टिप्पणीशनिवार, आषाढ १७, २०७४

बुद्धको भाषा

वसन्त महर्जन

पालि र संस्कृत भाषा नजानेकाले बौद्ध दर्शन बुझ्दैनन् भन्नु ज्ञानमाथि कब्जा जमाइरहन चाहने कुत्सित मनसाय सिवाय केही होइन ।

बौद्ध धर्म दर्शन अध्ययनमा यही भाषा नै आधिकारिक हो भन्ने निर्धारण गरिएको छैन। तर बेला–बेला भ्रम सिर्जना गरिएको पाइन्छ। पालि र संस्कृतमध्ये कुनै एक भाषामा पकड नभएसम्म बौद्ध धर्मबारे जानेकै नठान्ने कतिपय 'बौद्ध व्याख्याता' हरू पनि छन्। गौतम बुद्ध र धर्मबारे 'अड्कल पुराण' लगाइरहने उनीहरू वास्तवमा बौद्ध मान्यताभन्दा कोसौं दूरीमा रही भ्रमको खेती गरिरहेका छन् । 

गौतम बुद्धले सबैभन्दा पहिले कुन भाषामा प्रवचन दिएका थिए? यसबारे बौद्धजगतले खासै महत्व दिएको पाइँदैन। वैशाख पूर्णिमा (इ.पू. ५२८) मा बुद्धत्व प्राप्त गरेर उनले असार पूर्णिमामा ऋषिपतनमृगदावन (सारनाथ) मा पाँच भिक्षुसमक्ष धर्म उपदेश दिएको बताइन्छ। ती पाँचै जना भिक्षु गौतम बुद्धजस्तै कपिलवस्तु राज्यका थिए र त्यतिबेला प्रचलित भाषामै उपदेश दिएको सहजै अनुमान गर्न सकिन्छ। तर त्यो बेला कपिलवस्तुमा कुन भाषा प्रचलित थियो भन्ने चाहिं यकिन छैन ।

गौतम बुद्धको विचरणभूमि मुख्यतः मगध, कोशल, पावा, कुशीनगर, वज्जि जस्ता महाजनपदका शक्तिशाली राज्यहरू तथा कपिलवस्तु र कोलिय गणराज्य थियो भने उनका अनुयायीहरूले अलि टाढासम्म पुगेर बौद्ध धर्म फैलाएका थिए। “यी जम्मै भूगोलमा सयौं भाषा हुनु स्वाभाविक हो। जहाँ जुन भाषा प्रचलित छ त्यहाँ त्यही भाषामा उपदेश गर्नु” भन्ने बुद्धको आज्ञाले पनि तत्कालीन समाजमा एकभन्दा बढी भाषा तथा भाषिकाहरू प्रचलित थियो भन्ने बुझिन्छ ।

गौतम बुद्धको समयमा पनि संस्कृत भाषाको प्रचलन थियो। तर, यो जनसाधारणको दैनिक बोलीचालीमा नभई कुलीन तथा प्राज्ञिक वर्गमा सीमित थियो। बुद्धले जनसाधारणको भाषामा उपदेश दिने गरेको केही भिक्षुलाई चित्त बुझेको थिएन। ती भिक्षुहरूको पृष्ठभूमि तत्कालीन वैदिक समाज र संस्कृत भाषाबाट दीक्षित थियो। अन्य धर्मका जस्तै बुद्धका उपदेशहरूलाई पनि संस्कृत भाषामा मानक बनाएर प्रतिष्ठित बनाउनुपर्छ भन्ने उनीहरूको आशय थियो। यी भिक्षुहरूले बुद्ध वचनहरूलाई संस्कृत श्लोकमा ढाली शास्त्रीय बनाउनुपर्ने सुझ्ााव दिंदै यसका लागि अनुमतिसमेत मागेका थिए। तर, संस्कृत एउटा वर्गमा मात्रै सीमित रहेको र त्यसैको आडमा त्यो वर्गले ज्ञानमा पकड जमाएको कुरा बुझ्ोका बुद्धले त्यस्तो अनुमति दिएनन् ।

