित गर्ने काम भइराखेको छ । मध्यमार्गी मधेशी राजनीतिकर्मीले पनि काठमाडौंसँगको मोलमोलाइमा उपलब्धि हासिल हुन नसक्दा मधेश आफैंमा एउटा ‘राष्ट्रियता’ हो भन्ने घुर्की लगाउने गर्छन् । मधेशको यसखाले चिनारीले एकखाले ‘पहाडी राष्ट्रवादी’ हरूलाई शंकालु बनाउने गरेको छ ।

माओवादीले मधेशमा हिंसात्मक विद्रोह विस्तार गर्न मधेशी आफैंमा एउटा ‘राष्ट्रियता’ भएको प्रचार गरेको थियो । आफूलाई अनुकूल हुने गरी माओवादीले रचना गरेको शब्द र कथनका पछाडि मुलुकको ठूलो हिस्सा भौंतारियो । अहिले आम मधेशीमा यस्ता शब्दको प्रयोग, अभिप्राय र आकांक्षाप्रति कुनै चासो देखिंदैन । यद्यपि, मधेशका असन्तुष्ट मध्यमार्गीहरूले राज्यसँगको संघर्ष जारी राखेको अवस्थामा फरक राष्ट्रियताको व्याख्याले काठमाडौंलाई पिरोलेको छ । त्यही कारण मधेशका जायज चाहना बुझन अटेर मात्र होइन, काठमाडौं क्रमशः प्रतिक्रियात्मक हुँदैगएको देखिन्छ ।

‘मधेश राष्ट्रियता’ ले स्वयं मधेशभित्र पनि ‘हामी’ र ‘उनीहरू’ को भाव बढाउने काम गरेको छ । भारतमा पनि यस्तो हुने गरेको छ । त्यहाँको सामाजिक–राजनीतिक जीवनमा बिहारी राष्ट्रियता, पञ्जाबी राष्ट्रियता जस्ता मुद्दाहरू निरोपित गर्ने काम भइराखेको हुन्छ । तर, जसलाई लक्षित गरेर यस्ता शब्द प्रयोग गरिन्छ, तिनकै माझ् पनि सर्वस्वीकार्य भएको पाइँदैन । न त त्यहाँको केन्द्र अर्थात् दिल्ली संस्थापनले स्वीकार गरेको देखिन्छ ।

मधेशको वञ्चितीकरण र पछौटेपनका ऐतिहासिक कारण छन् । मधेश राजनीतिका मध्यमार्गीहरूले अहिलेको सन्दर्भमा राज्यलाई त्यसमा उत्तरदायी बनाउने नयाँ शब्दको रचना वा खोजी गर्नुपर्छ । भावनात्मक सामीप्यताको त्यस्ता शब्द, जुन माओवादीको व्याख्याभन्दा विल्कुल फरक र मधेशभित्रको धिपधिपे पृथकतावादी चिन्तनभन्दा टाढा र धेरैभन्दा धेरैका लागि स्वीकार्य होस् । मध्यमार्गीहरूले आफ्ना भनाइका शब्दहरूलाई परिमार्जित वा नवसिर्जन गर्न सके भने परिकल्पित लक्ष्य नजदिक हुन सघाउ पुग्नेछ ।

मधेशका मध्यमार्गीहरू लोकतान्त्रिक प्रक्रियाबाट राज्यसँग मधेश र मधेशीलाई एकाकार गर्न प्रयत्नरत छन्, जहाँ आफ्नो पहिचान, प्रतिनिधित्व र पहुँच सुरक्षित होस् । अंग्रेजीको ‘मधेश नेशनलिज्म’ को शाब्दिक अनुवाद ‘मधेश राष्ट्रियता’को प्रयोगले भने अनेकौं भ्रम खडा गरिदिएको छ । यसले एकातिर देशको अर्को भूगोलवासीहरूसँगको संवादलाई सहज हुन दिइराखेको छैन भने अर्कातिर मधेशभित्रैका पहाडीहरूलाई ऐक्यबद्ध पार्नबाट रोकिराखेको छ ।

