रिपोर्टशनिवार, आषाढ १७, २०७४

नसिकाउने विद्यालय

हिमालखबर

प्रजित बाजपेयी, कालीकोट 

अधिकांश बालबालिकामा लेखपढ गर्न सिक्नुअघि नै विद्यालयप्रति नकारात्मक धारणा बनिसकेको हुन्छ ।

मोर्डन मोडल रेसिडेन्सियल स्कूलको कक्षामा विद्यार्थी । तस्वीरः प्रजित बाजपेयी

कालीकोट, लालुगाउँको डाँडाबाट पूर्वतिर हेर्दा मध्यपश्चिम नेपालको यो सुन्दर पहाडी इलाकामा पर–पर पाँचवटा विद्यालय ठम्याउन सकिन्छ । 

कालीकोटको शिक्षा विद्यालय अभावका कारण पछि परेको होइन। प्राथमिक र पूर्वप्राथमिक तहमा भइरहेको शिक्षणको गलत तरिकाले भर्खरै विद्यालय जान थालेका नानीहरूको विद्यालयप्रति कत्ति पनि आकर्षण छैन, जसले उनीहरूको भविष्यमै नकारात्मक असर पारिरहेको छ ।

प्राथमिक तहको शिक्षा राम्रो नभए माथिल्लो कक्षामा पनि सफलता प्राप्त हुँदैन भन्ने धेरै अनुसन्धानबाट प्रमाणित भइसकेको छ। तीन वर्षअघि देशभर गरिएको सर्वेक्षणले कक्षा–२ का एकतिहाइ र कक्षा–३ का १९ प्रतिशत विद्यार्थीले नेपाली शब्द पढ्न समेत नसकेको देखाएको थियो ।

कालीकोटको अवस्था त झ्नै कहालीलाग्दो छ। यहाँ नर्सरी कक्षाका बालबालिकालाई पनि कलेजको जस्तो व्याख्यान दिएर पढाउने चलन छ । स–साना नानीहरूलाई खेलकुद र अन्य गतिविधिमा सहभागी बनाउनु र व्यावहारिक ज्ञान दिनुको सट्टा पाठ घोक्न लगाउनुमै सबै शिक्षकको ध्यान हुन्छ। पाँच वर्षका बालबालिकालाई कक्षामा वर्णमाला, अंक र गुणन पाठ गराइन्छ, र घरमा किताब घोकेर परीक्षाको तयारी गर्छन् ।

सबै उमेर समूह र कक्षाका विद्यार्थीले पढ्ने तरिका एउटै हो भन्ने मान्यताले गर्दा प्राथमिक र माथिल्लो तहमा शिक्षणको तरिका एउटै छ । सबैमाथि लादिएको यो घोकन्ते तरिकाले शिक्षामा सुधार आउने कुरै भएन अनि पढाइमा ध्यान नदिएको भन्दै सबै दोष विद्यार्थीमाथि लगाइन्छ। घरबाहिर वा विद्यालयमा खेल्ने कामलाई पूर्ण निरुत्साहित गर्दा लेख्न र पढ्न सिक्नुअघि नै बालबालिकाले विद्यालयलाई घृणा गर्न सिकिसकेका हुन्छन् ।

सरकारी पाठ्यक्रमले भाषा शिक्षणमा सुन्ने र बोल्नेलाई प्राथमिकता दिएको छ तर, यहाँका विद्यालयमा शिशु कक्षाका विद्यार्थीले पनि लेखेरै परीक्षा दिनुपर्छ। त्यसले गर्दा धेरै बालबालिकालाई कक्षा उक्लिन धौ–धौ पर्छ । ८–९ वर्षको उमेरमा पनि नर्सरी कक्षामा पढिरहेकाहरू थुप्रै छन्। प्राथमिक कक्षामा किशोरकिशोरी हुनु त सामान्य नै हो। बालबालिकाको सीप परीक्षण गर्ने उपयुक्त परिपाटी नहुँदा उनीहरूको क्षमताको पूर्ण मूल्यांकन पनि हुन पाएको छैन ।

भाषा सम्बन्धी योग्यताको विकासमा जोड नदिंदा र राम्रोसँग पढ्न नसिक्दै प्राथमिक कक्षामा उक्लिएका केही बालबालिका उमेर बढ्दै जाँदा पढाइमा झ्न्झ्न् कमजोर हुँदै जान्छन्। एउटा विद्यालयका कक्षा–३ का बालबालिका र किशोरकिशोरीले साधारण चित्र–पुस्तक हेरिसकेपछि आफूले देखेका कुराहरू छोटकरीमा भन्न पनि सकेनन् ।

