ब्लगशनिवार, आषाढ १७, २०७४

नेपाली वन 'सरकारी भ्रम'

हिमालखबर

कमल मादेन

सरकारी प्रतिवेदनमै नेपालको कुल वनमध्ये ०.१ प्रतिशत क्षेत्रफल ढाकेको भनिएको 'जुग्लान्स् वालिचियना' रुखको प्रजाति यहाँ मात्र होइन, संसारमै भेटिन्न ।

बाग्लुङको ढोरपाटन क्षेत्र । तस्वीरः कमल मादेन

नेपालको वन स्रोतको सर्वेक्षण गरी उपयुक्त रणनीति तर्जुमा गर्न फिनल्यान्ड सरकारको सहयोगमा सन् २०१०–१४ मा सञ्चालित 'फरेष्ट रिसोर्स एसेस्मेन्ट (एफआरए) नेपाल' परियोजनाअन्तर्गत २०१५ मा स्टेट अफ नेपाल्स् फरेष्टस् प्रतिवेदन प्रकाशित भयो। वन मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा सर्भेक्षण विभागले यति धेरै रकम र श्रम खर्च गरी निकालेको प्रतिवेदन नियाल्ने हो भने केही उदेकलाग्दा 'तथ्य' भेटिन्छन् । 

प्रतिवेदन भन्छ– 'जुग्लान्स् वालिचियना' जातिको रूखले नेपालको कुल वन क्षेत्रमध्ये ०.१ प्रतिशत अर्थात् ५ हजार ९६२ हेक्टर क्षेत्र ढाकेको छ। प्रतिवेदनमा उल्लिखित नक्शांकन अनुसार, यो जातिको रूख उच्च पहाडी तथा हिमाली भेगमा देखिन्छ ।

वनस्पति जगतमा 'जुग्लान्स्' लाई ओखर जाति (जिनस) भनिन्छ। नेपालमा ५०० भन्दा बढी रूखका प्रजाति रहेको अनुमान छ। ती प्रजातिमध्ये कुनैले उल्लेख्य वन क्षेत्र ढाकेका भए त्यस्ता वनले त्यही प्रजातिबाटै नाम पाएका छन्। बेलायतका जेडीए स्टेन्टनद्वारा सन् १९७२ मा लिखित 'फरेष्टस् अफ नेपाल' लाई नै अहिलेसम्म उपलब्ध वन पहिचानको आधिकारिक दस्तावेज मानिन्छ। स्टेन्टनले उबेला नेपालका ३५ किसिमका वनमध्ये २५ को नामकरण प्रजातिकै नामका आधारमा गरेका हुन् । तर, उनको सूचीमा पनि 'जुग्लान्स् वालिचियना' कतै भेटिन्न ।

यति मात्र होइन, यो नाम गरेको वनस्पति संसारमै देखिन्न। विश्वभरका वनस्पतिका नाम समेटिएको 'दि इन्टरनेशनल प्लान्ट नेम्स् इन्डेक्स' मा पनि 'जुग्लान्स् वालिचियना' को अस्तित्व भेटिन्न। वैज्ञानिकले गरेको यसखाले गल्तीलाई सरकारले मान्यता दिंदा विश्वमाझ् गलत ज्ञान प्रवाह हुने खतरा देखिन्छ। विज्ञानमा यस्तो गल्ती अक्षम्य मानिन्छ ।

यूरोपमा मात्रै पाइने लौठसल्लाको प्रजाति 'ट्याक्सस् बकाटा' नेपालमा पनि पाइन्छ भन्ने यस्तै अर्को भ्रमलाई अहिले पनि वनस्पतिशास्त्रका विद्यार्थी पढिरहेका छन्, गुरुहरू पढाइरहेकै छन्। त्यति मात्र होइन, यो गल्ती वन नियमावली–२०५१ मै छापिएको छ।

अनुसन्धानमै शंका

एफआरए परियोजनाले सर्वेक्षणका क्रममा फेला परेका रूखका प्रजाति समेटेर प्रकाशित गरिएको चुरिया फरेष्ट अफ नेपाल शीर्षकको प्रतिवेदनमा भने ओखर जातिको 'जुग्लान्स् रेजिया' मात्रै फेला परेको उल्लेख छ। तर, स्टेट अफ नेपाल्स् फोरेष्टस् मा भने 'जुग्लान्स् वालिचियना फरेष्ट' नै किटान गरिएको छ। एउटै परियोजनाका दुई प्रतिवेदनका फरक तथ्यले सबैमा भ्रम छरेको छ ।

सर्भेक्षण क्रममा फेला परेका वनस्पतिलाई पूर्वप्रकाशित तीन वटा पुस्तकमार्फत पुष्टि गरिएको भनी प्रतिवेदनमा लेखिएको छ। जसबाट जम्मा ४४३ रूख प्रजाति फेला परेको बताइएको छ। तर, प्रजातिका सूची मूलतः जेआर प्रेस, केके श्रेष्ठ र डीए सुटन लिखित 'एनोटेटेड चेकलिष्ट अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल' पुस्तकबाट साभार गरिएको सहजै अनुमान गर्न सकिन्छ। कारण, पुस्तकमा झैं प्रतिवेदनमा पनि सुन्तला, लिच्ची, कागती आदि समेतलाई जंगली रूख मानिएको छ। पुस्तकमा नेपालमा ६९६ प्रजाति रूख, झाडी वा झाडीदार लहरा हुनसक्ने लेखिएको छ। त्यसमध्ये करीब ७५ प्रतिशत रूख प्रजाति भएको अनुमान गर्न सकिन्छ ।