‘राष्ट्र’ शब्दको प्रयोग ‘राज्य’ को सन्दर्भमा गरिन्छ । मधेश नेपालको अभिन्न हिस्सा भएकोले मधेशको भौगोलिक र सांस्कृतिक पहिचान नेपाली भूगोलभित्र छ । त्यसैले मधेशका मध्यमार्गीहरूले ‘मधेश नेशनलिज्म’ को लागि ‘मधेश देश–भावना’ शब्दावली प्रयोग गर्नु बढी औचित्यपूर्ण र लाभदायक हुन सक्छ । आखिर ‘देश’ भन्नु नै समाज, समुदाय, संस्कृति हो । मधेशका स्थानीय भाषाहरूले पनि देशलाई स्थान विशेष मानेका छन् । ‘मधेश देश–भावना’ बाट अन्य विचारधारा वा समुदाय हच्किने वा तर्सिने पनि छैनन् र मधेशका मध्यमार्गीहरूको भावना–चाहनालाई आकार दिनमा बल पुग्नेछ ।

प्राचीनकालदेखि नै मधेशभित्र विविध सांस्कृतिक–राजनीतिक परम्परा रहिआएको छ । मिथिला र अवधको पहिचान, कपिलवस्तु र सिम्रौनगढको कालखण्डले मधेशभित्र विशिष्टता आर्जेको छ । ‘मधेश’ पहिचान मध्ययुगबाट शुरू भएको हो । अहिलेको सन्दर्भमा भने नेपाली राज्यले नै स्थापित गरेको शब्द हो– ‘मधेश’ । नेपालभित्र जो मधेशी भनेर चिनिन्छन्, तिनकै जस्तो संस्कृति भएका भारतीयहरू कोही उत्तरप्रदेशी, कोही बिहारी त कोही बंंगाली भनेर चिनिन्छन् । देशको दक्षिणी समतलमा बसेर सीमारक्षा गरिरहेका समुदाय, जसलाई नेपालका शासकीय समुदाय र सांस्कृतिक सामीप्यता भएको भारतीयभन्दा पृथक् पहिचान र सम्मानका निमित्त मधेशी चिनारी अनुकूल भइदिएको छ । मधेशी पहिचानको बृहत् दायराभित्र अटाउने बहुभाषा, विविध धर्म र परम्परा भएका यो समुदायको सामाजिक–आर्थिक जीवनमा साझपन भएकोले राज्यसँगको सम्बन्धमा साझ विभेद भोग्नुपरेको छ ।

मधेशभित्रको हरेक तप्कामा ‘मधेशी देश भावना’ बलियो हुँदैगएको छ । पहिलो मधेश आन्दोलनअघि ‘मधेशी’ एउटा सांस्कृतिक समूह थियो, जुन अहिले ‘पोलिटिकल कन्स्टिचुयन्सी’ को रूपमा देखापरेको छ । मधेशमा अहिले मैथिल, अवधी पहिचानभन्दा कि आ–आफ्नो जातिगत पहिचान छ कि त समुदाय आधारित पहिचान । पहिला सामाजिक श्रेणीको रूपमा रहेको जाति अहिले ‘पोलिटिकल कन्स्टिचुयन्सी’ बन्दै गएको छ । पहिल्यैबाट मधेशको राजनीतिक संरचनालाई जातिवादले गति दिने गरेको हो । राज्यसँगको असन्तुष्टिमा मधेशी पहिचान जागृत हुन्छ, दैनन्दिनको राजनीतिमा भने जाति हावी हुन्छ । यस पृष्ठभूमिमा ‘मधेशी देश भावना’ को प्रयोगमाथि विचार गर्ने कि ?

प्रतिकृया दिनुहोस