थेरवादी बौद्धहरू आफ्नो सम्प्रदायका वाङ्मय पालि भाषामा भएका कारण बुद्धले पालिमै उपदेश दिएका र अहिले प्रयोग हुने पालि गाथाहरू बुद्धकै भएको ठान्छन्। तर, ती गाथाहरू बुद्धका आफ्नै वा हुबहु नभई सिंहाली भाषाबाट अनूदित भएको पाइन्छ। बुद्धले जुनै भाषामा उपदेश दिए पनि उनको महापरिनिर्वाण (इ.पू. ४८३) को तीन महीनापछि राजगृह (मगध राज्यको राजधानी) को वेभार पर्वतको सप्तपर्णी गुफामा ६ महीना लगाएर उपदेशहरू एकत्रित गर्दा एउटै भाषामा आएको अनुमानसम्म गर्न सकिन्छ। तर कालान्तरमा ती उपदेशहरू भारतीय भूमिबाटै हराएको प्रसंग पनि पाइन्छन्। यस्तो अवस्थामा सिंहाली भाषामा सुरक्षित उपदेशहरू ल्याउन भिक्षु बुद्धघोषलाई इसाको छैटौं शताब्दीमा श्रीलंका पठाइएको पाइन्छ। सिंहालीका उपदेशलाई पालि भाषामा अनुवाद गराएकाले भारतमा पालि बौद्ध वाङ्मय पुनः प्रचलनमा ल्याउने श्रेय उनै बुद्धघोषलाई नै जान्छ। थेरवादी बौद्ध साहित्यका अट्ठकथा (अर्थकथा वा टीका) हरू पनि श्रीलंकाको पुरानो परम्परामा आधारित भएर लेखिएको छ ।

बौद्ध दर्शनका आचार्यहरूले दर्शनको विभिन्न पक्ष व्याख्या गर्ने क्रममा अनेकौं निकाय (सम्प्रदाय) हरूको विकास भएको हो। यस क्रममा पालि भाषा छाडेर संस्कृत भाषा अपनाएको पाइन्छ। महायान बौद्ध धर्मका ग्रन्थहरू संस्कृत भाषामा हुनु यसको बलियो उदाहरण हो। पालि र संस्कृतमा रहेका ग्रन्थहरू नै तिब्बती, चिनियाँ र अन्य भाषामा अनुवाद गरिएका हुन् ।

भाषा बौद्ध धर्मका लागि संचारमाध्यम मात्र हो। त्यही भएर बौद्ध ग्रन्थहरू सकेसम्म धेरै भाषामा अनुवाद गरिएको देखिन्छ। यही क्रममा नेपाली भाषामा पनि बौद्ध वाङ्मयहरू प्रकाशन हुने क्रम बढ्दो छ। त्यसकारण पनि बौद्ध धर्मको आधिकारिक अध्ययनका लागि पालि वा संस्कृत भाषाको मापदण्ड घातक अवधारणा हो। पालि भाषा थेरवादी बौद्ध वाङ्मयमा सीमित छ भने संस्कृतको माध्यमबाट थेरवादी बौद्ध दर्शनमा पहुँच बनाउन सकिन्न। संस्कृत महायान बौद्ध ग्रन्थहरूका लागि मात्रै हो। यस्तो अवस्थामा अनूदित ग्रन्थहरू नै उपलब्ध विकल्प हुन्। तर, ग्रन्थको सही अनुवाद भने अत्यन्त संवेदनशील पक्ष हो ।

यहाँनेर बौद्ध धर्म अध्ययनमा पालि र संस्कृतको मापदण्ड बनाउनुको सोझ्ाो अर्थ ज्ञानमा कब्जा जमाउने र अन्य भाषाका अनूदित ग्रन्थमार्फत अध्ययन गरेकालाई 'अनधिकृत' को ठप्पा लगाउने स्वार्थबाट प्रेरित छ। जबकि पालि र संस्कृतका ठेली जानेकाहरूलाई नै अनूदित ग्रन्थ पढेकाले बौद्ध दर्शन बुझाइदिनुपर्ने अवस्था छ ।

प्रतिकृया दिनुहोस