परियोजनाको वनस्पति पहिचान गर्ने विधि नै अपरिपक्व देखिन्छ। त्यो किन पनि भने, स्थलगत सर्वेक्षणमा सबै वनस्पति चिन्न साध्य हुँदैन। त्यस्ता पहिचानले मान्यता पनि पाउँदैन। वनस्पतिको आधिकारिक पहिचानका लागि नमूना (हर्वेरियम स्पेसिमेन्स्) संकलन गर्नै पर्छ। झाडी, लहरा, रूख भए तिनका फूलसहित पात भएको सानो टुप्पो संकलन गरिन्छ। फूल नभए फल लिइन्छ। झ्ार भए जरासँगै संकलन गरिन्छ। त्यस्ता नमूना विभिन्न प्रविधिबाट प्राकृतिक रंगमै सुकाएर बाक्लो सेतो साढे ११ इन्च चौडा र साढे २९ इन्च लम्बाइको ड्रइिङ पेपरमा टाँसिन्छ। जसमा वनस्पतिलाई कहाँ, कहिले, कसले संकलन गरेको भन्ने विवरणसहितको लेवल पनि टाँसिन्छ। त्यसलाई विज्ञले पहिचान गर्छन्। विज्ञले तत्काल पहिचान गर्न नसकेका वनस्पतिलाई हर्वेरियम हाउसमा पुर्‍याई पहिल्यै पहिचान गरिएका नमूनासँग दाँजेर संकलित नमूनाको वैज्ञानिक नाम पत्ता लगाइन्छ। तर, यो परियोजनाले वनस्पति पहिचान गर्ने यो प्रक्रिया पछ्याएको देखिंदैन। वैज्ञानिक विधि नै नअपनाएपछि गल्ती त हुने भइहाल्यो ।

अर्को उट्पट्याङ

वन मन्त्रालयले सन् २०१६ मा 'फरेष्ट्री सेक्टर स्ट्राट्जी (२०१६–२०२५)' सार्वजनिक गरेको छ। जसमा नेपालको कुल क्षेत्रफलको ३९.६ प्रतिशत वन र बुुट्यानले ढाकेको र सन् २०२५ सम्ममा कम्तीमा ४० प्रतिशत भू–भाग वन र बुट्यानले ढाक्ने रणनीति लिइएको जनाइएको छ।

तर, सन् २०१५ डिसेम्बरमा प्रकाशित एफआरए प्रतिवेदनमा त्यतिबेलै कुल क्षेत्रफलको ४०.३६ प्रतिशत भूभाग वनले ढाकेको भनिएको छ। जसमा थप बुट्यान क्षेत्र ४.३८ प्रतिशत छ। वन तथा बुट्यान जोड्ने हो भने जम्मा ४४.७४ प्रतिशत भू–भाग त अहिले नै ढाकेको देखिन्छ।

एक वर्षबीचमा वन मन्त्रालयबाटै प्रकाशित यी दुई दस्तावेज हेर्ने हो भने नेपालको कति प्रतिशत क्षेत्रफल वन र बुट्यानले ढाकेका रहेछन् भन्नेमा भ्रम उत्पन्न गराउँछ। वैज्ञानिक मत अनुसार, पछिल्लो प्रकाशनको तथ्यांकलाई नै आधिकारिक मानिन्छ। यस हिसाबले एफआरए नेपालको तथ्यांक पनि गलत मान्नुपर्ने हुन्छ।

तर, एफआरए नेपाल परियोजनाले गरेको खर्च, अनुसन्धानमा प्रयुक्त अत्याधुनिक प्रविधिले सहजै सन्देह जनाउन पनि सकिंदैन। तर कुन तथ्य हो र कुन मिथ्या? यसबारे वन मन्त्रालयसँग जवाफ मागिनु अतिशय लाग्दैन। किनभने यो त अशोभनीय मात्र होइन, राष्ट्रिय लज्जाको विषय हो।


स्टेन्टनको खोज

सन् १९७२ मा जेडीए स्टेन्टनद्वारा लिखित 'फरेष्टस् अफ नेपाल' नै अहिलेसम्म उपलब्ध वन पहिचानको आधिकारिक दस्तावेज हो। स्टेन्टन सन् १९५४ देखि १९६९ सम्म वनस्पति संकलन गर्न १० पटकसम्म नेपाल आएका थिए। उनी वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायत अन्य वनस्पतिविद्सँग नेपाल घुमेका थिए। डा. केशवराज राजभण्डारी लिखित 'फ्लोरा अफ नेपालः टु हन्डे्रड इयर्स मार्च' आलेखका अनुसार, नेपालको धेरैजसो भूभागमा पुगेर वनस्पति संकलन गर्ने पहिलो व्यक्ति स्टेन्टन नै हुन्। उनी प्रत्येक पटक नेपाल आउँदा ६–७ महीना फिल्डमै बिताउँथे, उनको टोलीमा मालसामान बोक्नकै लागि ७०–८० जनासम्म हुन्थे ।

आफूले संकलन गरेका वनस्पति नमूनाहरू पहिचान गर्न उनले विश्वविख्यात वनस्पतिविद् हिरोशी हारालाई ६ महीना बेलायतमै निमन्त्रणा गरेका थिए। कारण, स्टेन्टन स्वयं वनस्पतिविद् थिएनन्, धनाढ्य कानूनविद् थिए। उनीद्वारा संकलित वनस्पतिका नमूना अहिले पनि बेलायतका संग्रहालय र केही गोदाबरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा पनि छन्। कुनै वनस्पतिको वैज्ञानिक नाममा स्टेन्टोनी भेटिए त्यो उनकै सम्मानमा वा उनैले पत्ता लगाएका वनस्पति हुन् भनी बुझे हुन्छ, जुन प्रशस्त छन् ।

प्रतिकृया दिनुहोस