दमकमा मतगणना स्थगित
झापाको दमक नगरपालिकामा मगतणना स्थगित भएको छ ।
नगरको १ नम्बर वडामा राप्रपाका उम्मेदवार तारा अधिकारी र एमालेका उम्मेदवार हरि न्यौपानेको मत बराबर भएपछि उत्पन्न तनावका कारण मतगणना स्थगित भएको हो ।
उक्त वडामा राप्रपाका उम्मेदवार अधिकारी विजयी भएको भन्ने प्रचार भइसकेको थियो । आधिकारिक रुपमा मत परिणाम सार्वजनिक नगरिएको भए पनि पहिले राप्रपाका उम्मेदवार विजयी भनिएको र पछि दुवैको मत बराबर बताइएकाे भन्दै एमाले बाहेकका दलहरुले विरोध गरेका छन् ।
बिहान ९ बजेदेखि कांग्रेस, राप्रपा, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार समेतले निर्वाचन अधिकृत बेद फुयाल र खटिएका प्रहरी अधिकृतलाई फिर्ता गराउन र दमक नगरका कार्यकारी अधिकृत युवराज दाहाललाई मतगणनास्थलमा जान रोक लगाउन माग गरेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ती निकाली सो मागपत्र गृहमन्त्री, गृहसचिब, प्रमुख निर्वाचन आयुक्त र जिल्ला निर्वाचन कार्यालयलाई पठाएका छन् ।
अहिले मतगणनास्थल दमक नगर पालिका परिसर वरपर बाक्लै सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
एमाले अध्यक्ष केपी ओलीको गृह नगर भएकोले दमकको निर्वाचनलाई विशेष महत्वसाथ हेरिएको छ ।
गोपाल गडतौला, झापा