सरकारले निर्धारण गरेको प्राथमिक तहको पाठ्यक्रममा आधारभूत शिक्षाका लागि क्रियाकलापमा आधारित शिक्षण र निरन्तर उमेर–सुहाउँदो मूल्यांकन प्रणालीमा जोड दिइएको छ। जसअनुसार विद्यार्थीलाई माथिल्लो कक्षा उक्लन परीक्षा दिनुपर्दैन। मूल्यांकन गर्दा अंकमा नम्बर दिनुको सट्टा ग्रेड दिने र ग्रेडमा 'फेल' नहुने व्यवस्था छ। तर, कालीकोटका शिक्षकहरूले यो पद्धतिबारे थाहा नभएर हो वा शिक्षणको नयाँ पद्धति अँगाल्न थप सक्रियता देखाउन झ्न्झ्ट मानेर हो यो व्यवस्थालाई पूर्णतः बेवास्ता गरिरहेका छन् ।

नेपालका ७५ जिल्लामध्ये मानव विकास सूचकांकमा कालीकोट ७३औं स्थानमा छ। प्राथमिक शिक्षामा प्रगति नहुँदा शैक्षिक स्तरमा एक दशकमा कुनै परिवर्तन आएको छैन। अतिदुर्गम यो जिल्लामा केही पनि सजिलो छैन । नयाँ विमानस्थल छ तर विमान उड्दैन। सुर्खेत जाने सडक निर्माण भएको दुई वर्ष नपुग्दै जीर्ण भइसकेको छ ।

यहाँ केही निजी विद्यालयहरूले अभिभावक आकर्षित गर्न अंग्रेजी माध्यममा अध्यापन गराइरहेका छन्। कुनै एउटा भाषामा राम्रोसँग पढ्न सक्ने विद्यार्थीको सिकाइको समग्र सीपमा सुधार हुनुका साथै उनीहरूले अर्को भाषा पनि सहजै सिक्न सक्छन् भन्ने विभिन्न अध्ययनहरूबाट पुष्टि भइसकेको छ। तर, यहाँका 'बोर्डिङ' स्कूलहरूका बालबालिकालेे 'खराब अंग्रेजी' सिकिरहेका छन्। शिक्षक स्वयम्लाई अंग्रेजी भाषा राम्रोसँग आउँदैन। त्यसकारण यस्ता 'बोर्डिङ' स्कूलमा जाने बालबालिकाहरूले अंग्रेजी राम्रो नसिक्ने त छँदैछ सरकारी विद्यालयमा पढ्दा जानेको थोरै नेपाली भाषाको सीप पनि गुमाइरहेका छन् ।

एउटा प्रेरणा

कालीकोटको एउटा विद्यालयमा अहिले परम्परागत शिक्षण पद्धतिमा परिवर्तनको प्रयास भइरहेको छ। लालु गाउँस्थित 'मोर्डन मोडल रेसिडेन्सियल स्कूल' कर्णाली क्षेत्रकै गैर–नाफामूलक निजी शिक्षण संस्था हो। 

राम्रा शिक्षकहरूको प्रबन्ध मिलाउन जहिल्यै रकमको अभाव व्यहोरिरहेको यो विद्यालयले अहिले विभिन्न संस्थाहरूको सहयोगमा गरेको सुधार अन्य विद्यालयका लागि प्रेरणा बनेको छ। यसको मुख्य उद्देश्य परम्परागत घोकन्ते तरिकालाई विस्थापित गरेर बालबालिकालाई खेल र बाह्य क्रियाकलापका माध्यमबाट रचनात्मक र जानकार बनाउनु हो ।

'रुरल टिचिङ फेलोशिप' अन्तर्गत लियो क्लबसँगको साझेदारीमा विद्यालयमा योग्य र प्रेरणादायी शिक्षकहरू ल्याइएको छ। टुहुरा र अति गरीब परिवारका बालबालिकाका लागि छात्रावासको समेत व्यवस्था गरिएको छ। विद्यालयको आय आर्जनका लागि बाख्रापालन र तरकारी खेती पनि शुरू गरिएको छ ।

(अमेरिकास्थित डार्टमाउथ कलेजका पूर्व छात्र बाजपेयी कालीकोटमा शैक्षिक उन्नयनमा सक्रिय छन्।) 

प्रतिकृया दिनुहोस