खेलकुदशुक्रवार, आषाढ १६, २०७४

पोखरामा कभर्ड हल बन्ने

हिमालखबर

पोखराको लेखनाथस्थित भण्डारढिकमा रु. ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल तथा स्थानीय आदर्श युवा क्लबको संरक्षणमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्न लागिएको हो ।

सन् २०१९ मा नेपालमा हुने सार्कस्तरीय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सो स्थानमा ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइको निर्माण हुने कभर्ड हलभित्र विभिन्न प्रकारका खेल खेल्ने सुविधा प्राप्त हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले कभर्ड हलको शिलान्यास गरे ।

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभास खड्काले युवालाई खेलकुदतर्फ आकर्षण गर्नका लागि व्यवस्थित खेलमैदान आवश्यक पर्ने खाँचो औँल्याए । रासस

प्रतिकृया दिनुहोस