झापा: रुझ्दै, भेल तर्दै मतदान
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाजस्ता ठूला नेता जन्माएको झापाका मतदाताका सपना भने सामान्य छन्।
गोपाल गडतौला, झापा
दमक नगरपालिका–९, का हर्कबहादुर कुँवर (८१) का तीन छोरा सँगै भएर दशैंमा आशीर्वाद नथापेको ६ वर्ष भयो ।
रोजगारीका लागि खाडी मुलुक गएका उनीहरू कहिल्यै एकसाथ घर आएका छैनन् । “यो चुनावले दशैंमा पीङ हाल्ने, सँगै बसेर मिठोमसिनो खाने दिन ल्याए हुन्थ्यो”, मतदान गर्नुको कारण बताउँदै कुँवर भन्छन् ।
टीनको छानो हाल्न, सन्तानलाई बोर्डिङ स्कूलमा पढाउन, पानी तान्ने मोटर र कुखुरा बिक्रीका लागि मोटरसाइकल किन्न आठ महीनाअघि दमक–९, का चोपलाल राजवंशी कतार लागे । यता, उनकी सुत्केरी श्रीमती धनीदेवीले दूधे बालक काखमा च्याप्दै मतदान गरिन् । “विदेशबाट उहाँले भोट हाल्नु भनेकोले आएँ, खै केही राम्रो भइहाल्छ कि”, उनी भन्छिन् ।
मध्य झापाको शिवसतासी नगरपालिका–७ का करीब १०० परिवारका ३१३ वालिगले पनि १४ असारमा ठूलो कष्ट सहँदै मतदान गरे । कनकाई नदीको भँगालोले काटेर पारि बनाइदिएको लालपानी बस्तीका कतिपय बासिन्दा नदीको उर्लंदो भेलबीच कोही डुंगाबाट त कोही पौडिएरै नदी तरेर पश्चिमका शुक्र मावि र वडा कार्यालयको मतदान केन्द्रमा पुगे । सुगम मानिने शिवसतासी–७ को लालपानी र दमक–९ नलवारी टोलका ७५० मतदाताले भेल तर्दै मतदान गर्नु पर्यो ।
कनकाई नदीमा पुल छैन । शिवसतासी–७ का मोहम्मद हाफिज (६५) तीस वर्षदेखि भोट माग्ने प्रत्येक नेताले पुल बनाउने बाचा गरेको बताउँछन् । “नेताको लहैलहैमा पुल चढेर ओहोरदोहोर गर्ने सपना देखेको पनि त्यति नै वर्ष भयो”, उनी भन्छन् ।
दमक–१० स्थित करीब ७५० मतदाता मावा नदी पश्चिमको नलवारीमा बस्छन् । उनीहरूलाई पनि भोट माग्दै हात जोडेर पुग्ने दलका कार्यकर्ताहरूले अर्काे चुनावसम्ममा मावा खोलामा पुल हालिदिने आश्वासन दिए । आश्वासन पाएका मतदाताहरू जोखिम मोल्दै उर्लंदो खोलो तरेर मतदान केन्द्रसम्म पुगे ।
चर्काे घाम, वर्षा र भेलको मतलबै नगरी उत्साहसाथ मतदान केन्द्रमा घण्टौं लाइनमा लागेर मतदान गर्नेहरूले केही दिन भित्रै स्थानीय तहमा १५ वर्षपछि आफ्ना निर्वाचित जनप्रतिनिधि भेट्ने छन् ।
दमक–९ पाणिनि माविमा रहेको मतदान केन्द्रमा लाइनमा उभिएकी चिया मजदूर विमला मगर (३०) लाई महीना बित्नासाथ ज्याला नपाउने समस्याले पिरोलेको छ ।
“ज्याला नबढेको आठ वर्ष भइसक्यो, त्यो पनि समयमा पाइँदैन”, दुई सन्तानकी आमा मगर भन्छिन् । करीब ४०० मतदाता रहेको हिमालय चिया बगानमा कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रका वडा र नगर तहका उम्मेदवारहरूले व्यवस्थापनसँग कुरा गरेर ज्याला बढाउने, छोराछोरीलाई निःशुल्क पढाउने, खाजा र लुगा भत्ता दिलाउने, क्याम्पस पढ्ने छोरीलाई साइकल किनिदिने जस्ता आश्वासन दिएका छन् । उनी यस्ता अनेक आश्वासनमध्ये एक–दुई वटा मात्र पूरा भइदिए पनि राहत पुग्ने बताउँछिन् ।
दल र तिनका उम्मेदवारहरूप्रति खासै भरोसा नदेखिए पनि निर्वाचनमा मतदाताको उपस्थिति भने उत्साहपूर्ण देखियो । कुल मतदाता ५ लाख १० हजार २१६ रहेको झपामा ७३ प्रतिशत अर्थात् ३ लाख ७२ हजार ४० मत खसेको थियो । निर्वाचनको मुखैमा केही उम्मेदवारका घर, सार्वजनिक स्थल र सडक किनारमा बम भेटिए पनि त्यसबाट मतदाता विचलित भएनन् ।
गौरीगञ्ज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी वितेका दशकमा भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र लोकतन्त्रलाई जनताको तल्लो तहसम्म पु¥याउन स्थानीय निर्वाचनले ठूलो भूमिका खेलेको बताउँछन् ।
“एउटा पुल, बाटो बनाइमाग्न पनि काठमाडौंको आशीर्वाद पर्खनु साँच्चै नै अव्यावहारिक र अनुपयुक्त थियो”, राजवंशी भन्छन् । मध्य तराईका मधेशी र आदिवासीबीच राजनीतिक स्वार्थ भएको तत्वले समस्या नल्याइदिएको भए पूरै मुलुक एउटै गतिमा लम्कन्थ्यो भन्ने उनलाई लाग्छ ।
तराई नै भए पनि झपामा मधेशकेन्द्रित राजनीतिक दलको प्रभाव कम छ । निर्वाचनको केही अघिदेखि नै सिके राउतका र निर्वाचन विरोधी दलको रूपमा चिनिएको नेपाल कम्युनिष्ट पार्टीका एकदर्जन जति कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लामा केही प्रभाव पारेका लिम्बुवानवादी दलहरूमा आएको फूट र तिनीहरूमध्ये केहीले निर्वाचनमै भाग लिएका कारण पनि निर्वाचन शान्तिपूर्ण देखियो ।